यो वर्ष झापामा धानबाली र माछाको उत्पादन राम्रो 


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,पौष , १३ 20:29:59

31106-20171228202959.jpg

भद्रपुर । साउन महिनादेखि कात्तिकसम्म खाद्यान्नमा न्यूनतम् आवश्यकता पूरा गर्न झापाका ८० प्रतिशत घरधुरी सुरक्षित रहेको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । यो वर्षको आउँंदो फागुनसम्म खाद्यान्नमा अवस्था बलियो रहने भन्दै कार्यालयले झापालाई सुरक्षित भनेको हो ।

विगतको भन्दा अनुकूल मौसम, उन्नत बीऊ र प्रविधिको प्रयोगले खाद्यान्न उत्पादनमा शून्य दशमलव ११ प्रतिशतले बृद्धि भएको जिल्ला खाद्यान्न सञ्जालको प्रतिवेदनमा उल्लेख छ । गएको वर्ष झापामा चार लाख १० हजार ३७५ मेट्रिक टन धान उत्पादन भएकोमा यसवर्ष चार लाख १० हजार ४०० मेट्रिक टन धान उत्पादन भएको हो ।

अधिक बर्षाले यो वर्षमा झापामा धानबाली र माछाको उत्पादन राम्रो भएको बताइएको छ । प्रमुख कृषि बजार बिर्तामोड, धुलाबारी, भद्रपुर, दमक, चन्द्रगढी रहेको यस जिल्लामा सुपारी र चियाबाट ९५ करोड रुपैयाँ र मासुजन्य पदार्थबाट ७२ करोड ९३ लाख रुपैयाँ आम्दानी भएको कृषि प्रसार अधिकृत शालिकराम भट्टराईले जानकारी दिए ।

गएको वर्ष ८७ हजार ५०० हेक्टर जग्गामा धान खेती भएको थियो भने उत्पादकत्व ४ दशमलव ६९ प्रतिशत मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको थियो । यसवर्ष जग्गा प्लटिङको कारणले दुई हजार हेक्टर क्षेत्रफल धान खेती घटेर ८५ हजार ५०० हेक्टर जग्गमा मात्र धान खेती हुनसकेको जनाइएको छ । 

यसैगरी, यसवर्ष साउन महिनामा आएको बाढीका कारण जिल्लामा एक अर्ब छ करोड ८४ लाख रुपैयाँ बराबरको कृषि क्षेत्रमा क्षति भएको समेत जिल्ला कृषि विकास कार्यालय झापाले बताएको छ ।

प्रतिकृया दिनुहोस