कनकाई नगरपालिकाको वार्षिक बजेट सवा ४० करोड 


राम निरौला, प्रकाशित मिति : २०७४ ,पौष , ४ 20:02:25

30914-20171219200225.jpg

सुरुङ्गा । झापाको कनकाई नगरपालिकाले नगरसभाबाट पारित गरिएको चालू आर्थिक वर्ष २०७४÷०७५ को बजेट, नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । 

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कूल ४० करोड २६ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । 

बजेटमा चालू खर्च ३ करोड ४६ लाख ५० हजार र पूँजीगततर्फ २० करोड ९० लाख ५ हजार रहेको सार्वजनिक गरिएको बजेटमा उल्लेख छ । उल्लेखित चालु खर्चको रकममा सामाजिक सुरक्षा भत्ता तथा शिक्षा र स्वास्थ्य तर्फको अन्य शसर्त अनुदान रकम नजोडिएको नगरप्रमुख पोखरेलले प्रष्ट्याएका छन् । 

बजेटमा नेपाल सरकारबाट नगरपालिकालाई प्राप्त हुने वित्तीय समानीकरण, सशर्त अनुदान, सामाजिक सुरक्षा भत्ता, सडक बोर्ड नेपाल, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको रकम जोडिएको छ । 

यसैगरी, संघ, प्रदेश तथा जिल्ला समन्वय समितिबाट थप हुनसक्ने अनुदान, नगरपालिकाको आन्तरिक आय र राजश्व बाँडफाँडबाट प्राप्त हुनसक्ने आय रकम समावेश गरी अनुमानित बजेट सार्वजनिक गरिएको नगरप्रमुख पोखरेलले बताएका छन् । 

कूल पूँजीगत खर्चमध्ये कृषि तथा पशुपालन क्षेत्रमा ६४ लाख ३० हजार, भौतिक पूर्वाधार विकास तर्फ ८ करोड ३२ लाख, लक्षित वर्ग कार्यक्रम तर्फ १ करोड ५० लाख, स्वास्थ्य तर्फ ३० लाख, शिक्षा तर्फ ३६ लाख ५० हजार छुट्याइएको छ ।

यसैगरी, उद्योग स्थापना तर्फ १ करोड, विपद् व्यवस्थापन तर्फ ७० लाख, पर्यटन तर्फ ९६ लाख ५० हजार, नदी नियन्त्रण तर्फ १ करोड २० लाख, विद्युत विस्तारका लागि १ करोड १० लाख विनियोजन गरिएको नगर प्रमुख पोखरेलले बताए । 

पूँजीगत खर्च विनियोजन भित्र वडास्तरीय योजनामा विनियोजन भएको रकमसमेत समावेश गरिएको छ । 

बजेट सार्वजनिक गर्दै नगरप्रमुख पोखरेलले समृद्ध समाजको परिकल्पनाका साथ नगरपालिका बोर्ड अघि बढेको बताएका छन् । आफ्नो नगरलाई भ्रष्टचारमुक्त नगरका रुपमा मुलुकभर चिनाउने प्रतिवद्धता जनाउँदै उनले अभियानमा साथ दिन सम्पूर्ण जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई अनुरोध पनि गरेका छन् । 

सम्मान र पुरस्कार वितरण

बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रमका बीचमा नगरकापालिकाको तर्फबाट वडा नं.१ देखि ९ सम्मका सबै वडा नागरिक मञ्चका संयोजकहरुलाई सम्मान गरिएको छ । 

त्यस्तै खेलकुदको विकास र प्रवद्र्वनमा महत्वपूर्ण योगदान पुर्याए वापत फूटबल प्रशिक्षक पूर्व राष्ट्रिय खेलाडी कनकाई ३ निवासी सन्तबहादुर रायमाझीलाई कनकाई स्पोर्टस् एम्बास्टरद्वारा विभुषित गरी कदरपत्रले सम्मान गरिएको छ ।

यसैगरी, कनकाई नगरपालिकाका कर्मचारी लक्ष्मी अधिकारी र भोजराज आचार्यलाई जनही नगद ७ हजार ५०० रुपैयाँसहित प्रशंसा पत्रले सम्मान गरिएको छ । 

बजेट सार्वजनिक गर्ने कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नं. ४ का नवनिर्वाचित सांसद एलपी साँवाले सम्मानित र पुरस्कृत सबैलाई सम्मान पत्र प्रदान गरेका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद साँवाले स्थानीय निकायले गर्न नसकेका विकास निर्माणलगायतका विभिन्न जिम्मेवारीहरु पूरा गर्दै समृद्ध समाजको निर्माणमा सधैं क्रियाशील रहने प्रतिवद्धता जनाए ।  

नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाईंले शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यकारी अधिकृत देवेन्द्र कार्कीले गरेका थिए । 

कार्यक्रममा क्षेत्र नं.४ अन्तरत प्रदेशसभाका सदस्यहरु झलकसिंह दर्लामी मगर र हिरा थापाले पनि शुभकामना मन्तव्य राखेका थिए ।   

प्रतिकृया दिनुहोस