एनएमसी कृषि परियोजनाका लागि जमिन खरिद प्रक्रिया सुरु 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , २४ 17:59:17

चारआली । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को आगामी फागुन २४ गतेदेखि सुरु हुने रजत वर्षमा सञ्चालन गर्ने कार्यक्रम लागि संयोजन गर्न गठित ५१ सदस्यीय मूल समारोह समितिको आज बसेको बैठकले १३ सदस्यीय सचिवालय गठन गरेको छ । 

चारआलीस्थित त्रिदेव क्याम्पसमा आज सोमबार भएको बैठकले संस्था स्थापना भएको २५औं वर्षभर सहकारितालाई प्रवद्र्धन गर्ने विविध रचनात्मक कार्यक्रमहरु गरेर मनाउन सचिवालय गठन गरेको हो । 

संस्था २५ वर्षको हुनु भनेको एउटा उत्सव पनि भएकोले संस्थाको भविष्य निर्माणका लागि उत्साह थप्ने योजनाहरु सहित रजत महोत्सव मनाउने विषयमा छलफल भएको संस्थाका वरिष्ठ प्रबन्धक सूर्य मैनालीले जानकारी दिए । 

आजको बैठकले संस्थाको दोस्रो ‘ड्रिम प्रोजेक्ट’ नमूना कृषि फर्म सञ्चालनका लागि प्रस्तावित जमिनको स्थलगत अवलोकन भ्रमण गरी राय सुझाव पनि लिएको छ । 

एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीको अध्यक्षतामा सम्पन्न विस्तारित बैठकमा प्रस्तावित जमिनको मूल्य, परियोजनाका लागि उपयुक्तता तथा सकारात्मक नकारात्मक पक्षहरुबारे खुलेर छलफल गरिएको थियो ।

एनएमसीले डेरी पछि नमूना कृषि परियोजना सञ्चालन गर्न मेचीनगर १३ मा साढे १२ बिघा जमिनका लागि बिक्रेताले दिएको कोटेशनका आधारमा अवलोकन भ्रमण गरी आज बिस्तारित बैठकमा छलफल चलाएको हो ।
 

प्रतिकृया दिनुहोस