स्थानीय तहमा महिलाको उच्च सहभागिता 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , २ 16:03:48

31474-20180116160348.jpg

दमक । ग्रामीण तथा शहरी विकास नेपाल दमकले सञ्चालन गरेको परियोजना मार्फत अभिमुखीकरण गरेका महिलाहरुलाई  स्थानीय तहको कार्यपालिका र गाउँपालिका बोर्डमा महिलालाई उच्च सहभागिता गराउन सफल भएको दावी गरेको छ । 

शहरी विकास नेपालले आज झापाको दमकमा आयोजना गरेको पत्रकार भेटघाटमा गत असारमा भएको  नगरपालिका र गाउँपालिकाको निर्वाचनमा ती महिलाहरुलाई वडा सदस्यमा निर्वाचित गराउन र कार्यपालिकामा सदस्यमा मनोनित गर्न सफल भएको जानकारी दिएको हो । 

महिलाहरुलाई विशेष गरी सिमान्तकृत समुदायको स्थानीय तहमा सहभागिता र सबलीकरण परियोजना मार्फत् चुलोचौकामा रहेका सिमान्तकृत, दलित र अन्य समुदायका महिलालाई प्रशिक्षित गरी निर्णायक तहमा पुर्याउन सफल भएको संस्थाको अध्यक्ष बसन्तलक्ष्मी उदासले बताउनु भयो । 

हिजोको दिनमा घरबाट बाहिर आउन नसक्ने महारानीझोडा, खजुरगाछी, गौरीगञ्ज र जुरोपानीका महिलालाई प्रशिक्षण दिएर राजनीतिक सचेतना दिएका कारण स्थानीय तहको निर्वाचनमा ९ जना निर्वाचित भएको अध्यक्ष उदासले बताइन् । राजनीतिक सचेतनाको कार्यक्रम सञ्चालन पछि स्थानियस्तरमा ६ राजनीतिक दलहरुको तर्फबाट २९ जना उम्मेदवार उठाए पनि ९ जनाले मात्र जीत हात पारेको परियोजनाले जनाएको छ ।

झापामा ४० जनाले स्थानीय निर्वाचनमा उम्मेदवार बन्न टिकटका लागि दाबी गरेका थिए । स्थानीय तहमा एक दलित महिलासहित ९ जना सिमान्तकृत र अन्य वर्गको महिला निर्वाचित र कार्यपालिकाल सदस्यमा मनोनित भएको संस्थाका उपाध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए । 

गौरादह नगरपालिकाको वडा सदस्यमा जलवर्षा चौधरी, सविता थापा मगर, सितामाया गुरुङ्ग र पार्वता ताजपुरिया निर्वाचित भएका छन् । यसैगरी गौरीगञ्ज गाउँपालिकाको वडा सदस्यहरुमा हिमा कार्की र लिला गनगाई निर्वाचित भएको संस्थाका कार्यक्रम संयोजक पुण्य संग्रौलाले बताए । 

गौरादह वडानम्बरको ८ को निर्वाचित वडासदस्य तथा कार्यपालिका सदस्य जलवर्षाले ग्रामीण संस्थाले काम गरेपछि मजस्ता धेरै महिलाको चेतना अभिवृद्धि, आय आर्जन गरेर आत्मानिर्भर गराउन सफल भएको प्रतिक्रिया दिए । घरभित्र रहेका महिला अहिले समूहमा आएर आफ्नो समस्या निर्धक्कका साथ राख्न सक्ने भएको चौधरीले बताइन् ।  

संस्थाले जिल्ला भित्रको राज्यको निर्णायक तहमा महिला सहभागी बढाउन प्रशिक्षण, पुनःताजगी तालिम, अधिकार सम्बन्धी अभिमुखीकरण, महिला हिंसा नियन्त्रणबारे बहस पैरवी र सीप विकास सम्बन्धी विभिन्न तालिम गरेको परियोजनाका जिल्ला संयोजक संग्रौलाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस