शिवसतासी नगरपालिकाद्वारा नवनिर्वाचित सांसदलाई सम्मान


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,पौष , ४ 05:38:54

30900-20171219053854.jpg

दूधे । शिवसतासी नगरपालिकाले सोमबार नगरपालिकाको भवनमा एक कार्यक्रमको आयोजना गरेर झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभामा निर्वाचित सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । 

प्रतिनिधिसभा सदस्यमा निर्वाचित एलपी साँवा लिम्बू र प्रदेशसभाका सदस्यहरु झलकसिंह दर्लामी र हिरा थापालाई नगरपालिकाले स्वागत तथा सम्मान गरेको हो । साँवा र थापा नेकपा एमालेका नेता हुन् भने दर्लामी नेकपा माओवादी केन्द्रका नेता हुन् । 

नगरपालिका प्रमुख चन्द्रकुमार शेर्माको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख भोजकुमारी नेपालले कार्यक्रमको बारेमा प्रष्ट पार्र्दै स्वागत मन्तव्य राखेकी थिइन् । 

नगरप्रमुख शेर्माले तीनै जना नवनिर्वाचित सांसद सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरे । सम्मान पश्चात कार्यक्रममा बोल्दै नगरप्रमुख शेर्माले जनताबाट प्राप्त जनमतलाई सम्मान गर्न र झापाको विकास, परिवर्तन र समृद्धिका निम्ति आफ्ना पहल कदमीलाई अघि बढाउन रत्तिभर खुट्टा नकमाउन आग्रह गरे । 

कार्यक्रममा शेर्माले स्थानीय निकाय वा सरकारले मात्र ठूलो विकासका योजनाहरु सञ्चालन गर्न नसक्ने भएकाले प्रदेश र केन्द्र सरकारसम्म घच्घच्याउन आवश्यक रहेको औंल्याए । 

शिवसतासी नगर क्षेत्र छोएर बग्ने ठूला नदीले वर्षेनी पुर्याउँदै आइरहेको क्षति र समस्यासहित सडक, बिजुली, ग्राभेल, कालोपत्रे, पूल, कल्र्भट, विद्यालय पूर्वाधार, यातायात र स्वास्थ्य संस्थाको पहुँचलाई ग्रामीण क्षेत्रसम्म जोड्न, कृषकलाई मलखाद, बजार व्यस्थापन र उपकरणहरुको प्रबन्धजस्ता पक्षमा लाग्न प्रदेश र संघीय सांसद कुरा पुग्नेमा नगरप्रमुख शेर्माले विश्वाश व्यक्त गरे । 

प्रतिकृया दिनुहोस