बर्सेनि पोलिन्छन् चेपाङ बालबालिका


प्रकाशित मिति : २०७४ ,पौष , २८ 07:57:36

31391-20180112075736.jpg

चितवन । चितवनको इच्छाकामना गाउँपालिका १, थाप्राङका श्याम चेपाङले छोरीको नाम खुइलीमाया राखे। आगोले पोलेर कपाल खुइलेका कारण १० वर्षीया ती बालिकालाई गाउँमा सबैले ‘खुइली’ नै भन्छन्।दुई वर्षको हुँदा उनलाई आगोले पोलेको हो। जाडोबाट जोगिन अँगेनाछेउमा सुत्दा खुइली पोलिएकी हुन्। आगोले पोलेपछि कपाल डढेको थियो।

टाउको खुइलो भएका कारण उनको नाम नै खुइली रह्यो। दाहिने हातको औंलाले खासै काम गर्दैन, देब्रे हातको कुमदेखि पाखुरासम्म पोलेको छ। ‘आगोछेउ सुत्दा राति अँगेनामा परी’, श्यामले भने, ‘लुगा ओढ्न नपाउँदा जाडो छल्न अगेनामा सुत्नुपर्छ।’ आगोले पोलेपछि पनि खुइलीले उपचार पाइनन्। श्यामले बाख्राको बड्कौला पिनेर लगाए। थाप्राङकै विष्णु चेपाङले आफ्नो छोराको नाम गौखुट्टे राखेका छन्। आगोले पोलेर खुट्टामा असर गरेपछि गाईको जस्तो खुट्टा भएकाले ‘गौखुट्टे’ नाम राखेको विष्णुले बताए। आफ्नो बुवाको घरमा गफ गरेर बस्दा गौखुट्टे अँगेनामा परेका हुन्। उनको दुवै खुट्टाको पैतला डढेको छ। आगोको छेवैमा भएको छोरा पोलिँदा सँगै रहेकी आमा निदाएकीले थाहा पाइनन्। छोरो चिच्याएपछि विष्णुले तानेर जोगाए। ‘म अलि टाढा भएको भए कोइला बन्थ्यो होला’, उनले भने। एक महिना भरतपुर अस्पतालमा उपचार गराएपछि ठीक भयो तर शरीरका विभिन्न भागमा आगोले पोलेको डाम बाँकी नै छ। जन्मेको केही महिनामै आगोले पोलेपछि उनको पिसाब नै बन्द भएको थियो।

शरीरका विभिन्न भाग पोलिएको छ। ‘खुट्टा राम्रो भए त राम्रै नाम राख्न हुन्थ्यो नि’, विष्णुले भने, ‘यसको भाग्य नै यस्तै रै’छ के भन्नु ? चेपाङ बालबालिका जाडो छल्न अँगेनामा सुत्ने बाध्यताको सिकार बन्ने गरेका छन्। सानुमाया चेपाङको छोरालाई पनि आगोले पाल्यो। आगोले पोलेर दुवै खुट्टाको औंला नै डढेको छ। निदाएको बेला छोरो आगोमा परेको सानुमायाले बताइन्। पोलेको पीडाले कराएको धेरै बेरपछि थाहा पाउँदा खुट्टा जलिसकेको थियो। घर साँघुरो भएकाले अँगेनाछेउमा सुत्दा आगोले पोलेको उनले बताइन्। दुई छोरामध्ये जेठो जीवनलाई आगोले पोलेको हो।

‘अँगेनाछेउमा सुत्दा आगोमा परेको हो’, उनले भनिन्, ‘छोरालाई आगोले पोलेपछि आगोछेउमा सुत्नै छाडेँ।’ चार महिनादेखि पाँच वर्षसम्मका बालबालिका बढी जोखिममा हुन्छन्। जाडोबाट जोगिनकै लागि आगोको वरिपरि सुत्ने गर्छन्। ओढ्ने लुगा नहुँदा आगोछेउमा सुत्नु उनीहरूको बाध्यता हो। जाडोसँगै सिरेटो बढेपछि अँगेनावरिपरि झुम्मिएर सुत्ने गर्छन्। दाउरा प्रशस्त पाइने हँुदा उनीहरूका लागि जाडोबाट बच्ने विकल्प नै आगो हो।‘ओढ्ने-ओछ्याउने लुगा नभएपछि आगोको सहारा लिन बाध्य छन्’, चेपाङ अभियन्ता केपीकिरण शर्माले भने, ‘न्यानो लुगा नहुँदा जोखिम बढेको छ।’

आगोले पोलेपछि पनि उनीहरू उपचारबाट वञ्चित हुने गरेका छन्। गरिबी र अभावका कारण आगोले पोल्ने समस्या चेपाङ समुदायमा बढ्दो छ। चेपाङ गाउँमा कार्यक्रमलक्षित गरेका बाल कल्याण संस्थाका अध्यक्ष राजेन्द्र खनालले आफूहरूले चेतना र आयआर्जनको अभियान चलाएको बताए। आगलागीका कारण अंगभंग भएपछि त्यसले पार्ने समस्याबारे सिकाएको उनले बताए। आगलागीबाट बालबालिका जोखिममा परेपछि सुधारिएको चुलो बनाउन तालिम दिने गरेको उनले बताए। ‘अधिकांश गाउँमा बालबालिका जोखिममा परेको देखियो’, उनले भने, ‘बालबालिका जोगाउन नै हामीले बाबुआमालाई सचेत बनाउन थालेका छौं।’अन्नपूर्ण पोष्टबाट ।

प्रतिकृया दिनुहोस