सुकुम्बासीका नाममा राजनीति गर्ने परम्परालाई अब हामी तोड्नेछौंः गोपालचन्द्र बुढाथोकी


प्रकाशित मिति : २०७४ ,मंसिर , १८ 18:21:00

30478-20171204182100.jpg

झापा क्षेत्र नं. १ अन्तरगत प्रदेशसभा सदस्यमा वाम गठबन्धन तथा राप्रपाका साझा उम्मेदवार गोपालचन्द्र बुढाथोकीसँग आसन्न निर्वाचनको सेरोफेरोमा केन्द्रित रहेर गरिएको कुराकानीको विशेष अंश ।

तपाईंको राजनीतिक यात्रा कहिलेबाट हुरु भयो ?

मेरो राजनीतिक यात्रा २०३५ साल चैतबाट धुलाबारी माविमा अध्ययन गर्दै गर्दा अनेरास्वावियूको संगठनमार्फत प्रवेश गरेको हँु । २०३६ सालमा एसएलसी पास गरेपछि मेची क्यापम्समा अध्ययन शुरु गरेँ । त्यतिखेर विद्यार्थी आन्दोलन तत्कालिन पञ्चायती व्यवस्था विरुद्धमा उत्रिएको थियो । तिनै आन्दोलनमार्फत् मेची क्यापम्पस अनेरास्ववियूको प्रारम्भिक कमिटीमा प्रवेश गरेँ । त्यसपछि निरन्तर राजनीतिमा सक्रिय छु । अध्ययन पछि म यातायात क्षेत्रमा सक्रिय भएँ । काम पनि गर्न थालेँ । सँगसँगै मजदूरहरुको हितका लागि संगठन निर्माण गर्दै अगाडि बढेँ ।

पारिवारिक पृष्ठभूमि र आर्थिक स्थितिका बारेमा भनिदिनोस् न ।

हामी एक बाबुका चारभाइ छोरा । तीन विगाहा जमिन छ । त्यसका अतिरिक्त म आफैंले आर्जन गरेको धुलाबारीमा एकतले घर छ । त्योभन्दा बाहेक मसँग केही छैन ।

तपाईंका चुनावी एजेण्डा के के हुन् ?

मेरो एजेण्डा भनेको नेकपा एमाले, त्यसमाथि वाम गठबन्धनले अघि सारेका एजेण्डा नै हुन् । खासगरी नेपालमा राजनीतिक परिवर्तन भयो । जनताका निमित्त राहत दिने, जनताका समस्या समाधान गर्ने र जनताको सरकार आएको छैन । जनताको तहसम्म हामीले अधिकार पुर्याएको छैन । नयाँ संविधानले अवधारणा गरेको संरचना अनुसार वाम गठबन्धनले अब सरकार बनाउँछ । त्यसपछि मजदूरका समस्या समाधान हुनेछन् । किसानका समस्या समाधान हुनेछन् । कृषिमा व्यावसायिक प्रवद्र्धन हुनेछ ।  हाम्रो भूमि नेपाल सुहाउँदो हुनुपर्छ । हामी कृषि उत्पादनलाई जोडदिने सन्दर्भमा विदेशीको नक्कल गरिरहेका छौ । विदेशी मोडल लिन सकिन्छ । हाम्रो भूगोलसँग सम्बन्धित, जीवनसँग सुहाउँदो हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । 

मजदूरहरुका समस्या त्यस्तै छन् । राष्ट्रिय पर्वको रुपमा मनाइरहेको मतदान गर्ने दिन पनि मजदूरहरुले विदा नपाउने परिस्थिति छ । मतदान गर्न जाने दिन पनि हाजिरा नपाउने अवस्था छ । मालिकले भोट हाल्न जान पाउने, श्रमिकले जान नपाउने समस्या छ । 

क्षेत्र नम्बर १ का हरेक मतदाताको समस्यासँग म जुधेको छु । सुकुम्बासी समस्या यहाँको प्रमुख समस्या हो । भूमिको अवस्था एकै प्रकृतिको छैन । यस्ता समस्या समाधान गर्न म प्रतिबद्ध छु । अब क्षेत्र नम्बर १ मा कोही पनि सुकुम्बासी हुनुपर्ने छैन । मैले यो समाधानका लागि एउटा खाका तयार पारेको छु । प्रदेशसभामा निर्वाचित भइसकेपछि नियम, कानूनको परिधि भित्र रहेर समाधानको बाटो खोज्न प्रयत्नशिल रहनेछु । सुकुम्बासीका नाममा राजनीति गरिने परम्परालाई अब हामी तोड्नेछौं ।

मतदाताले तपाईंलाई नै किन भोट दिने ?

पहिलो कुरा, मतदाताले मलाई नेकपा एमालेको नीति तथा सिद्धान्तको आधारमा मत दिने हो, म नेकपा एमालेको कार्यकता हुँ । वाम गठबन्धन पछि जनतामा उत्साह थपिएको छ । म वाम गठबन्धनको उम्मेदवार हुँ । म राजनीतिमा लागे पछि नै जनपक्षीय काम गर्दै आएको छु । जनमैत्री भूमिकामा आफूलाई प्रस्तुत गरेको छु । तर, राज्य जनमैत्री छैन, राज्य मजदूर मैत्री पनि छैन । राज्यले न्याय दिन सकेको छैन । अझै पनि राज्यका निकायहरु सुकिला मुकिलाहरुका लागि मात्र भएका छन् । गरीबको पक्षमा राज्य छैन । म जनताको पक्षमा उभिएको छु । हरेक जनताका समस्यामा म साथसाथै छु र प्रदेशसभामा निर्वाचित भएपछि जनताको पक्षमा उभिने छु ।

चुनाव जित्ने आधार के के छन् त ?

पहिलो कुरा त नेकपा एमालेको नीति, सिद्धान्त र विचारको आधारमा, दोस्रो कुरा म वाम गठबन्धनको उम्मेदवार हुँ । राजनीतिमा लागेदेखि निरन्तर जनताको बीचमा निष्पक्ष ढंगले काम गरिरहेको छु । अदालतबाट न्याय नपाएकाहरुलाई न्याय दिलाएको छु । अदालत पनि जनमैत्री छैन । अदालतमा निमुखाहरुको सुनवाई हुँदैन । 
विकासको सवालमा म जनताकै पक्षमा काम गरिरहेको छु । मैले जनताको काम गर्दा कसैको एक पैसा पनि खाएको छैन । मैले बरु जनतालाई सहयोग गरेको छु । जनतासँग मेरो घनिभूत सम्बन्ध छ । त्यसकारण जनताले मलाई माया गर्छन् भन्ने विश्वास लिएको छु ।

चुनाव जितेपछि विकासका योजना के छन् ?

विकासका योजना त धेरै छन् । चुनाव जितिसकेपछि विकासका योजनाहरुलाई पहिलो प्राथमिकताका साथ अगाडि बढाउने छौँ । प्रदेशसभाले के काम गर्छ, त्यसको अधिकार के हो ? अहिलेसम्म थाहा छैन । मैले जानकारी पाएसम्म प्रदेशसभाले नीति निर्माण गर्छ । नीति निर्माण नै मुख्य कुरा हो । नीति गलत बन्यो भने नतिजा पनि गलत निस्कन्छ ।

त्यसैले जनतालाई न्याय दिने खालको जनमैत्री नीति आवश्यक छ । यो क्षेत्रमा थुपै्र समस्याहरु छन् । मूल बाटाहरु सबै बिग्रेका छन् । इटाभट्टाबाट उत्तर दक्षिण, त्यस्तै धुलाबारीबाट पहाड जोड्ने बाटो अभावमा हामी पछाडि परेका छौँ । भद्रपुरबाट तिरिङ जोड्ने बाटो निर्माण गर्ने गरी हामीले योजनामा पारेका छौँ । काँकरभिट्टा मेची करिडोर निर्माण गर्ने गरिको योजना अघि सारेका छौँ । 

कांग्रेसको सरकारले यो योजनाको बजेट कटौती गरेको सुनिएको छ । त्यो बजेट के कारण कटौती भयो खोजी गर्नेछौँ । क्षेत्रको विकासका निम्ति केन्द्र र प्रदेशसँग समन्वय गरेर अघि बढ्ने छौँ । सरकारले ल्याउने बजेट लक्षित समुदायसम्म पुग्न सकेको छैन । त्यसलाई पुर्याउन विधि बनाउने छौँ । 

तपाईँ कसलाई प्रतिस्पर्धी ठान्नुहुन्छ ?

मैले प्रतिष्पर्धी त कसैलाई ठानेको छैन । विचारको प्रतिष्पर्धा छ । हामी कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु समाजवादको स्थापना गर्दै मुलुकलाई समृद्ध नेपाल बनाउन चाहन्छौँ । समृद्धि हाम्रो लक्ष्य हो । समृद्धि प्रात्ति गर्न भूमि र परिवेश सुहाउँदो हुनुपर्छ । त्यसैले हामी यसका निमित्त लाग्ने छौँ ।

चुनाव पछि पार्टी एकीकरण हुन्छ भन्ने विश्वास कसरी दिलाउनु हुन्छ ?

नेताहरुको एकीकरण गर्ने भूमिका आशलाग्दो नै छ । मैले केपी कमरेडलाई पनि सोधेको छु । प्रचण्डलाई सोध्नु हुने साथीहरुले पनि त्यही भन्नु भाको छ । मुलुकका निम्ति चिन्तित भएर राजनीति गरेका हुन् भने पार्टी एकीकरण हुन्छ । समृद्ध मुलुकको परिकल्पना गरेर नेताहरु जुन हिसाबले अघि बढ्नु भएको छ । यसमा कुनै द्विविधा र शंका छैन । पार्टी एकीकरण भइसकेको अवस्था छ । त्यसैले एकता हुन्छ भन्नेमा म विश्वस्त छु ।
 
कम्युनिस्ट सरकार आए मुलुकमा अधिनायकवाद हावी हुन्छ भन्ने विपक्षीको आरोप छ नि ?

अधिनायकवाद केलाई भन्छन् मलाई थाहा छैन । कांग्रेसको ब्याख्या के हो त्यो थाहा छैन । नेपालाई समृद्ध बनाउने कुरा अधिनायकवाद हो भने कांग्रेसलाई प्रश्न सोध्नु पर्ने हुन्छ । लोकतान्त्रिक संविधान हामीले बनाएको हौँ । खासगरी वहुमत कम्युनिस्ट पार्टीका सदस्यहरुले हस्ताक्षर गरेर यो दीगो लोकतान्त्रिक संविधान बनाएका छौँ । आफैंले बनाएको संविधान विपरित हाम्रो पार्टी जाँदैन । हामी आफैंले जन्माएको उत्तराधिकारी छोरालाई मार्दैनौँ । त्यसैले तिनीहरु (काँग्रेस)को जस्तो अधिनायकवाद हाम्रो पार्टीमा छैन । हामीसँग उन्तत किसिमको जनवाद छ ।
 
तपाईले चुनावी अंकगणितीयलाइ कसरी हेर्नु भएको छ  ?

म ज्योतिष होइन । तर पनि म भोट जित्छु भन्ने आधार चाहिँ हाम्रो टोल टोलमा रहेका कमरेड साथीहरुको रिपोर्टिङ तथा जनताले जुन किसिमको हामीप्रति उत्साह देखाउनु भएको छ, यो जितको आधार पनि हो । म चिया दोकानमा गरेको मतको हिसाब गर्दिन । मत टोलमा छ । त्यो मत मेरो हो । किनकी नेकपा एमाले मत नै टोलमा छ । यो टोलका जनताले बनाएको पार्टी हो । 

अन्त्यमा आम मतदातालाई केही सन्देश दिनुहुन्छ कि ।

आदरणीय सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरु मजदुर, किसान, युवालगायत आम मतदातालाई के भन्न चाहन्छु भने हामी यो मुलुकको समृद्धि, उन्नति र प्रगतिका निमित्त शोषित पीडित जनताको हितका निमित्त उनीहरुले राज्यबाट आधारभूत सेवा सुविधा पाउनु पर्छ भनेर हामी जनताको बीचमा छौँ । जनतासँग एकाकर भएर लड्यौं, आन्दोलनमा समाहित भयौँ । राज्य सञ्चालन गर्ने ठाउँमा पनि पुग्यौं । तर बहुमत नआएका कारण हामीले भनेको जस्तो नीति निर्माण बनाउन सकेका छैनौँ । त्यसैले यसपालि जनताले वाम गठबन्धनलाई बहुमत दिनुपर्छ । हामीलाई यो मुलुक बनाउन सकिन्छ भन्ने लागेको छ । यो चुनाव मुलुकलाई कस्तो बनाउने भन्ने हो । 

प्रस्तुति : अर्जुन कार्की / झुलन रेग्मी

प्रतिकृया दिनुहोस