साँझ परेपछि...


अमित संग्रौला , प्रकाशित मिति : २०७४ ,मंसिर , २६ 12:31:57

कविता

30788-20171212123157.jpg

इन्द्रेणी जस्तै कपाल पारेर 
छोटा छोटा पहिरनमा सजिएर 
गुलावी ओठ र मन्द मुस्कानसँगै 
आउँछन् साँझपखमा नौटंकी देखाउन 
कति धेरै आसत्ती छन् 


म देखेर अचम्मित हुन्छु 
चहारिरहन्छन भट्टी पसलतिर 
हाँस्छन रुन्छन् ठट्टा गर्छन् 
स्वाट्ट पार्दै बियरको चुस्कीसँगै 
आफ्ना सबै पीडाहरु भुल्छन् 
रक्सी र यौवनकै वरिपरि 
घुमिरहन्छ उनीहरुको जीवन 
बढो गजब तरिकाबाट 

कहिलेकाहीँ विरक्तिएर आउँछ 
उनीहरुले जिइरहेको जिन्दगी देखेर
जसले वेश्याको रुप धारण गरेर 
हिडें ती नारीहरु आत्मा र परमात्माको 
व्याख्या गर्दै हिंडेको पाइयो 
र , 
जो आफू महात्मा पुजारी पण्डित ठान्छन् 
ती व्यक्तिहरु वेश्याकै वरिपरि नाचिरहेका छन् 

यतिखेर 
साँझपखमा नौटंकी देखाइरहेका छन् 
भट्टीमा टेबुलहरु छन्, कुर्सीहरु छन् 
थरिथरिका खाना प्रस्ताव गर्छिन साहुनी 
उनको व्यस्तता देखेर 
सहायकको भूमिका खेल्छन् साहु बा 
यो ठाउँमा विभिन्न विचारधारा 
भएका मानिसहरु आउँछन् 
र, 
एक अर्कासँग खुसी साटासाट गर्छन् 
साँझपरेपछि 
यस्तै हुँदोरहेछ अचेल भट्टीपसल तिर ।


                                                                  (बिर्तामोड, झापा) 
 

प्रतिकृया दिनुहोस