दमक महोत्सवको तयारी तीब्र 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , २२ 14:39:15

31293-20180106143915.jpg

दमक । झापाको दमकमा यही पुसको अन्तिम सातादेखि शुरु हुन लागेको प्रादेशिक स्तरको दमक महोत्सवको उद्घाटन गर्न माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) दमक आउने भएका छन् । 

दमकको पहिचान र गौरवको रुपमा हुन लागेको दमक महोत्सवको उद्घाटन गर्न पुस २७ गते प्रचण्ड दमक आउने भएका हुन् । त्यस्तै उद्घाटनमा उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणा लगायतका उद्योगी, व्यवसायीहरुको सहभागी हुनेछन् । 

प्रचण्डले यसअघि २०६५ सालमा दमक उद्योग वाणिज्य संघले आयोजना गरेको तेस्रो दमक महोत्सवको समेत उद्घाटन गरेका थिए । 

विगतका महोत्सवहरु भन्दा प्रस्तावित महोत्सव भव्यरुपमा सम्पन्न गर्न संघले आवश्यक तयारी तीव्र बनाएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक राजन दंगालका अनुसार उद्घाटन कार्यक्रमलाई विशेष आकर्षण गराउन हेलिकप्टरबाट पुष्प वृष्टिको पनि तयारी गरिएको छ ।

महोत्सवको आकर्षणको रुपमा सर्वसाधरणहरुका लागि शुल्क बुझाएर हेलिकप्टर शयरको व्यवस्था समेत मिलाइएको संयोजक दंगालले जानकारी दिए । त्यस्तै महोत्सवको आकर्षणको रुपमा हेलिकप्टरसँगै उँट, हात्ती र घोडा सयरको पनि व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

दमक– ७ स्थित सयपत्री टोलको रतुवा खोला किनारमा माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवको स्टल बनाउनेदेखि महोत्सव स्थलको ब्यवस्थापनका कामहरु धमाधम भइरहेको दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले बताए । महोत्सवमा करिब २०० व्यवसायिक स्टलहरु रहने छन् । 

महोत्सवमा संकलित रकमबाट ब्यवसायिक हित कोष बृद्धि र इलम प्रशिक्षण केन्द्र व्यवस्थापन गर्न सहयोग पुग्ने अध्यक्ष ढकालले जानकारी दिए । 

प्रतिकृया दिनुहोस