मातृ भाग्यरेखा सहकारीमा पुनः दाहाल र दवाडी


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , २४ 17:50:14

31331-20180108175014.jpg

झापाको बिर्तामोडमा अवस्थित मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्थाको आज सम्पन्न छैटौं वार्षिक साधारणसभा आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न भएको छ ।

सम्पन्न साधारणसभाले साविक अध्यक्ष खड्गप्रसाद दाहालको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति तथा साविक संयोजक टंकप्रसाद दवाडीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन गरेको हो । 

सञ्चालक समितिमा उपाध्यक्ष बद्रीप्रसाद प्रसाईं, सचिव गणेश शिवाकोटी र कोषाध्यक्षमा सोमनाथ निरौल ाचयन भएका छन् । यस्तै सञ्चालक समितिका सदस्यहरुमा गोमादेवी सिटौला, ध्रुब भट्टराई, यादबचन्द्र दाहाल, लक्ष्मी ओडारी, नवराज सिटौला, गोमादेवी पाठक र रमा खनाल चुनिएका छन् । 

संस्थाको लेखा समिति सदस्यहरुमा मायादेवी प्रधान र रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिइएको छ । 

झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा आयोजित साधारणसभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा चालू आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रमहरु पारित गरेको छ । संस्थामा गत आर्थिक वर्षमा ५ करोड ७२ लाख १६ हजार रुपैयाँ हाराहारीको वासलात रहेको थियो ।

बचत तथा ऋणको कारोबार गर्ने मुख्य उद्देश्य रहेको सहकारी संस्थाले गत आर्थिक वर्ष २०७३÷७४ सम्ममा एक करोड ४० लाख ४८ हजार शेयर पूँजी बनाएको सो अवसरमा जानकारी दिइयो । 

संस्थाले गत आर्थिक वर्षमा ११ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरेको तथा ११ करोड ५६ लाख निक्षेप फिर्ता गरेको अध्यक्ष दाहालद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । समीक्षा अवधिमा संस्थाले तीन करोड ९० लाख रुपैयाँ हाराहारी कर्जा लगानी गरिएको उल्लेख छ ।

साधारणसभाको अवसरमा असल ऋणीहरु ललित कट्टेल र अस्मिता रिजाल तथा असल बचतकर्ताहरु मुनादेवी भट्टराई र उमेशकुमार अग्रवाललाई जनही ११ सय रुपैयाँसहित सम्मान गरिएको छ ।

यसैगरी संस्थाका सल्लाहकार सदस्य यमुना आचार्य बिर्तामोड नगरपालिकामा महिला वडा सदस्य निर्वाचित भएकाले विशेष सम्मान गरिएको छ भने उत्कृष्ट कर्मचारीका रुपमा जमुनादेवी निरौला पाण्डेलाई नगद १५ सय रुपैयाँसहित पुरस्कृत गरिएको छ । 

साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथि ढकालले झापामा सहकारी अभियानले थेगेको अर्थतन्त्रको बारेमा प्रकाश पार्दै संस्थाका हरेक सदस्यहरुले आफ्नो सम्पूर्ण आर्थिक कारोबार आफ्नै सहकारीबाट गरेमामात्र संस्था दिगो हुने सुझाब दिएका छन् । 

उद्घाटन समारोहमा संस्थाका सल्लाहकार प्रेम दाहालले सहकारी संस्थाको लोकप्रियताले सर्वसाधारणले साहु महाजनको चर्को ब्याज शोषणबाट मुक्त बन्दै गएको बताए । 

संस्थाका सचिव दिनेश सिटौलाले साधारणसभा उद्घाटन समारोहको कार्यक्रम सञ्चालन गरेका थिए । 

प्रतिकृया दिनुहोस