माघ ७ गते बिर्तामोडमा ‘झापा स्पोर्टस् अवार्ड २०७३’ 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , २८ 17:33:12

31406-20180112173312.jpg

बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च झापाले यही माघ ७ गते बिर्तामोडमा झापा स्पोर्टस् अवार्ड २०७३ आयोजना गर्ने भएको छ । 

पूर्वी नेपालमा नै पहिलो पटक आयोजना गरिएको स्पोर्टस् अवार्डलाई पुरस्कार वितरणमा मात्र सिमित नराखी खेलाडीहरुलाई व्यवसायिक बन्ने प्रेरण दिनु पनि रहेको मञ्चले आज पत्रकार सम्मलेन गरेर जनाएको हो । 

झापा स्पोर्टस् अवार्ड २०७३ बाट विभिन्न विधाका ४ जना खेलाडीसहित एउटा टीमले जनही नगद १५ हजार रुपैयाँ पुरस्कार र ट्रफी पाउने जनाइएको छ । 

अवार्ड पाउनेहरुमा उत्कृष्ट  वर्ष खेलाडी पुरुष र उत्कृष्ट  वर्ष खेलाडी महिला, उत्कृष्ट वर्ष युवा खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक र पिपुल्स च्वाइस (टीम) रहनेछन् । वर्ष २०७३ भर सम्पन्न खेल प्रतियोगिता र तिनमा प्राप्त गरेका उपलब्धीहरुलाई आधार मानेर टीम र खेलाडी छनोट गरिने कोषाध्यक्ष बुद्ध तामाङले जानकारी दिए ।

मञ्चका सचिव पर्वत पोर्तेलको संयोजकत्वमा गठित छनोट समितिले मनोनितमा पर्ने अन्तिम तीन खेलाडीको नामावली यही पुस ३० गते सार्वजनिक गर्ने पनि पत्रकार सम्मलेनमा जानकारी दिइयो । 

उत्कृष्ट तीनमा परेकाहरु मध्ये एक एक जनालाई अवार्ड प्रदान गरिने नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष रमेश समदर्शीले जनाए ।

अवार्ड सम्पन्न गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य पंकज विक्रम नेम्बाङले आफ्ना भाइ स्वर्गीय आशिष विक्रम नेम्वाङको स्मृतिमा हरेक वर्ष चार विधामा नगद पुरस्कार प्रदान गर्ने यस अघि नै सम्झौता गरिसकेका छन् । 

पिपुल्स च्वाइसको पुरस्कार राशि बुटबलर डट कमका पत्रकार सचिन सुब्बाले प्रायोजन गर्ने पत्रकार सम्मलेनमा नै घोषणा गरे । 

एन्फाका केन्द्रीय सदस्य नेम्बाङको प्रमुख आतिथ्यमा भएको पत्रकार सम्मेलनमा एन्फाले लिग प्रतियोगिता नगरिरहेको सन्दर्भमा खेलाडीलाई विदेश पलायन हुनबाट रोक्न यस्ता अवार्डहरु सहयोगी बन्ने विश्वास व्यक्त गरे ।  

प्रतिकृया दिनुहोस