इटाभट्टामा माघ ५–७ मा कृषि तथा पर्यटन महोत्सव हुँदै


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , २३ 17:23:43

31317-20180107172343.jpg

इटाभट्टा । मेची कृषक बहुमुखी सहकारी संस्थाको आयोजनामा मेचीनगर नगरपालिका ७ इटाभट्टामा क्षेत्रीयस्तरको कृषि तथा पर्यटन महोत्सव २०७४ हुने भएको छ । 

आइतबार संस्थाको कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव माघ ५ गतेदेखि ७ गतेसम्म हुने जानकारी दिइएको हो । 

परम्परागत कृषि प्रणालीलाई छाडेर आधुनिक कृषि प्रणालीलाई अपानाउन र कृषिलाई व्यवसायिकीरण गर्न सघाउ पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको संस्थाका उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले जानकारी दिए । 

आयोजकका अनुसार महोत्सवमा ३० वटा स्टल रहने छन् । स्टलमा कृषि उपज, कृषि औजार, माटो परीक्षण, अग्र्यानिक मल आदिको प्रदर्शनी गरिने छ । 

‘‘कृषिलाई व्यवसायिकीरण गरेर जीवन निर्वाहमुखी बनाउनु नै महोत्सवको उद्देश्य हो’’ उपाध्यक्ष सापकोटाले भने, ‘‘महोत्सवमा अग्र्यानिक कृषि प्रणाली र माटो परीक्षणलाई विशेष प्राथामिकता दिइनेछ ।’’

नेपाल सरकार कृषि विकास मन्त्रालय कृषि विभाग, कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकास निर्देशनालय कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम हरिहरभवन ललितपुरको सहयोग रहने महोत्सवमा जिल्ला कृषि विकास कार्यालय झापाको प्राविधिक सहयोग रहने संस्थाका सचिव हरि बुढाथोकीले जानकारी दिए । 

‘‘अझै पनि झापाको खेती प्रणाली परम्परागत शैलीमा गरिन्छ, यसलाई जीवन निर्वाहमुखी बनाउन सकिएको छैन’’ सचिव बुढाथोकीले भने ‘‘कसरी लागत कम गरेर उत्पादनमा वृद्धि गर्न सकिन्छ र विषादी न्यूनीकरण गर्दै अग्र्यानिक खेती प्रणालीलाई प्रोत्साहान गर्न महोत्सवले सहयोग पुग्ने हाम्रो अपेक्षा छ ।’’

महोत्सवमा संस्थामा आवद्ध २०० भन्दा बढी कृषक तथा समूहले उत्पादन गरेको कृषि उपजलाई विशेष प्राथामिकता दिइने जनाइएको छ । महोत्सव सम्पन्न गर्नका लागि सचिव हरि बुढाथोकीको नेतृत्वमा पाँच सदस्यीय महोत्सव सञ्चालन समिति निर्माण गरिएको छ ।

यस्तै महोत्सवमा सांस्कृतिक कार्यक्रम र विभिन्न जातजातिको पहिचान झल्किने कार्यक्रमहरु राखिएको आयोजकले जानकारी दिएको छ । महोत्सवमा मेची नेत्रालय काँकरभिट्टाको सहयोगमा निःशुल्क आँखा शिविर तथा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमसमेत राखिएको छ । 

महोत्सवलाई २० हजार मानिसले अवलोकन गर्ने आयोजकले लक्ष्य लिएको छ । ‘‘हरेक क्षेत्रबाट किसान उपयोगी कार्यक्रम महोत्सवमा हुनेछन्’’ उपाध्यक्ष सापकोटाले भने ‘‘एक पटक सबैलाई यो महोत्सवको अवलोकन गर्न आवहान गर्दछौँ ।’’ 

महोत्सव सम्पन्न गर्न पाँच लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस