स्थानीय तहसँग समन्वय गर्ने 'माकुरा'को चाहाना


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,पौष , २३ 21:02:26

31321-20180107210226.jpg

बिर्तामोड । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, (माकुरा) नेपालको आयोजनामा आइतबार यहाँ जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम भएको छ । 

स्थानीय तहका निर्वाचित झापाका १५ वटै तहका जनप्रतिनिधिहरु उपस्थिति रहेको कार्यक्रममा स्थानीयस्तरमा रहेका द्वन्द्वलाई न्यूनीकरणका लागि सहकार्य गरेर अघि बढ्ने उद्देश्यले माकुराले कार्यक्रमको आयोजना गरेको हो ।

जिल्ला समन्वय समितिकी उपाध्यक्ष मिना पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा माकुरा नेपालका कार्यकारी निर्देशक चुपबहादुर थापाले देशभर संस्थाले गरेका गतिविधिका बारेमा जानकारी गराएका थिए । 

उनले २०७० सालमा स्थापना भएको संस्थाले हाल १९ वटा जिल्लामा क्रियाशील रहेर जल, जमिन र जंगलसँग सम्बन्धी द्वन्द्व न्यूनीकरणका लागि काम गरिरहेको बताए ।

निर्देशक थापाले हालसम्म संस्थाले ४ हजार ३ सय बढी विवाद मिलाएको बताउँदै माकुराले मेलमिलाप परिषद्बाट स्वीकृति समेत पाइसकेको जानकारी दिए ।

उनले स्पष्ट नीति र कार्यक्रम बनाएर अघि बढे अबको १० बर्षभित्रमा दातृ निकायको सहयोग बन्द गरी स्थानीय तहबाट द्वन्द्व रुपान्तरणका क्षेत्रमा काम गर्न सकिने बताए ।

माकुराकी राष्ट्रिय स्रोत व्यक्ति संगीता थापाले झापामा संस्थाले गरेका गतिविधिका बारेमा जानकारी गराएकी थिइन् ।
 
उनले हालसम्ममा झापामा १५० वटा माकुरा समिति नै गठन गरेर जल, जमिन र जंगलसँग सम्बन्धी द्वन्द्वको पहिचान गरी काम गरिररहेको बताइन् । 

उनले झापामा जनप्रतिनिधिहरु निर्वाचित भएपछि पहिलोपटक कार्यक्रमको आयोजना गरी समस्यालाई स्थानीय क्षेत्रसँगै सहकार्य गरेर अघि बढ्ने संस्थाको योजना गरेको बताइन् । 

कार्यक्रममा गौरादह नगरपालिका प्रमुख रोहितकुमार साह, कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले, बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश भूजेल, विर्तामोड नगरपालिकाका प्रमुख ध्रुव शिवाकोटी, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराज श्रेष्ठलगायतले बोलेका थिए । 

उनीहरुले प्रत्येक नगर तथा गाउँपालिकामा द्वन्द्व रुपान्तरणका बारेमा सहजीकरण गर्नका लागि तालिमको व्यवस्था गरिदिन संस्थासँग आग्रह गरेका थिए । 

स्रोत व्यक्ति संगीता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको औचित्य माथि संस्थाका पूर्वाञ्चल समन्वयकर्ता हेम डिसीले प्रकाश पारेका थिए भने सञ्चालन छत्रमणि पौडेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस