‘मेरो एक रुपैयाँ’ र ‘सरसफाई’ का सन्दर्भमा एनएमसीमा समीक्षा 


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,पौष , २७ 20:24:50

31383-20180111202450.jpg

बिर्तामोड । सहकारिता भित्र पनि अनेकन उपायहरु खोजेर सदस्यलाई सधैं सक्रिय र जागरुक बनाउँदै आएको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले आज आफ्ना रचनात्मक कामहरुको समीक्षा गरेको छ ।

संस्थाले सुरु गरेको सामाजिक योगदानमा मेरो एक रुपैयाँ र वातावरण सरसफाई अभियान बारे संस्थाका सबै सेवा केन्द्रका सहभागीहरुबीच समीक्षा गरिएको हो ।

संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीको अध्यक्षतामा भएको समीक्षा गोष्ठीमा सञ्चालक समितिका सदस्यहरु, कार्यालयगत समिति, इकाई समिति, विभागीय समितिका सदस्य पदाधिकारीहरुसहित कार्यालय प्रमुखहरुको सहभागिता थियो ।

संस्थाले सामाजिक हीतका लागि २४ वटा इकाईमा सञ्चालन गरेको सामाजिक योगदानमा मेरो एक रुपैयाँ अभियानका सन्दर्भमा २५ जना सहभागीले आफ्ना धारण राखेका संस्थाका प्रबन्धक नबिन भण्डारीले जानकारी दिए ।

सामाजिक योगदानमा मेरो एक रुपैयाँ अभियानको कार्ययोजनाका सम्बन्धमा संस्थाका वरिष्ठ प्रबन्धक सूर्यप्रसाद मैनालीले सहजीकरण गरेका थिए ।

यस्तै, आफ्नो वातावरण आफैं सफा राख्नु पर्ने अवधारणसहित संस्थाले सुरु गरेको एनएमसी सरसफाई अभियानका सम्बन्धमा वरिष्ठ अधिकृत भूपाल गौतमले सहजीकरण गरेका थिए । सो विषयमा २५ जना सहभागीहरुले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमको अध्यक्षता गरिरहेको संस्थाका उपाध्यक्ष उप्रेतीले समीक्षा बैठकमा सहभागीहरुबाट आएको उत्साहजनक प्रतिक्रिया पछि दुवै अभियानले सार्थकता पाउने अपेक्षा सुनाए । उनले यसै आर्थिक वर्ष भित्रै झापा जिल्लाभर प्रभावकारी रुपमा विस्तार गरी सकारात्मक परिणाम निकाल्न सबै सदस्यहरु लाग्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस