गढी माविका दृष्टिबिहीन विद्यार्थीलाई ज्याकेट र ब्रेल पेपर


साझामञ्च, प्रकाशित मिति : २०७४ ,मंसिर , २१ 13:10:56

30544-20171207131056.jpg

पाँचथर । फिदिम नगरपालिका ४ गढीस्थित गढी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिबिहीन बालबालिकालाई ज्याकेट र ब्रेल पेपर वितरण गरिएको छ । 
समाजसेवी शालिकराम दाहालले दृष्टिविहीन विद्यार्थीलाई न्यानोको लागि ज्याकेट र ब्रेल पेपर प्रदान गरेका हुन् ।
सिन्धुलीमा जन्मिएर बिराटनगरमा हुर्किएका र हाल अष्ट्रेलियामा बसोबास गर्दै आएका समाजसेवी शालिकराम दाहालले पत्रकार शाहीमान राईमार्फत १६ जना दृष्टिविहीन बालबालिकालाई ज्याकेट र ब्रेल पेपर उपलब्ध गराएका हुन् । 

विद्यालयले बुधबार आयोजना गरेको ज्याकेट तथा ब्रेल पेपर हस्तान्तरण कार्यक्रममा फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङले दृष्टिविहीन बालबालिकालाई ज्याकेट र शिक्षिका हुमादेवी खनाललाई १० रिम ब्रेलपेपर हस्तान्तरण गरेका हुन् । ब्रेलपेपर दृष्टिविहीन विद्यार्थीले ब्रेल लिपि लेख्नका लागि प्रयोग गर्ने कागज हो । गढी माविमा ७ जना छात्र र ९ जना छात्रा गरी १६ जना दृष्टिविहीन विद्यार्थी छन् ।

६ वर्षअघि कान्तिपुर दैनिकमा आवद्ध पत्रकार राइले भोजपुरबाट ‘१० पाथी कोदोमा घरबारी लिलाम’ शीर्षक समाचार लेखेर दृष्टिविहीनको जग्गा फिर्ता गराउँदा समाजसेवी दाहालले २० हजार रुपैंयाँ प्रदान गरेका थिए । 

प्रतिकृया दिनुहोस