एक अपराध : जसमा सुनाइयो १३ हजार २७५ वर्ष कैद सजाय


एजेन्सी, प्रकाशित मिति : २०७४ ,पौष , १५ 11:26:45

31138-20171230112744.jpg

थाइल्याण्ड। थाइल्याण्डको एक अदालतले ठगी मुद्दामा एक अपराधीलाई १३ हजार २७५ वर्षको कैद सजाय दिएको छ।

यो सजाय पाउने व्यक्ति हुन्, ३४ वर्षीय पुडित कितिथार्दिकलोक। उनले पोजी स्किम मार्फत हजारौं व्यक्तिलाई ठगेका थिए। पुडितले अदालतसामु अपराध स्वीकार गरेका थिए। पुडितले विभिन्न झुठा प्रतिबद्धता व्यक्त गर्दै ४० हजार मानिसलाई उक्त स्किममा पैसा लगानी गर्ने बनाउन सफल भएका थिए।

उक्त 'स्किम'मार्फत उनले आफ्नो कम्पनीका लागि १६ करोड अमेरिकी डलर जम्मा गर्न सफल भएका थिए। अदालतले पुडितलाई अवैध तरिकाबाट विभिन्न व्यक्तिहरुलाई ऋण दिने र हजारौं मानिसलाई ठगेको मुद्दामा दोषी पाएको थियो। उनले अदालतसामु आफ्नो दोष स्वीकार गरेकोले अब उनलाई आधा सजाय माफ भएको छ। तर, थाइल्याण्डको कानुन अनुसार पुडित २० वर्ष भन्दा बढी जेलमा रहने छैनन्। उक्त दुई मुद्दामा १०- १० वर्षको जेल सजाय हुने थाइल्याण्डको कानुनमा उल्लेख छ।

पीडितहरूका अनुसार पुडितले उनीहरुलाई भरोसा दिलाउन विभिन्न सेमिनार आयोजना गर्थे। त्यस्ता सेमिनारहरुमा आफ्नो कारोबार व्यापार, सुन्दरी प्रतियोगिता, पुराना कारको खरिद बिक्रीमा लगायत विविध क्षेत्रमा रहेको बताउने गर्थे। बैंकक पोस्टका अनुसार पुडित लगानीकर्ताहरुलाई मनग्य आम्दानी हुने र फाइदामा हिस्सेदार बनाउने पनि प्रतिबद्धता जनाउने गर्थे। पुडितलाई गत अगष्टमा प्रहरीले पक्राउ गरेको थियो।

त्यसपछि उनी प्रहरी हिरासतमा थिए। अदालतले उनलाई जमानत दिन अश्वीकार गरेको थियो। अदालतले उनका दुई कम्पनी रहेको पत्ता लागाएको छ। पुडित र उनका कम्पनीबाट करिब १ करोड ७० लाख डलर असुल गर्न सरकारलाई निर्देशन दिएको छ। जसबाट अहिलेसम्म परिचय खुलेका २ हजार ६५३ जनाको पैसा फिर्ता गर्न भनिएको छ। पीडितहरुलाई ७ दशमलव ५ प्रतिशत ब्याजसहित फिर्ता दिन अदालतले अादेश दिएको छ।

प्रतिकृया दिनुहोस