जिल्ला बचत संघको साधारणसभा सम्पन्न


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , २७ 17:37:38

31380-20180111173738.jpg

सुरुङ्गा । जिल्ला बचत तथा ऋण सहकारी संघ झापाको छैटौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन)का केन्द्रीय कोषाध्यक्ष केशवप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाको उद्घटन सत्रमा बोल्ने सबैजसो वक्ताहरुले स्थानीय तहले बनाउने सहकारी ऐनमा एकरुपमा दिएर सहकारी अभियानलाई थप समृद्ध बनाउनु पर्ने आवश्यकता औंल्याएका छन् । 
 
‘सहकारी संस्था पिच्छेका नीतिहरु छन्, तिनीहरुमा विविधता भएका कारण अब स्थानीय तहका लागि बन्ने ऐनमा पनि यस्तै हुनसक्ने भएकाले कम्तीमा एक नम्बर प्रदेशभरका सहकारीमा एउटै नीति बनाउन सबैको सकारात्मक पहल हुन आवश्यक छ’ नेफ्स्कुन केन्द्रीय कोषाध्यक्ष पोखरेलले सुझाएका छन् ।

राष्ट्रिय सहकारी बैंक, लेखा सुपरीवेक्षण समितिका सदस्य लक्ष्मीप्रसाद उप्रेतीले झापाका १५ वटै स्थानीय तहसँग समन्वय गरेर जिल्ला संघ र जिल्ला बचत संघले स्थानीय सहकारी ऐनमा रुकरुपता दिन पहल गर्नुपर्ने बताए ।

यसैगरी अर्का वक्ता जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले निजी, सहकारी र सरकारी तीनवटा आर्थिक खम्बा ठडिएकाले अब तिनीहरुलाई एकापसमा समन्वय गराउन र दह्रो संरचना बनाउन गहकिला बिमहरुले जोड्नुपर्ने आवश्यकता औंल्याए ।
 
सो अवसरमा डिभिजन सहकारी कार्यालय भद्रपुरका सहकारी निरीक्षक डिल्ली दाहालले जिल्लामा गठन भएका विषयगत संघहरु अधिकांश निस्क्रिय रहेकाले तिनीहरुलाई सक्रिय बनाउनु पर्यो कि त खारेज गर्न सुझाब दिए । 

जिल्ला बचत संघका अध्यक्ष घनश्याम अधिकारीले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, जिल्ला कृषि सहकारी संघका सचिव रामप्रसाद ओलीले आफ्ना धारणा राखेका थिए ।
 
साधारणसभामा आमन्त्रित अतिथि एवम् सहभागी शेयर सदस्यहरुलाई संघका उपाध्यक्ष तुलाराम न्यौपानेले शाब्दिक स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव लीलाप्रसाद भण्डारीले गरेका थिए । 

प्रतिकृया दिनुहोस