‘सामुदायिक वनलाई राजनीति गर्ने थलो बनाउनु हुँदैन’ 


प्रकाशित मिति : २०७४ ,पौष , २१ 17:05:25

सूर्यकुमार थापाः अध्यक्षका उम्मेदवार

31276-20180105170525.jpg

तपाईं प्रजापति सामुदायिक वन समूहको अध्यक्ष भई एक कार्यकाल पूरा गरेको व्यक्ति, फेरि किन दोहोर्याउन खोज्नु भएको ? तपाईंको उम्मेदवारी के का लागि ?

हिजो हाम्रो समितिले गरेका सफल कार्यहरुको कारणले आम उपभोक्ताको अपेक्षा र चाहना अनुरुप नै मेरो उम्मेदवारी हो । एक कार्यकाल काम गरेँ, केही बुझ्ने मौंका पाउँ । सामुदायिक वनमा जिम्मेवारी लिएर उपभोक्ताका पक्षमा सामाजिक र रचनात्मक काम गर्न सकिने रहेछ भन्ने बुझेपछि जिम्मेवारीलाई पुनः निरन्तरता दिन चाहेको हो । 

तपाईंको कार्यकालमा के त्यस्ता योजनाहरु पूरा गर्नु भयो र फेरि तपाईंलाई नै नेतृत्वमा लैजान उपभोक्ता इच्छुक बनेका हुन् ?  

२०५२ सालबाट स्थापना भएको हाम्रो सामुदायिक वनको अवस्था यति कमजोर बनेको थियो कि तयार गरिएका कुनै कार्ययोजना पनि कार्यान्वयन गरिएको थिएन । प्राकृतिक वन भएकाले यसको रक्षा गर्न, पर्यावरणलाई सुन्दर राख्न र सामुदायिक वनबाट यसका उपभोक्ताले लाभ लिनुपर्छ भन्ने विषयमा पूर्ववर्ती कार्यसमिति सचेत थिएन । हाम्रो समिति आउनु पूर्व तीन वर्ष अगाडि सामुदायिक वन अस्तित्व बिहीन अवस्थामा पुगेको थियो । आज हामीले उपभोक्तामैत्री सकारात्मक कार्ययोजना बनाएर कार्यान्वयमा लगेपछि झापाको एक नम्बर सामुदायिक वन बनाएका छौं ।

हाम्रो समूहको प्रमुख उद्देश्य भनेको वन समूहका उपभोक्ताहरुको आवश्यकतालाई सम्बोधन गर्दै वनको संरक्षण र सम्वद्र्धन गर्ने हो । विपन्न वर्गका स्थानीयहरु जीवनस्तर माथि उठाउन, महिला सशक्तिकरण गर्ने, पर्यापर्यटनको व्यवस्था मिलाउने नै हो । हाम्रो वन क्षेत्रभित्र पर्ने सीमसार तथा पर्यटकीय स्थलको स्तरोन्नति गर्दै आयाआर्जनको बाटो बनाउने पनि लक्ष्य लिएका छौं । सोही प्रयोजनका लागि हामीले गैंडे आहाललाई सीमसारको रुपमा विकास गर्न अग्रसरता देखाएका छौं । यिनै सकारात्मक पहलका लागि उपभोक्ताले मेरो साथ दिइरहनु भएको छ र अब पनि दिनु हुनेछ भन्ने मेरो अपेक्षा हो । 

तपाईंले अध्यक्ष पदमा पुनः उम्मेदवारी दिइरहँदा आफ्नो अवस्थालाई कसरी मूल्याङ्कन गर्नु भएको छ ? 

अहिले उपभोक्ताको घरदैलोमा पुग्ने अभियानमा छौं । जहाँ जहाँ पुगिसकेका छौं, त्यहाँबाट राम्रो रेस्पोन्स पाएका छौं । विगत तीन वर्षको कामको मूल्याङ्कन गर्दै धन्यवाद दिनु भएको छ । व्यक्तिगतरुपमा नकारात्मक प्रश्न र टिकाटिप्पणीको अहिलेसम्म सामना गर्नु परेको छैन । धन्यवाद दिइरहनु भएको छ र आफूहरुले यो कार्यकालको लागि पनि साथ दिने भनी विश्वास दिलाउनु भएको छ । सफल अध्यक्षका रुपमा परिचय बनाएको भन्दै उहाँहरुले मलाई बधाई दिइरहनु भएको छ । यस मानेमा मेरो विजयी बन्ने अवस्था सुदृढ बनेको छ ।

तपाईं कसको उम्मेदवार ? पार्टीको कि उपभोक्ताको ? 

म विशुद्द स्थानीय जनता र प्रजापति सामुदायिक वनका आम उपभोक्ताको उम्मेदवार हो । हिजो पनि म स्थानीय युवाको चाहनालाई सम्बोधन गर्दै उम्मेदवारी दिएर विजयी बनेको हुँ । वन समूहले स्थानीयको हितका लागि काम गर्ने भएकाले उपभोक्ताले चाहेको उम्मेदवार हो म । यस्तो सामाजिक कामलाई राजनीतिकरण गरिनु हुन्न भन्ने मेरो भनाई हो । यतिबेला म राजनीतिक दलको प्रतिनिधि उम्मेदवारभन्दा पनि आम उपभोक्ताको उम्मेदवार हो ।

तपाईसँग प्रतिस्पर्धामा हुने उम्मेदवार त राजनीतिक दलले उठाएको व्यक्ति हुनुहुन्छ । तपाईं एक्लै चुनाबमा होमिनु भएको छ । प्रतिस्पर्धीलाई कसरी मूल्याङ्कन गर्नु भएको छ ? 

साथीहरुले संयुक्त गठबन्धनको नाम दिनु भएको छ । जनताको चाहाना चाहिँ त्यो छैन । र, जनताको काम गर्न गठबन्धनको आवश्यकता पनि छैन । मन जितेर काम गरे जनता आफैं एक ढिक्का हुन्छन् । कसैले कुनै पार्टीले निर्देशन दिनु पर्दैन । सामुदायिक वन सामाजिक काम गर्ने थलो हो, उपभोक्तालाई सहयोग गर्ने संस्था हो, त्यसलाई राजनीतिको थलो बनाउनु हुँदैन ।
 
अब पुनः निर्वाचित बनेर गर्ने कामको सूची त पक्कै बनाउनु भएको होला ! के कस्ता नयाँ कामको योजना बनाउनु भएको छ ? 

सामुदायिक वनको पहिलो उद्देश्य भनेको वनको संरक्षण र उपभोग हो । समूहले आफ्ना विपन्न उपभोक्ताहरुको उत्थानमा पनि काम गर्नु पर्छ । मैले माथि नै पनि भनेको छु, महिला सशक्तिकरण तथा विभिन्न जाति र जनजातिका उपभोक्ताहरुको उत्थानका लागि विगतबाट नै काम भइरहेका छन्, तिनलाई निरन्तरता दिनेछु । सबै उपभोक्ताको सम्मान गर्नु र पर्यावरण जोगाउनु मेरो दायित्व भित्र पर्ने पहिलो काम हो । पर्यापर्यटनको क्षेत्रमा हामी पछि परेका छौं । छिमेकी सामुदायिक वनले यसमा पाइला चालेकाले अत्यन्तै सफलतापूर्वक नाम र दाम कमाएको छ । हाम्रो वनमा पनि यस्ता प्राकृतिक सीमसार छन् र यसको प्रयोगबाट आगामी तीन वर्ष भित्रै समूहको प्रमुख आम्दानीको स्रोत निर्माण गर्नेछ । 

तपाईंले तयार पार्नु भएका योजना कार्यान्वयनका लागि भौगोलिक अवस्थितिले साथ दिन्छ ?  

गैँडे आहाल हामीले पोहोरदेखि नै खन्न शुरु गरेका छौँ । प्राकृतिकरुपमै रहेको पोखरीलाई पुनःनिर्माण गर्न शुरु गरेका हौं । दुई नम्बर ब्लकमा रहेको सुन्तले होलीमा पनि सीमसार नै छ । त्यसलाई पनि व्यवस्थापन गर्ने योजनामा छौं । फारलाइन चौरीलाई व्यवस्थित गर्दै चिल्डे«न पार्कको रुपमा विकसित गर्ने योजना छ । सोही नजिकै इलाका वन कार्यालय पनि बस्दैछ । वन कार्यालयसँग समन्वय गरी नर्सरीको थालनी गर्नेलगायतका गुरुयोजना तयार पारेका छौँ । आगामी तीन वर्ष भित्रमा सबै कामहरु सम्पन्न गर्ने गरी स्थानीय सरकार, जिल्ला कार्यालयहरुसँग पनि समन्वय गर्नेछौँ । 

सामुदायिक वनको आम्दानी के हो ? पुराना रुखहरु काटेर बेच्ने मात्र हो कि अरु पनि केही हुन्छ ?
    
झट्ट देख्दा र सुन्दा सामुदायिक वनको मुख्य आम्दानीको श्रोत भनेकै पुराना रुखहरु काट्ने, काठ दाउरा बनाउने र बच्ने नै हो । तर वनको आम्दानी यतिमा मात्र सिमित हुँदैन । हामीहरु पर्यापर्यटनलाई ध्यानमा राख्दै दीर्घकालीन आम्दानीका श्रोतहरु पहिल्याउने कोसिसमा छौँ । 

रुख काट्ने र बेच्न चाहिँ वन समिति अग्रसर हुन्छ तर बिरुवा रोप्ने कुरा कहिले गरेको सुनिन्न । किन होला ? 

प्रजापति वन प्राकृतिक वन हो, हामीसँग नाङ्गा डाँडा छैनन् । जंगलमा आफै बिरुवाहरु उम्रिने भएकाले हामीले रोपिरहनु पर्दैन । जति उम्रिएका छन्, तिनीहरु संरक्षण मात्र गर्न सके पनि बन मासिँदैन । भू–क्षय भएको ठाउँमा बिरुवा लगाउने, बाँस रोपेर संरक्षण गर्ने गरेका छौँ । केही खाली स्थानमा वृक्षारोपण गरेका छौं । तपाईंले समूहको काम रुख काटेर बेच्ने गरेकोमात्र सुन्नु भएको रहेछ तर प्रजापति वनमा चाहिँ एउटा रुख काटियो भने ३ वटा विरुवा रोप्ने बानी बसाएका छौं । 

तपाईले नेतृत्व गर्नुभएको सामुदायिक वनको प्रमुख चुनौतीहरु के के हुन् ? 

हाम्रोमात्र होइन, सबै सामुदायिक वनको मुख्य चुनौती भनेको वन उपभोग नीति नियमको अपर्याप्तता र भएका नीतिहरुको पनि कार्यान्वयनमा विभिन्न बाधा व्यवधान हुन् । यस्तै खोलानालाको कटान र प्राकृतिक भू–क्षय, अनि अझ जटिल र अप्रत्यक्ष चुनौती भनेको चोरी तस्करी हो । यी सबैको सामना गर्न सरकारी गैर सरकारी निकाय एवम् स्थानीय तहसँग समन्वयको खाँचो छ । समस्याको दीर्घकालीन समाधानका लागि नगरपालिकासँग साझेदारी गरी विभिन्न कार्यक्रम गर्ने योजना बनाएका छौं । 

निर्वाचनको संघारमा हुनुहुन्छ । सम्पूर्ण उपभोक्ताको बीचमा जाने समयमा हामीसँग कुरा गर्ने अवसर दिनु भएकोमा यहाँलाई धन्यावाद भन्न चाहान्छौं । अन्त्यमा, आम उपभोक्ता र मतदाताहरुलाई केही भन्नु छ ? 

प्रजापति सामुदायिक वन उपभोक्ता समूह कनकाई नगरपालिका १ को यही पौष २७ गते हुने निर्वाचनमा चुनाव चिन्ह हातमा मतदान गरी मलाई विजयी गराइदिनु हुन अनुरोध गर्दछु । तपाईंको १–१ भोटको सम्मान र सदुपयोग गर्दै पर्यापर्यटनको विकासमा ध्यान दिने र संस्थाको दिगो आर्थिक विकासमा पहल गर्नेछु । तपाईंको अभिमतको कुनै पनि हालतमा खेर जान दिने छैन भन्ने प्रतिवद्धता पनि गर्दछु ।

प्रतिकृया दिनुहोस