महोत्सबमा मनोरञ्जन पाइने वक्ताहरुको विश्वास


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,पौष , २७ 19:50:01

31382-20180111195001.jpg

दमक । प्रदेश नम्वर १ स्तरीय प्रादेशिक महोत्सव झापाको दमकमा आजबाट शुरु भएको छ । दमक उद्योग वाणिज्य संंघले आयोजना गरेको दमक महोत्सव दमक ७ स्थित सयपत्री टोलको रतुवा खोला किनारमा शुरु भएको हो ।

नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तथा प्रदेश सभाका सांसद अर्जुन राईले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटन पछि बोल्दै प्रमुख अतिथि राईले स्थानीय क्षेत्रको उत्पादनको प्रवद्र्धन र आन्तरिक साथै बाहिरी  पर्यटक आगमनलाई आकर्षण गर्न यस्ता महोत्सव आवश्यक भएको बताए ।

दमकको चिनारी र स्थानीयलाई रोजगारी प्रदान गर्न महोत्सव फलदायी हुने बताउँदै त्यसको ब्यवस्थापनका लागि आफूले पनि सहयोग गर्ने राईले प्रतिवद्धता ब्यक्त गरे । 

संघका अध्यक्ष राजेन्द्र ढकालको अध्यक्षतामा भएको कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले मानिसका लागि गाँस, बास र कपास जतिकै मनोरञ्जन आवश्यक भएकोले महोत्सवबाट सबैलाई धेरै फाइदा पुग्ने अपेक्षा सुनाए । 

नेपाल भारत मैत्री संघका केन्द्रीय सदस्य गणेश बस्नेतले महोत्सव तथा विभिन्न समयमा हुने औद्योगिक प्रदर्शनीका लागि दमकमा जग्गा नभएकोले त्यसको  जग्गा ब्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने सुझाब दिए । 

उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य प्रकाश प्रसाईं, महोत्सव मूल आयोजक समितिका संयोजक राजन दंगाललगायतले महोत्सव मानिसको मनोरञ्जनका लागि महत्वपूर्ण विषय भएको त्यसको प्रयोग गर्नु पर्नेमा जोड दिएका छन् । 

प्रतिकृया दिनुहोस