औधोगिक पार्कबारे अध्ययन गर्न चिनियाँ टोली दमकमा 


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,पौष , १३ 20:05:20

दमक । यहाँका लागि परिकल्पना गरिएको औद्योगिक क्लिन पार्कको अवधारणा बारे चिनियाँ अध्ययन टोलीले स्थलगत अध्ययन गरेको छ ।

झापाको दमक १० मा पर्ने रतुवा खोलाको पश्चिम र कमल गाउँपालिकाको लालधोन्द्रा, ठूलो बाह्रघरे र बालुबथानको रतुवा खोला पूर्वमा बनाउने परिकल्पना गरिएको औद्योगिक पार्कका लागि छुट्याइएको स्थलको चिनियाँ टोलीले अवलोकन गरेको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीका उपसचिव तथा चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका कार्यकारी निर्देशक लिउ रुपेङ नेतृत्वको १२ सदस्यीय अध्ययन टोलीले ब्लक नम्बर एदेखि डीसम्मको अवलोकन गरेको थियो । 

चिनियाँ टोलीसँग पार्क बनाउने विषय, लगानी मैत्री कानून बनाउने कुरा र अनुभव साटासाट गरेको औद्योगिक क्लिन इण्डस्ट्रिज पार्कका अध्यक्ष गोविन्द थापाले जानकारी दिए । 

दमक नगरपालिका र कमल गाउँपालिकामा गरी दुई हजार २०० बिगाहा क्षेत्रफलमा चीनले औद्योगिक पार्क निर्माण गर्ने सरकारी निर्णय भए पनि हालसम्म ५४८ बिगाहामात्र व्यवस्थापन गर्न सकिएको अध्यक्ष थापाले सुनाए । अरु जग्गा लिने प्रक्रिया पनि निरन्तर अघि बढेको उनले बताएका छन् । 

चिनियाँ कम्युनिष्ट पार्टीका उपसचिव लिउ रुपेङको टोलीले अध्ययन गरेर गएपछि चाँडै नेपाल र चीनका सरकारी पक्षबीच समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ । समझदारी पत्रमा हस्ताक्षर भएपछि औधोगिक क्षेत्रमा प्रशासनिक कार्यालय बनाउने, सडक निर्माण, खेल मैदान र विद्यालय निर्माणलगायतका काम शुरु हुने अध्यक्ष थापाले बताए ।

प्रतिकृया दिनुहोस