कनकाईमा एक महिलाको दुईवटै घुँडामा पाङ्ग्राको सफल प्रत्यारोपण


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , १० 19:50:30

31042-20171225195030.jpg

झापा । विगत १० वर्षदेखि बिर्तामोडमा सञ्चालित कनकाई हस्पिटलले पूर्वाञ्चलमा नै पहिलो पटक एकजना महिलाको दुईवटै घुँडाको पाङ्ग्राको सफल प्रत्यारोपण गरेको जनाएको छ । 

हिपज्वाइनसँगै घुँडाको बाथ सम्बन्धी समस्याले थलिएकी झापाको बुद्धशान्ति गाउँपालिका ४ बर्नेकी ६० वर्षीया नरमाया भूजेलको दुईवटै घुँडाको पाङ्ग्रा सफल प्रत्यारोपण गरिएको हो ।

 

आज अस्पताल प्रशासनले पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारीअनुसार जोह्नसन एण्ड जोह्नसन कम्पनी अमेरिकामा बनेको घुँडाको पाङ्ग्राको सफल प्रत्यारोपण पछि बिरामीले सहज ढंगले कम्तीमा २० वर्ष हिंडडुल गर्नसक्ने छन् ।

कनकाई अस्पतालका एमडी प्रेमबहादुर शाहीले दुई हप्ता अघि गरिएको शल्यक्रिया र घुँडाको पाङ्ग्राको सफल प्रत्यारोपण पछि बिरामीलाई डिस्चार्ज गर्नुपूर्व सर्वसाधारणको जानकारीका लागि पत्रकार सम्मेलन गरिएको बताए ।

केही महिनादेखि घुँडाको बाथको समस्याबाट पीडित बनेकी नरमायालाई परिवारका सदस्यले धरानको विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेका थिए । तर, उपचारमा संलग्न चिकित्सकहरुले उनको उपचार सम्भव नहुने बताएपछि निराश भएर नरमायालाई घर फिर्ता ल्याएको उनका ज्वाईं नरबहादुर भूजेलले जानकारी दिए । 

बिरामले चाप्न थालेपछि नरमायालाई एकमहिना अघि कनकाई हस्पिटल बिर्तामोडमा भर्ना गरिएकोमा दुईहप्ता अघि घुँडाको पाङ्ग्राको सफल प्रत्यारोपण गरिएको ज्वाई नरबहादुर भुजेलले पुष्टि गरे । स्पतालका प्रबन्ध निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा. शाहीको टिमले नरमायाको दुईवटै घुँडाको प्रत्यारोपण सफल रुपमा गरेको हो । 

बिरामीको अवस्थामा क्रमशः सुधार भइरहेकाले केही दिनभित्र उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको हस्पिटलका अध्यक्ष महेन्द्रबहादुर राईले जानकारी दिए । अस्पताल प्रशासनकाअनुसार नरमायाको उपचारमा करिब १० लाख रुपैयाँ खर्च भएको छ । 

सोमध्ये अस्पतालले परिवारको अवस्था हेरेर एकलाख रुपैयाँको चेक प्रदान गरी सहयोग पनि उपलब्ध गराएको छ । पत्रकार सम्मेलन मै अस्पतालले बिरामीका छोरीज्वाई नरबहादुर दम्पत्तीलाई चेक हस्तान्तरण पनि गरेको थियो । औषधीमा पनि छुट उपलब्ध गराउने जनाइएको छ ।

विगत १० वर्षदेखि सञ्चालित अस्पताल ५५ बेड क्षमताको रहेको छ । अस्पतालका प्रशासन प्रमुख शिशिर ढुङ्गानाले सञ्चालन गरेको पत्रकार सम्मेलन कार्यक्रममा अस्पतालले छिट्टै नयाँ भवनको निर्माण थालनी गर्ने पनि जनाइएको छ । बिर्तामोड ६ बुट्टाबारीमा रहेको अस्पतालको निजी जग्गामा भवन बनाउने तयारी थालिएको डा. शाहीले अवगत गराए । 

भवन निर्माणका लागि माटो परीक्षण र इन्जिनियरद्वारा भवनको नक्सा बनाउने काम लगभग भइसकेको सुनाउँदै डा. शाहीले आगामी ४ वर्षभित्रमा अस्पतालको नयाँ भवन बनाइसक्ने लक्ष्य राखिएको सुनाए । उनका अनुसार अस्पतालमा ५० देखि १०० बेड क्षमताको ट्रमा सेन्टर बनाउने लक्ष्य राखिएको छ ।

प्रतिकृया दिनुहोस