चुनावी परिणाम र जन अपेक्षा


देवेन्द्र दाहाल, प्रकाशित मिति : २०७४ ,पौष , २१ 11:02:08

31266-20180105110208.jpg

नयाँ संबिधानको ऐतिहासिक कार्यान्वयन अन्तगर्त प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ । झुटको राजनीतिबाट जनतालाई भ्रममा पार्दै आएको र सत्ताको बागडोर सम्हाल्दै आएको कांग्रेस दोश्रो पार्टीमा झरेको छ । नेपाली राजनीतिमा आफ्ना नीति सच्याउँदै आएको माओवादी केन्द्र झण्डै काग्रेसकै हाराहारीमा तेश्रो राजनीतिक शक्तिमा स्थापित भएको छ । अझ प्रदेश नं ३, ५, ६ र ७ मा त प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकको जम्मा सिट हेर्दा कांग्रेसभन्दा माओबादी केन्द्र नै अगाडि देखिन्छ । यो परिणाम वाम गठबन्धनको कारणले आएको हो तर पनि यसले कांग्रेसको खस्कंदो अबस्था चित्रण गर्दछ । 

यसपटक संधै अवसरवादी र अझै पनि धार्मिक नाराका साथ राजतन्त्रको वकालत गर्ने राप्रपा जस्ता शक्तिलाई जनताले पाखा लगाएका छन् । मधेशको वकालत गर्दै तिनै मधेशी जनतालाई ठगी खाने पृथकतावादी सोच र दृष्टिकोण बोकेर आएका, नेपालको संविधानको बिरोध गर्दै अरु कसैको हित रक्षामा लागेका मधेशी दलहरुलाई पनि जनताले सानो आकारमा सिमित गरेका छन् । अरु सानातिना बिभिन्न स्वार्थसहित घुम्तीपसल थापेर ‘बार्गेनिङ्ग’ गर्दै ठग्न पल्किएका शक्तिहरुको जनताले सटर नै बन्द गरिदिएका छन् । 



उल्लेखित तथ्याङ्कले यतिबेलाको नेपालका राजनीतिक पार्टीहरुको बास्तविक स्थिति झल्काउने काम गरेको छ । बामपन्थीहरुको बहुमतको सरकार बन्ने निश्चित छ । लामो समयदेखि वामपन्थीहरुको जन समर्थन ठूलो मात्रामा भए पनि ०५१ सालमा अल्पमतको बामपन्थी (एमालेको) सरकार बने पनि अहिले सम्म बहुमतका साथ सरकार बन्न सकेको थिएन । जहिल्यै पनि बामपन्थीहरुको मत बिभाजित हुने र कांग्रेसको बहुमत आइरहने अवस्था हो । 
सबैलाई थाहा छ काग्रेसले अहिलेसम्म ‘फुटाउ र शासन गर’ को नीति अवलम्बन गर्दै आएको हो । यो यसअघिको नेतृत्वले या त बुझेनन् वा बुझेर पनि आत्मासाथ गरेनन् । वामपन्थीहरुको बहुमत छ तर जहिले पनि काग्रेसले नै कसरी बहुमत ल्याउँछ ? यो एउटा आश्चर्यको बिषय नै रह्यो । फेरी यो कुनै नबुझिने अप्ठ्यारो बिषय पनि थिएन । 

गठबन्धन अनुभव 
आफ्नो स्थितिलाई सुदृढ गर्नको लागि बिभिन्न निर्वाचनमा चुनावी गठबन्धन हुने गरेका छन् । यस अघिको स्थानीय तहको निर्वाचनमा कतिपय जिल्लामा माओवादी केन्द्र र नेपाली कांग्रेसको वीचमा पनि चुनावी तालमेल भएको हो । तर यसलाई आम मतदाताले त्यति सहज रुपमा लिएनन् वा रुचाएनन् । यो गठबन्धन अप्राकृतिक पनि देखियो । यसपटक हामीले देशव्यापी रुपमा माओवादी केन्द्र र एमालेको बीचमा गठबन्धन गरेर चुनावी तालमेल ग¥यौं । यो सहज र प्राकृतिक भयो । नेपाली कांग्रेस र एमाले संग बेग्लाबेग्लै तालमेलको अभ्यास गर्ने माओवादी केन्द्रका साथीहरुले महशुस गर्नु भएकै होला भन्ने लाग्छ । यो वाम गठबन्धन सहज र सफल भयो ।

कांग्रेसको स्थिति के होला ?
वाम गठबन्धनको सरकार बनिरहँदा नेपाली कांग्रेस आफ्नो सशक्त भूमिका निर्वाह गर्न नसकेको अबस्थामा कमजोर प्रतिपक्षको रुपमा देखिने निश्चित छ । परिणामपछिको भूमिकाबाट एउटा कुरा के निश्चित छ भने जनताबाट बिश्वास गुमाउँदै गएको कांग्रेस झन कमजोर हुनेछ । किनभने अहिलेको कांग्रेसको भूमिका हेर्दा भन्दा देख्नेलाई लाज भन्ने नेपाली उखान जस्तो छ । निर्वाचनमा पराजित भइसकेपछि राजिनामा नदिने, बिभिन्न महत्वपूर्ण निर्णय गर्दै जाने, सबैभन्दा ठूलो शक्ति एमाले र सरकारमै रहेको माओवादी केन्द्रसंग कुनै परामर्श नै नगरी बिधेयक बनाएर राष्ट्रपतिकोमा पठाउने र प्रमाणीकरण गर्न जोडबल गर्ने साथै प्रदेश प्रमुखको नियुक्ति गर्न लाग्ने जस्ता जनमत विपरितका काम कांग्रेस गर्दैछ ।  

संविधानमा रहेका अस्पष्टतालाई समाधान गर्न सवै राजनीतिक दलहरुसंग परामर्श गर्दै समाधानको बाटो खोज्नुपर्नेमा उल्टै संबिधान भित्रका छिद्रहरु खोज्दै १÷२ महिना भए पनि सत्ता लम्ब्याउने खेलमा लाग्ने जस्ता अत्यन्त लज्जास्पद र फोहोरी काममा लागिरहेको अवस्था छ । अहिले संबिधानको धारा ८४(८) मा टेकेर निर्वाचन आयोगलाई पनि कांग्रेसकै गोटीको रुपमा संचालन गर्ने कोशिश गरिरहेको छ । त्यसैले अव कांग्रेसको पतन अवश्यम्भावी छ । मेरो शुभेक्क्षा छ कांग्रेस सुध्रेर आउनेछ  र जनताको मन जित्न सफल हुनेछ ।

संबैधानिक कमजोरीमा खेल्ने प्रयास 
महिला प्रतिनिधित्वका नाममा संबिधानको भाग ८ को धारा ८४(८)मा गम्भिर त्रुटी  देखिएको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाले महिला प्रतिनिधित्वको लागी आ–आफ्नो भार आफैले व्यहोर्नु बान्छनीय हुन्छ । दुवै सदनले आ–आफ्नो भार बहन गरिसकेपछि महिला प्रतिनिधित्व स्वत ः एकतिहाई पुग्न जान्छ । अर्को के कुरामा पनि ध्यान दिनु आवश्यक छ भने राष्ट्रियसभामा महिला प्रतिनिधित्वको लागि दललाई प्रतिनिधिसभासंग जोडेर महिला प्रतिनिधित्वको भार दिनु आवश्यक नै छैन, महिला प्रतिनिधित्वको संबिधानले स्वतः व्यवस्था गरेको छ । 

राष्ट्रियसभाको लागी छुट्टै प्रक्रियाबाट निर्वाचन हुने भएकोले सबै दलसंग ३३ प्रतिशत महिला सहभागिता माग्न सम्भव देखिंदैन । समग्रमा राष्ट्रियसभामा ३७.२८ प्रतिशत महिला सहभागिता हुने नै व्यवस्था संबिधानले गरेकै छ । यो कुरा बिस्तृतमा उल्लेख गर्न खोजिएको किन भने संबिधान बनाउँदा भएको सामान्य प्राविधिक त्रुटीलाई राजनीतिक अभिष्ट पुरा गर्ने माध्यमको रुपमा जुन व्याख्या भइरहेको छ, त्यस बिषय तर्फमात्रै ध्यान आकर्षण गर्न खोजिएको हो । त्यस्ता त्रुटीलाई आगामी संघीय व्यावस्थापिकाले सच्याउनु आवश्यक छ ।

वामपन्थीहरुले ध्यान के मा दिनुपर्छ ? 
१. यतिबेला शर्मनाक हार खाएर पनि नेपाली कांग्रेसभित्रको एउटा खास समुह त्यति निरास देखिंदैन । बरु हाका–हाकी आफ्नो रणनीति कम्युनिष्टहरुको एकता तोड्ने हो भनेर घोषणा गरिरहेको स्थिति छ । बाहिर भाषणै गरेर वाम गठबन्धनबाट माओवादी केन्द्रलाई (प्रचण्डको नामै लिएर) अलग्याउने रणनीतिक योजना सुनाइरहेका छन् । चुनाव अघि वामपन्थीहरुको सरकार बन्यो भने अधिनायकवाद आउंछ भन्थे, अहिले फुटाउने कुरा गरिरहेका छन् । अनेक वहाना बनाएर सरकार निर्माणमा जति सक्दो ढिलो गर्ने र यसबीचमा बामपन्थी एकता तोड्न सकिन्छ कि भनेर बिभिन्न शक्ति केन्द्रहरु लागिरहेका छन् । पुँजीवादीहरु यसरी बुझिने गरी आउँदा पनि वामपन्थीहरुले बुझ्दैनन् र यस्ता तत्वहरुलाई ललकार्दै अगाडि जान सक्दैनन् भने नेपालमा वामपन्थीहरुको होइन, संधैभरी पुँजीवादीहरुकै सत्ता चल्नेछ । जनताहरुले दुईतिहाई मत दिए पनि त्यो मत त्यसै खेर जानेछ । जनताका बिकास र समृद्धिका सपनाहरु पुरा हुने छैनन् र व्यापक निराशा आउनेछ ।

२. अव तुरुन्तै एमाले र माओवादी केन्द्रको संयुक्त सरकार बन्नेछ । यतिवेला आंफै भित्रबाट र बाहिरबाट समेत अनेक वहाना झिकेर भरसक सरकार नै बन्न नदिने, सरकार बनिहाले पनि चल्न नदिने, चले पनि कामै गर्न नदिने गरि बिभिन्न अंकुश लगाउन सक्छन् । यस्ता कुरा कुशलतापूर्वक व्यवस्थापन गर्न सक्नुपर्छ । 

३. सरकार बनिसकेपछि सानातिना नियुक्ति लगायतका काममा मात्र नअल्झि हाम्रा घोषणापत्रका आधारमा बिकाश र समृद्धि कामहरु गर्नुपर्छ ।  क्षणिक लोकप्रियताका लागि नभई दिर्घकालिन महत्वका कार्ययोजना अगाडी सार्नु आवश्यक छ । 

पार्टी एकिकरणका सम्बन्धमा  
१. प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अघिनै एमाले र माओवादी केन्द्रको बीचमा पार्टी एकिकरण समेत गर्ने प्रतिबद्धताकासाथ चुनावी तालमेल भएको थियो । अहिले वाम तालमेल अनुसार नै बामपन्थीहरुको अत्यधिक बहुमतका साथ निर्वाचनको परिणाम समेत आइसकेको छ । वाम तालमेललाई पार्टी एकिकरणसम्म जानका लागि जनताले अनुमोदन गरिसकेका छन् । अब नेपालको संबिधान अनुसार वामपन्थीहरुको बहुमतको सरकार सहजरुपमा बन्न सक्ने अवस्था छ । पार्टी एकिकरणको नाममा सरकार निर्माणको काममा कुनै पनि हालतमा ढिलाई गर्नु हुंदैन । पार्टी एकिकरणको काम एउटा बेग्लै बृहत कार्ययोजनाका साथ गर्ने काम हो । पार्टी एकिकरण गर्नु अघि टुंग्याउनु पर्ने धेरै बिषय हुन सक्छन् । नीति, कार्यक्रम र सिद्धान्तको बारेमा गम्भिर बहस÷छलफल र निष्कर्ष, क्रान्तिको बाटो,संगठनात्मक कुरा, सबै तहको नेतृत्वको उचित व्यवस्थापन लगायत आन्तरिक मनोविज्ञानका समस्यासम्मको बारेमा सोच्नु आवश्यक छ । 

२. नेपालमा कम्युनिष्ट पार्टीहरु बिभिन्न कालखण्डमा गठन पुनर्गठन, एकिकरण र बिभाजनको श्रृंखलाबाट नै गुज्रीएर यहाँसम्म आइपुगेका हुन् । धेरैजसो बिभाजनमा नीति सिद्धान्तको कुरा गौंण र  नेतृत्वको व्यक्तिगत प्रतिष्ठाको लडाईं प्रमुख हुने र त्यसलाई आफ्नो पक्षमा पुष्टी गर्न सिद्धान्तको जलप लगाउने गरिन्छ । अहिलेसम्ममा कम्युनिष्ट पार्टीहरुको बीचमा क्रान्तिको बाटोको बारेमा मात्र ठूलाठूला बहस हुने गरेका छन् । अन्य सवालमा कनिकुथि सिद्धान्तको बहस गरिएपनि सारमा सबैका कुरा उस्तै हुन्–माक्र्सवाद लेनिनवाद,जनवाद, समाजवाद, साम्यवाद आदी ।

३. कम्युनिष्ट पार्टीहरु एकिकरण हुँदा स्वभाविक रुपमा आम कार्यकर्ता र जनतामा उत्साह आउंछ नै । तर जव पार्टीभित्र आन्तरिक किचलो हुन्छ अथवा पार्टी बिभाजन सम्मपुग्छ त्यतिबेला आम जनताको बीचमा तुलनात्मक रुपमा अझै ठुलो मात्रामा निराशा आउन सक्छ । अब कम्युनिष्ट पार्टीहरु मिलेर मुलुकको मुहार फेरिने आशा बोकेर बसेका जनताहरुमा निराशा आयो भने मुलुक अग्रगमन होईन यथास्थितितर्फ धकेलिने सम्भावना बढेर जानेछ ।

४. त्यसैले पार्टी एकिकरण गर्नुभन्दा पहिला निधार खुम्च्याएर सोच्नु आवश्यक छ । केही ढिलो भएर केही बिग्रँदैन । बरु अहिले पार्टीहरु जे जस्तो अवस्थामा छन्, आ–आफ्नै पार्टीमा कार्यकर्ता र जनताहरु रमाईरहेकै छन् ।

५. यसको अर्थ मैले एकिकरणको सम्बन्धमा कुनै निराशावादी कुरा गरिरहेको छैन, हामीमा ठूलो अवसर प्राप्त भएको छ, पार्टी एकिकरण गर्नै पर्दछ । यस महान कार्यमा शिर्ष नेताहरुको मात्र होईन,हामी जस्ता शुभचिन्तक कार्यकर्ताहरुको पनि त्यत्तिकै भूमिका रहन्छ । हामी सबैले यो बिषयलाई सकारात्मक सोचका साथ अभियान संचालन गर्नु आवश्यक छ । मैले यस लेखमा जोड दिन खोजेको बिषय के हो भने लामो लल्य, उद्धेश्य र फराकिलो ह्दयका साथ पार्टी एकिकरणको तयारीमा जुट्नको लागि आह्वान गरांै । आम जनताको अहिलेको अपेक्षा पनि यहि हो ।

                                                                                                                                                             -- चक्रपथबाट

प्रतिकृया दिनुहोस