मेचीनगरको नगरसभा : विकासका अघिल्तिर राजनीतिक आस्था गौण हुनुपर्ने वक्ताको सुझाव


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,पौष , २६ 20:17:12

31359-20180110201712.jpg

काँकरभिट्टा । मेचीनगर नगरपालिकाको प्रथम नगरसभा आज सुरु भएको छ । आर्थिक वर्ष २०७४/०७५ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सभा भोली सम्पन्न हुनेछ । 

काँकरभिट्टा खानेपानीको सभाहलमा सुरु भएको नगरसभाको उद्घाटन समारोहमा झापा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्र कार्कीले कृषि, स्वास्थ्य र शिक्षाको क्षेत्रलाई नगरसभाले विशेष ध्यान दिनुपर्ने बताए । 

पूर्व सूचना तथा सञ्चार मन्त्रीसमेत रहेका सांसद कार्कीले कोही पनि नागरिक सूचनाको हकबाट वञ्चित नहुने गरी सूचनाको हकको प्रत्याभूत गरिनुपर्ने बताए । कार्यक्रममा मन्तव्य राख्दै प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले चुरे दोहनलाई रोक्न नगरपालिकाले विशेष योजना ल्याउनु पर्ने सुझाव दिए । 

प्रदेशसभाका अर्का सदस्य श्रीप्रसाद मैनालीले नगरपालिकाले गर्ने कार्यको मूल्याङ्कन अबको ५ वर्ष पछिको चुनावमा जनताले गर्ने बताउँदै विकास निर्माणका कुरामा राजनीति गर्न नहुने सुझाए । 

मेचीनगर नगरपालिकामा गाभिएका साविक गाविसहरुको विकासमा विशेष ध्यान दिँदै समानुपातिक ढङ्गले विकास निर्माणका योजना अगाडि सार्न कार्यक्रमका वक्ताहरुले सभालाई सुझाव दिएका छन् । 

स्थानीय तह निर्वाचन समापन भएको ७ महिना पश्चात् सुरु भएको मेचीनगर नगरपालिकाको पहिलो नगरसभा उद्घाटन सत्रमा बोल्ने अधिकांश वक्ताहरुले स्थानीय तह सञ्चालनका लागि आवश्यक नीति तथा कानून निर्माण कार्य चाँडो गर्नुपर्नेमा जोड दिएका छन् ।

नगरपालिकाका प्रमुख विमल आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, नेकपा एमालेका प्रदेश कमिटी सदस्य विष्णुप्रसाद प्रसाईंलगायतले मन्तव्य राखेका थिए । 

उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख आचार्यले नगरपालिकाको आन्तरिक व्यवस्थापनका साथै बीचमा आएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले गर्दा नगरसभा बस्न ढिलो भएको प्रष्ट्याएका छन् । 

‘हामीले आजबाट सुरुवात गरेका छौँ, पहिलो सभाबाट धेरै प्रस्तावहरु पास गरेर लैजान्छौँ विकास निर्माणमा केन्द्रित हुन्छौँ,’ उनले भने ‘पाँच वर्षको बीचमा सडक, विजुली, ढल, गरिवी निवारणलगायतको क्षेत्रमा महत्वपूर्ण कार्य गर्नेछौँ ।’ 

नगरप्रमुख आचार्यले नगरमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतको क्षेत्रमा नगरको ध्यान जाने बताए । नगरमा नागरिकको प्रोफाइल तयार गर्ने, नगरपालिकाका सबै वडाको समानुपातिक विकास गर्ने उनले बताए । 

नगरपालिकाका उपप्रमुख मिना उप्रेतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सुवेदीले गरेका थिए । 
 

प्रतिकृया दिनुहोस