संविधानको भावनाअनुसार नै ३३ प्रतिशत महिला सरकारमा हुनुपर्छ- पवित्रा निरौला


अनलाइन, प्रकाशित मिति : २०७४ ,मंसिर , २६ 11:38:47

30783-20171212113847.jpg

झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि समाका लागि निर्वाचित पवित्रा निरौला समग्र एक नम्बर प्रदेशकै पहिलो महिला निर्वाचित सदस्य हुन्। एमाले नेतृ निरौलाले झापा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उद्धव थापालाई १३ हजार भन्दा बढी मतान्तरले हराउँदै निर्वाचित भएकी हुन्। निरौलाले ४५ हजार ८ सय १७ मत ल्याएर विजयी भइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका थापाले ३२०५० मत ल्याए।

पुरुष उम्मेदवार हराउनभयो, कस्तो लागिरहेको छ?

खुसी लागेको छ। नेपाली समाजमा महिला धेरै पछि परेका छन्। त्यसैले हामीले प्रतिष्पर्धा महिला–महिला अनि पुरुष–पुरुषबीच हुनुपर्छ भन्ने आवाज उठाउँदै आएका छौं।

तर अझै त्यस्तो अवस्था बनिसकेको छैन। त्यही भएर धेरै कुरामा पछाडि हुँदाहुँदै पनि महिलाले पुरुषसँग प्रतिष्पर्धा गर्नु परेको छ। मैले पनि पुरुषसँगै चुनावी प्रतिष्पर्धा गरें।

सबै साथीहरु नेता, कार्यकता र मतदातको सहयोगले जितेकी छु। धेरै खुसी लागेको छ।

तपाईँ कसरी राजनीति लाग्नुभयो?

२०३५ साल दमक क्याम्पस पढ्दा नै म अनेरास्ववियूको राजनीतिमा लागेकी हुँ। सामान्य परिवारबाट आएकाले आर्थिक समस्यादेखि अनेक कष्ट झेलेकी छु। यी कुराबाट कम्युनिष्ट पार्टीले मात्र मुक्ति दिन्छ भन्ने ठानेर कम्युनिष्टप्रति आकर्षित भएँ।

क्याम्पसको पढाइ सकेर अखिल नेपाल महिला संघको गाउँ तयारी समिति अध्यक्ष भएँ।

२०३९ सालमा अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाउन लाग्दा म पक्राउ परें। २७ दिनसम्म हिरासतमा बसेर यातना भोगें। तीन वर्ष दमक जेलमा परें।

२०४४ सालमा अखिल नेपाल महिला संघ झापाकी पहिलो निर्वाचित अध्यक्ष भएँ। त्यतिबेला धेरै काम गरेपछि मात्र सदस्यता पाइन्थ्यो। २०४४ सालमा नेकपा मालेकोे सदस्यता पाएँ।
अखिल नेपाल महिला संघको पहिलो राष्ट्रिय सम्मेलनबाट २०४६ सालमा केन्द्रीय सदस्य भएँ।

अहिले १ नम्बर प्रदेश कमिटीको प्रदेश सदस्य छु।

लामो समय पार्टीमा लाग्नुभएछ, चुनावमा टिकट पाउन कत्तिको गाह्रो भयो, के–के समस्या आए?

खासै गाह्रो अप्ठेरो भएन। यसअघि २०७० सालमा मैले टिकट पाएकी थिएँ, त्यो पनि अचानक।

त्यतिबेला न चुनाव कसरी जित्ने ज्ञान थियो न अनुभव।

तैपनि मेहनत गरौं भन्ने लाग्यो। साथीहरुले मेहनत गरे पनि। तर सात सय मतले पराजित भएँ।

पहिला सात क्षेत्र रहेको झापा पाँच क्षेत्र भएपछि यसपालि टिकट पाउँदिन कि जस्तो लागेको थियो। म पर्दिनँ होला भन्ने सोचेकी थिएँ।

तर जिल्ला कमिटीका साथीहरूले अनि यहाँका मतदाताले पनि यसपालि झापाबाट महिलालाई जिताउनुपर्छ भन्नुभयो। यसअघि जितिसकेका प्रेमबहादु गिरीले पनि तपाईँ चुनाव लड्नुस् भनेपछि ढुक्क भएँ। मलाई टिकट पाउन केही गाह्रो भएन।

प्रचारप्रसार कसरी गर्नुभयो? आर्थिक स्रोत कसरी जुटाउनु भयो?

चुनावअघि केहीले महिलासँग पैसा हुन्न, खर्च गर्न सक्दैन अनि कसरी जित्छन् चुनाव पनि भने।

मेरो जवाफ हुन्थ्यो–म एउटा सामान्य परिवारकी मान्छे हुँ। हो, म धेरै पैसा खर्च गर्न सक्दिनँ। किनकी धेरै खर्च गरें भने जितेपछि त्यो खर्च कसरी उठाउने?

यसपालि टोपी, भेष्ट ठूला ब्यानर बनाउन नपर्ने भएकाले धेरै खर्च गर्न परेन। जुन जुन ठाउँमा गएँ। त्यहाँका साथीहरुले खानेबस्ने व्यवस्था मिलाए। गाडी, पेट्रोल र डिजेलको खर्च केही सहयोगीले दिएको पैसाले पुग्यो। मलाई ऋण लागेन।

महिला भएकै कारण प्रचारप्रसार केही समस्या भोग्नुपर्‍यो?

चुनावी प्रचारमा हिँड्दा मैले कहिल्यै भएकाले समस्या भोग्नु परेन। हिँड्न म अरुभन्दा छिटो नै थिएँ। राप्रपासहितका तीन दलको गठबन्धनका साथीहरुले मलाई ‘म महिला हुँ, त्यही भएर कमजोर छु’ भन्ने कहिल्यै महशुस हुनै दिनुभएन।

तपाईँका विचारमा अहिले नेपाली महिलाले भोग्नु परेका मुख्य समस्या के–के हुन्?

घरभित्र र घरबाहिर महिलाले भोग्नु पर्ने समस्या धेरै छन्। महिलालाई घरको सबै कामको जिम्मा छ, भाँडा माझ्नेदेखि बच्चा हुर्काउनेसम्म। यस्ता अनुत्पादक कामको कुनै आर्थिक मूल्य छैन।

अझै पनि छोरीहरूले पढ्न पाएका छैनन्। नभएपछि रोजगारी पाउने कुरा भएन। पैसा कमाउन नसकेपछि आर्थिक अधिकार हुँदैन। सबै आर्थिक निर्णय पुरुषले गर्छन्। पैसा नभएपछि महिलाले आफैं केही निर्णय गर्न पाएका छैनन्।

अर्कातिर बाटो हिँड्दा महिला पनिले असुरक्षा महशुस हुन्छ। कोही पनि महिला साँझ घर आउँदा म सुरक्षित छु, निर्धक्क भएर हिँड्न सक्छु भनेर ढुक्क हुन सक्ने वातावरण छैन।

यी समस्या समाधान गर्न संसदले के–कस्ता कानुन बनाउन आवश्यक छ?

मलाई त बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय हुनुपर्छ भन्ने लाग्छ। सात वर्षीया बालिकालाई बलात्कार गरेको मान्छे केही दिनमा छाती फुलाएर हिँड्छ। चार–पाँच जनाले युवती बलात्कार गरेर मार्छन्। त्यस्तालाई सामान्य कारबाही गरेर छोडिन्छ।

अब यस्ता अपराधीलाई कठोर कानुन बनाउनुपर्छ।

अर्कातिर सामाजिक समस्या छ, कति महिलालाई अहिले पनि बोक्सीको आरोपमा दिसा खुवाइन्छ, छाउपडीका नाममा गोठमा बस्नुपर्छ। यी कुसंस्कार हटाउन कडा कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्छ।

आर्थिक अधिकार समान बनाउन छोराछोरीलाई समान अंश दिनुपर्छ। यो कानुन त बनेको छ तर व्यवहारिक कार्यन्वयन भएको छैन। छोराछोरीलाई बराबरी अंश दिनेबित्तिकै महिलाको आर्थिक हैसियत बढ्छ। त्यसले आत्मविश्वास बढाउँछ।

योसँगै महिलालाई सामाजिक रूपमा पनि स्थापित गर्नुपर्छ। गाउँटोलमा बाटो बनाउँदा होस् वा धारा जोड्दा कसैले महिलालाई सोध्दैनन्। यस्ता कुरामा पनि महिलाको सक्रिय भूमिका खोजेर समाजमा स्थापित गर्नुपर्छ।

संसदमा गएर के–के विषयमा कुरा उठाउनुहुन्छ?

म संसदमा महिलाका मात्र नभए समाजका सबै विषयमा कुरा उठाउनेछु। भ्रष्टाचार अन्त्य गरी सुशासनमार्फत देशको सम्वृद्धि बनाउनु पर्छ भन्ने लाग्छ। कनिका छरेजस्तो नभई प्राथमिकताका आधारमा ठोस योजना बनाएर देशको विकास गर्नुपर्छ भन्ने कुरा उठाउँछु।

महिलालाईचाहिँ कुनै निश्चित अवधिसम्म सबै क्षेत्रमा सकारात्मक विभेदमार्फत् पुरुष बराबरको हैसियतमा ल्याउनुपर्छ। कानुनहरु त्यसै अनुसार बन्नुपर्छ भन्ने कुरा राख्नेछु। त्यस्ता कानुन बनाउन पहल गर्नेछु।

सरकारमा कम महिला सहभागी गराउने चलन छ जबकी दोस्रो जनआन्दोलनपछि ‘स्पिरिट’ सरकारका हरेक अंगमा ३३ प्रतिशत महिला हुनुपर्छ भन्ने छ, मन्त्रिमण्डलमा महिला सहभागिता बारे के भन्नुहुन्छ?

हामीले चाहेको कुरा गर्न सांसद बनेरमात्र सम्भव छैन।

सरकारमा सहभागी हुनुपर्छ। संविधानको भावनाअनुसार नै ३३ प्रतिशत महिला सरकारमा हुनुपर्छ। जुनसुकै पार्टीबाट जितेर आए पनि हामी एकजुट भएर सरकारमा महिला सहभागिताका लागि जोडदार आवाज उठाउनेछौं।

प्रतिकृया दिनुहोस