लागुऔषधसहित सात जना पक्राउ


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , २८ 14:16:16

31399-20180112141616.jpg

झापा। झापाको विभिन्न स्थानबाट बिहीबार साँझ लागूऔषधसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध ब्राउन सुगर र खैरो हेरोइनसहित झापा प्रहरीले एकैदिन सात जनालाई पक्राउ गरेको हो ।

झापाको पूर्वी नाका काकँरभिट्टा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–२ का २९ वर्षीय अर्जुन श्रेष्ठ र सोही नगरपालिका– १० का १८ वर्षीय मनिष खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा उनीहरुलाई मेची भन्सार नाकाबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट ब्राउनसुगरसहित डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल, लुपिजेसिक ५० एम्पुल समेत फेला परेको छ ।

त्यसैगरी बिहीबार बेलुका संघीय प्रहरी इकाइ चन्द्रगढी र लागूऔषध नियन्त्रण व्युरो काकँरभिट्टाबाट सादा पोशाकमा खटिएका प्रहरीको टोलीले मेची नगरपालिका– ६ र १० बाट पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका– ६ का २४ वर्षीय अनिष भण्डारी, पाँचथर जिल्ला फिदिम नगरपालिका– १ घर भई हाल बिर्तामोड– ५ बस्ने २८ वर्षीय रोशन न्यौपाने, बिर्तामोड नगरपालिका– ६ का ३० वर्षीय रामेश्वर चौधरी, सोही नगरपालिका– ३ निवासी ४८ वर्षीय प्रेम खड्का तथा मेची नगरपालिका– २ का २९ वर्षीय अर्जुन श्रेष्ठ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ६ ग्राम खैरो हेरोइन र ४ बोतल स्कुफ नामक कफ सिरफ बरामद गरेको छ ।

पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय काकँरभिट्टामा राखेर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

प्रतिकृया दिनुहोस