तारजाली तथा कडा सुरक्षा बीच मतगणना गरिने


साझामञ्च, प्रकाशित मिति : २०७४ ,मंसिर , २१ 13:10:05

30543-20171207131005.jpg

पाँचथर । मंसीर १० गते सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना आज बिहीबार साँझ पाँच बजेदेखि हुने भएको छ । 

मत गणनाका लागि पाँचथरमा सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुधबार साँझ सर्वदलीय बैठकको आयोजना गरी मतगणनाका आचार संहिता तयारी गर्नुका साथै मतगणनाको सबै तयारी पूरा भएको जानकारी दिएको हो । 
 
निर्वाचनमा सहभागी राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश मनोज केसीले मतगणना स्थललाई कडा सुरक्षाका बीच राख्ने भन्दै मतगणनामा सहभागी हुने प्रतिनिधिहरुको शरीर खानतलासी गरिने बताए ।

मतगणना स्थलमा प्रत्येक दलका ३ जना प्रतिनिधिहरु सहभागी गराइने छ भने २ स्थानमा मत गणना गर्ने तयारी भएको छ । मतपत्रको सुरक्षालाई मजबुत बनाउन जिल्ला समन्वय समितिको कवर्डहल भित्र तार जालीले अर्को घेरा लगाइएको छ । दलका प्रतिनिधिहरु तारको घेरा बाहिर बसेर काम गर्नेछन् । 

जिल्लामा प्रतिनिधिसभा सदस्यको एक र प्रदेशसभा सदस्यको दुई पदको मतगणनाको लागि जिल्ला निर्वाचन कार्यालयले मतगणना हुने स्थलमा सीसी टिभी जडान गरेको छ । तारजाली भित्र गणकले मत गणना गर्नेछन् भने तारजाली बाहिर सुरक्षाकर्मी र दलका प्रतिनिधि, पर्यवेक्षक, पत्रकार रहने ब्यवस्था मिलाइएको छ ।

स्थानीय तह निर्वाचनमा मतगणना स्थलमा तारजाली नलगाउँदा केही जिल्लाहरुमा अप्रिय घटना भएपछि यसपटक पाँचथरसहित अधिकांश जिल्लामा तारजाली लगाएर मत गणना गर्ने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ । 

प्रतिकृया दिनुहोस