कन्यादान कि छोरीको सौदाबाजी ?


प्रा.डा.गंगाप्रसाद अधिकारी, प्रकाशित मिति : २०७४ ,पौष , १५ 20:07:29

31148-20171230200729.jpg

    बाबा हाम्रो दान गर्छौ स्वर्गलोक जान
    हामी गाई बाच्छी हैनौं कस्तो हाम्रो दान ?
    हैनौं हामी पशु पनि मानिस कै भाषा
    हाम्रो पनि मानिस भै बाँच्ने हुन्छ आशा ....

कुनै बेला यस्ता सामाजिक चेतनाका गीतले नेपालका थुप्रै रङ्गमञ्च, डबली, स्कूलका खेलमैदान र मेलापात गुञ्जायमान हुने गर्थे । कतिले त यसकै प्रभावमा मञ्च विवाह पनि गरे तर त्यो प्रक्रिया धेरै चल्न सकेन । बिहेमा बुहारीसँगै भित्रिने ‘दाइजो’ को मोह नेपाली समाजले त्याग्न सकेन र त्यो अहिले एकादेशको कथा जस्तो भएर थन्किन पुग्यो । आफ्नो परम्परागत संस्कार वैदिक विधिले कन्यादान गरेर सम्पूर्ण पाप पखाल्ने र धर्म कमाउने लोभले पनि हाम्रो समाजलाई नछोडेकाले पनि त्यो अभियान अघि बढ्न सकेन । 

हो पनि, आफ्नो पारम्परित संस्कारअनुसार वैदिक विधिद्वारा प्रज्ज्वलित अग्निमा सात फेरा लगाएर सम्पन्न गरिएको विवाह पो विवाह त ! नत्र त विवाहको अर्थै के ? अलिकति परम्परा र संस्कारमा विश्वास गर्नेका लागि चित्त नबुझ्नु स्वाभाविकै हो । विश्वास हुनु नहुनु एउटा कुरा, तर यस्ता कुरा जातीय पहिचानका दरिला आधार पनि हुन् । त्यसैले यस्ता कुरालाई अन्धविश्वास भनेर चटक्कै छोडिदिँदा जातीय पहिचान पनि त गुम्छ नि ! त्यसैले पारम्परित विधिलाई पछ्याउन खोज्नु पनि अन्यथा चाहिँ हुँदैन । तर त्यस विधि विधानभित्र पनि केही गलत र त्याज्य कुरा छन् कि ? यस्ता कुरालाई पनि छिन्किन चाहिँ जरुरी छ । 

हाम्रो कर्मकाण्डमा विवाहको प्रमुख कृत्य भनेको कन्यादान हो । त्यसैले सर्वत्र ‘विवाह’ भनिए पनि कर्मकाण्डले गराउने सङ्कल्पले ‘कन्यादान कर्मणि’ भनेर विवाहको कृत्य गर्छ, गराउँछ । त्यो ‘कन्यादान’ भनिएको कर्म के हो ? कन्या+दान=कन्यादान, अर्थात् कन्याको दान । अर्थात् आफ्नी छोरी (कन्या) लाई सङ्कल्प पढेर अर्को व्यक्ति ‘वर’ (बेहुलो) का हातमा सुम्पनु नै कन्यादान हो । 

दान के हो ? दान वस्तु हस्तान्तरणको एउटा प्रकार हो । हस्तान्तरण प्रायः (मन्त्रदान, विद्यादान, ज्ञानदानबाहेक) जीवित पशु र जड वस्तुको मात्र हुन्छ । त्यसबाहेक मानवको दान कन्यादान मात्र हो । वस्तु एउटाको हातबाट वा अधीनबाट अर्काको हातमा वा अधीनमा सुम्पनु हस्तान्तरण हो । हस्तान्तरण बिक्री र दान दुई विधिबाट हुन्छ । बिक्री सट्टामा रुपैयाँ अथवा यस्तै भौतिक वस्तुसँगको मोलमोलाइबाट हुन्छ । यो सोझो विधि हो भने दान चाहिँ प्रत्यक्ष रूपमा केही नलिई सित्यैं दिइन्छ । तर परोक्ष हिसाबले हेर्ने हो भने दान पनि एक प्रकारको बिक्री नै हो । किनभने दान पनि विना कामना सित्यैं गरिँदैन । यसरी प्रत्यक्ष रूपमा केही नलिएजस्तो गरे पनि दानका पछाडि दाताको धनभन्दा गतिलो स्वार्थ हुन्छ । दान भन्ने कुरा प्रसिद्धि, पापमोचन र पुण्यलाभको आकांक्षाले गरिन्छ । त्यसैले दान पनि मोलमोलाइरहित एक प्रकारको बिक्री नै हो । कन्यादान पनि विनास्वार्थको दान होइन, यसको प्रयोजन पापमोचन र पुण्यलाभ नै हो ।

कन्यादान, भूमिदान, राज्यदान आदि दानलाई महादान मान्दछ धर्मशास्त्रले । महादान गर्दा महासङ्कल्प पढिन्छ । महासङ्कल्पमा दान गरिने समय, भूगोल आदिको सूक्ष्म विवरणसहित दानबाट अपेक्षा गरिएको कुरासमेत उल्लेख गरिन्छ । त्यहाँ “मैले जानेर होस् वा नजानी गरेका सबै पाप नष्ट भई मरणपछि वैकुण्ठ पद वा सायुज्य मुक्ति (फेरि यस जगत्मा जन्म लिनै नपर्ने) वा परम् पदप्राप्तिका लागि मेरी छोरी ‘कन्या’ तपाईंलाई दान गर्दछु” भन्ने वचन पाठ गरिन्छ । कन्यादान गरेवापत गौहत्या, ब्रह्महत्या, गोत्रहत्या, वेश्यागमन, गुरुपत्नीगमन, अभोज्यभोजन, अपेयपान आदि विविध अपराध नष्ट होऊन् भन्ने वचनको पाठ महासङ्कल्पमा हुन्छ । यही नै कन्यादान हो । 

अब भन्नुहोस् त ! के छोरी भनेको आफूले गरेका सम्पूर्ण कुकर्मको प्रायश्चित्त गर्ने साधन मात्र हो ? के तपाईं आफूले गरेका सम्पूर्ण अपराधमोचनका लागि र मरेपछि स्वर्गप्राप्तिका लागि गाईको पुच्छर समातेर दान गरेजस्तो छोरीका औंला समातेर सहस्र जलधाराका साथ आफूले गरेका अनेकन अपराधको फलाको हाल्दै मेरा सबै अपराध नष्ट होऊन् भनेर दान गर्नुहुन्छ ? के हाम्रा छोरी हामीले गरेका फटाइँको प्रायश्चित्त, सम्पूर्ण पितृमुक्ति अनि पुण्यात्मासरह सायुज्य मुक्तिका साधन मात्र हुन् ? सँगैमा छोरो त हामी त्यसरी दान गर्दैनौं ? अनि किन छोरीको चाहिँ गाई बाच्छी सरह दान ?

हामी नारा चाहिँ लगाउँछौं नारीपुरुष समान, छोरा र छोरी बराबर ! तर खै यही हो हाम्रो समान व्यवहार ? के छोरी पाल्नु हुर्काउनु भनेको पशुपालन जस्तै स्वार्थप्रेरित कार्य हो ? के हामी छोरीहरू हुर्काउँदा, शिक्षादीक्षा दिँदा आफ्नै सन्तान, आफ्नै मुटुका टुक्रासरह सम्झँदैनौ र ? के हाम्रा छोरीहरू हाम्रा स्वार्थका साधन मात्रै हुन् त ? नत्र त मोलमोलाइ गरेर वस्तु बिक्री गर्नु र यसो होस् र उसो होस् भनेर सप्तरङ्गी कामनाका साथ छोरीको दान गर्नु दुवै सौदाबाजी होइनन् र ? छोरी दान गरिसकेपछि ऊ त देयवस्तु सरह प्राप्त गर्ने व्यक्तिको अधिकारभित्र पो हुन्छे त ! दानमा प्राप्त वस्तुमाथि प्राप्तकर्ताले जेजस्तो व्यवहार गर्न पनि सक्छ होइन र ? अनि हामीले छोरीको विवाह गरिदियौं कि उसलाई गाई बाच्छी सरह प्राप्तकर्ताको नाफा नोक्सानको वस्तु बनायौं ? 

के कन्यादान नगरी छोरीको विवाह हुँदैन ? के “म फलानाका छोरासँग मेरी छोरीको विवाह उनीहरू दुवैको राजीखुसीमा सम्पन्न गरिदिँदैछु” भनेर दुवैको हात मिलाइदिएर “आजदेखि विवाह बन्धनमा बाँधियौ है !” भनिदिँदा विवाह हुँदैन ? बाँकी वैदिक कृत्य त वरबधुका आफ्ना कृत्यहरू नै हुन् । अग्निलाई, हाम्रा आराध्य देवदेवीलाई साक्षी राखेर परम्परागत वैदिक विधिबाटै बाँकी कृत्य सम्पन्न गरिदिँदा सामाजिक र सांस्कृतिक दुवै परम्पराको सम्मान र रक्षा हुँदैन र ?

हुन्छ ! अवश्य हुन्छ । सम्भवतः त्यस प्रकारको विवाहको थालनी कुनै बाधाव्यवधान नभए आगामी फागुन २० गते झापाको बिर्तामोडबाट हुने थाहा भएको छ । त्यो विवाह कन्यादानरहित तर वैदिक यज्ञानुष्ठान विधिबाटै सम्पन्न पहिलो विवाह हुनेछ । यदि तपाईंहरू त्यस अभियानको थालनीको श्रेय आफू लिन चाहनुुहुन्छ भने आउनोस्, यस अभियानको थालनी तपाईं नै गर्नुहोस् र तपाईं नै यसको प्रथम अभियन्ता बन्नुहोस् ! 
                                                                                                                                                                                                                                       कौशलटार, भक्तपुर

प्रतिकृया दिनुहोस