समुदायको अगुवाइमा स्वच्छ बन्दै भोजपुरका गाउँ


अनलाइन, प्रकाशित मिति : २०७४ ,पौष , २८ 10:40:28

31394-20180112104028.jpg

भोजपुर । शौचालयमै दिसापिसाब गराउने बानीका लागि निकै मेहनत गर्नुपर्ने ग्रामीण भेगका समुदाय अहिले सरसफाइमा निकै संवेदनशील हुन थालेका छन् ।
खुला दिसामुक्त क्षेत्र घोषणापछिको पूर्ण सरसफाइका महत्त्वपूर्ण सूचकहरु पूरा गरेर गाउँलेहरुले आफ्नो टोल, वडालाई धमाधम सफा गर्न थालेका हुन् ।

व्यक्तिगत, घरायसी र वातावरणीय सरसफाइका ७ वटा सूचकहरुमध्ये ५ वटासम्म सूचकहरु पूरा गरिएपछि भोजपुरका दर्जन बढी वडा सरसफाइ उन्मुख वडा घोषित भएका छन् ।

यी वडाका स्थानीयले आफ्नो घरआँगन सफा राख्ने र सरसफाइसम्बन्धी बानी परिवर्तन गर्ने लिखित प्रतिवद्धतासमेत जनाएका छन् । चर्पीको नियमित प्रयोग र साबुन पानीको व्यवस्था, घरघरमा सडेर जाने र नसड्ने फोहोर व्यवस्थापनको लागि छुट्टाछुट्टै खाल्डोहरु बनाउने, गाई–भैंसीको मलमुत्रको उचित व्यवस्थापन, सार्वजनिक स्थलमा स्थानीयस्तरको सामग्री प्रयोग गरेर डस्टविन राख्ने र नियमित बाटो, विद्यालय, पुलपुलेसो सफा गर्नेजस्ता कामले गाउँ सफा हुन थालेको आम्चोक गाउँपालिका वडा नं. ५ पावलाका वडा सचिव दुर्गाबहादर लिम्बु बताउँछन् ।

भोजपुरका साविकका १६ वटा गाउँ विकास समितिहरुमा ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड वोर्ड) सँगको सहकार्यमा ३ वटा सहयोगी संस्थाहरुले पूर्ण सरसफाइका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । सँगसँगै ती ठाउँहरुमा खानेपानीका आयोजनाहरु पनि निर्माण भइरहेका छन् ।

खानेपानी तथा सरसफाइलाई सँगसँगै लैजाँदा ग्रामीण विकासको महत्वपूर्ण पाटो पुरा गर्न मद्दत पुग्ने तथा जनसहभागितामै काम गर्दा अपनत्व समेत बढ्ने फण्ड वोर्डका कार्य प्रबन्धक रोशन श्रेष्ठ बताउँछन् । जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समितिको प्रत्यक्ष निगरानीमा सम्बन्धित वडा र जिल्ला समन्वय समिति समेतको सम्झौता बमोजिम भइरहेको काम अनुसार स्थानीयस्तरमा समुदायलाई सरसफाइप्रति जागरुक बनाउनु रहेको छ ।

आफ्नो घरगाउँको सरसफाइ आफ्नै दायित्व भएको बोध गराउँदै उनीहरुलाई सक्रिय गराउन सरसफाइ स्वयंसेवकहरु देखि लिएर सरसफाइ उत्प्रेरकहरुसम्म खटाइएको स्थानीय सहयोगी संस्थामध्ये एक सोडाका अध्यक्ष नवीन प्रधान बताउँछन् ।

प्रतिकृया दिनुहोस