मेरो कोही प्रतिस्पर्धी छैनन् : श्रीप्रसाद मैनाली


प्रकाशित मिति : २०७४ ,मंसिर , १८ 18:12:20

30477-20171204181220.jpg

झापा क्षेत्र नं. १ अन्तरगत प्रदेशसभा सदस्यमा वाम गठबन्धन तथा राप्रपाका साझा उम्मेदवार श्रीपैसाद मैनालीसँग आसन्न निर्वाचनको सेरोफेरोमा केन्द्रित रहेर गरिएको कुराकानीको विशेष अंश ।

तपाईंको राजनीतिक यात्राबारे बताई दिनुहोस् न ।

मेरो राजनीतिक यात्रा २०२८ सालबाट सुरु भएको हो । २०२८ सालमा झापा आन्दोलन भयो । त्यही आन्दोलनबाट मेरो राजनीतिक यात्रा सुरु भएको हो । मेरा गुरु सूर्य कन्दङ्वा, नन्दकुमार प्रसाईंलगायतका कम्युनिस्ट नेताहरुको अगुवाईमा आन्दोलन भएको थियो । कक्षा ९ मा पढ्दाखेरि म कम्युनिस्ट आन्दोलनमा लागेको व्यक्ति हँु ।

तपाईको आर्थिक र शैक्षिक अवस्था ?

म सकुम्बासी हुँ । सानो बारी थियो । त्यो पनि मैले छाडेर म काँकरभिट्टा आएको थिएँ । मेरो नाममा केही पनि थिएन । मैले आइएसम्मको अध्ययन गरेको छु ।

तपाईंका एजेण्डा के के छन् ?

मुख्य कुरा हामी कम्युनिस्ट आन्दोलनमा लाग्यौँ । हामी श्रमिक, मजदूर र सर्वहारा वर्गको उत्थानका लागि लाग्यौँ । जुन किसिमको हाम्रो हँसिया र हथौडा झण्डा छ, त्यही झण्डा एउटै बाबुका दुई सन्तान हुन् । शान्ति समृद्धि र स्थायी सरकार आजको आवश्यकता हो ।

मतदाताले तपाईंलाई नै किन भोट दिने ?

म कम्युनिस्ट पार्टीमा लागेको व्यक्ति हुँ । मैले २०३६ सालदेखि मजदूर सेक्टरमा काम गरेँ । मजदूरका हरेक समस्यासँग जुधेको छु । मैले मजदूरका कुरा बुझेको छु । त्यस पछाडि म २०५२ सालदेखि यातायात क्षेत्रमा काम गरेँ । जुन मेची बस व्यवसायी संघमा काम गरेँ, मैले आठवटा गाडीबाट ८ सयवटा गाडी बनाएँ । धैरै मान्छेलाई रोजगारी दिएको छु । भ्रष्टाचार गरेको छैन । म एउटा सामाजिक मान्छे पनि हुँ । राष्ट्रियस्तरमा एउटा संगठनको अध्यक्षको जिम्मेवारी पनि सम्हालेको छु । त्यस कारण मतदाताले मलाई विश्वास गरेका छन् ।

जीतका आधार के के छन् ?

जित्ने आधार त धेरै छन् । नेपाली कांग्रेसले दुईपटक बहुमत ल्यायो । केही काम गर्न सकेन । जनताले जुन अपेक्षा गरेका थिए पूरा हुनै सकेनन् । नौ–नौ महिनामा सरकार परिवर्तन भए । जम्बो मन्त्रिमण्डल बनाउने, अदालतमा राजनीति गर्ने शिवाय कांग्रेसले केही गरेन । 

तर, त्यसको विकल्पमा २०५१ सालमा एमाले अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारले आफ्नो गाउँ आफैँ बनाऔँ, ज्येष्ठ नागरिकलाई भत्ता दिएर सम्मान गर्ने लगायतका जनप्रिय कामको थालनी भयो । आज पनि त्यसले निरन्तरता पाएको छ । 

२०७४ सालमा आएर नेकपा एमालेले राष्ट्रियताको मुद्दालाई जोडतोडका साथ लागू गर्यो । नेपाली कांग्रेसले संविधान जारी गर्न सकेन । मधेस आन्दोलन भयो । हामी त्यसबेला राष्ट्रियताको पक्षमा उभियौँ । त्यसबेला नेपाली जनताले नेकपा एमालेलाई साथ दिए । 

केपी ओलीको सरकारले चीनसँगको पारवहन सम्झौता गर्यो । त्यो सम्झौताले पनि नेपालको शीर उठाउने काम गरेको छ । कम्युनिस्टको सरकारको अहिलेसम्म बहुमत आएको छैन । हामीले जनताको चाहनाअनुरुप काम गर्न सकेका छैनौ । 

त्यसकारण बहुमतको सरकारका लागि आम मतदाताले वाम गठबन्धनलाई मत दिनुहुनेछ । श्रमिक, सर्वहारा र सुकुम्बासीहरुको पार्टीको झण्डा हँसिया हथौडा हामी सिंहदरबारमा राख्न चाहन्छौँ । एकचोटी हामीलाई मतदान गर्नुहोस् । गर्न सकेनौं भनेमात्र विकल्प खोज्नुहोस् ।

बृद्धभत्ताको अवधारणा त कांग्रेसले अघि सारेको भन्छन् नि ?

सुरुवात नेकपा एमालेले गरेको हो । यो कुरा प्रष्ट नै छ । मनमोहन अधिकारीको पालामा मासिक १०० रुपैयाँको दरले बृद्धभत्ता सुरु गरिएको थियो । अहिले २ हजार पुर्याइएको छ । हाम्रो सरकार बनेपछि त्यसलाई बढाएर ५ हजार पुर्याउँछौँ ।

तपाईं कसलाई प्रतिष्पर्धी ठान्नुहुन्छ ?

मेरो प्रतिस्पर्धी नै छैनन् ।

चुनाव पछि बाम एकता हुन्छ भनेर कसरी विश्वास गर्ने ?

पहिलो कुरा त नेपालमा छरिएर रहेका कम्युनिस्टहरु एक्लाएक्लै ५० वर्ष लडे । देशी विदेशी शक्तिहरुले हामीलाई फुटाए । अहिले नेपाली जनताको चाहना अनुसार असोज १७ गते केपी ओली र प्रचण्डले जुन ऐतिहासिक कदम चाल्नु भयो, अब हामी कम्युनिस्टहरु मिल्नुपर्छ भन्ने महसुस भयो । अनि वाम एकताको घोषणा भयो । टोलटोलदेखि वाम कार्यकर्ताहरु एकजुट भएका छन् । अब एकता हुनेमा दुईमत छैन । जो एकताको विरुद्धमा उभिन्छ, उ आफैँ पाखा लाग्छ । कम्युनिस्ट नेताहरुले एकताको उद्घोष गरिसकेका छन् र जनताले त्यसलाई अनुमोदन पनि गरिसकेका छन् ।

अबको लडाईं कांग्रेससँग मात्र हो ?

यो राष्ट्रवादीको लडाईं हो । राष्ट्रवादी शक्तिको रुपमा हामी वामपन्थीहरु अगाडि बढेका छौ । कांग्रेसको विषयमा कुरा गर्नु नै गल्ती हो । कांग्रेसले कम्युनिस्ट सरकार आयो भने अधिनायकवाद हावी हुन्छ भनेर अनर्गल प्रचार गरिरहेको छ । लोकतन्त्र चाहिँ कांग्रेसले मात्र ल्याउँछ भनेर असत्य कुर गरिरहेको छ । तर नेपाली जनताले त्यो कुराको विश्वास गरेका छैनन् । हामी प्रजातन्त्र र संविधान कार्यान्वयन गर्नका लागि लड्यौँ । र, अब पनि लडिरहने छौँ । अब पाँच वर्ष होइन, दुई वर्षमै कम्युनिस्ट सरकारले परिवर्तनको आभाष गराउने छ ।

कम्युनिस्ट सरकार आए अधिनायकवाद हावी हुन्छ भन्ने विपक्षीको आरोप छ नि ?

यो त केटाकेटी कुरा हो । जो मान्छे प्रजातन्त्रका लागि लड्यो । २०२८ सालदेखि पञ्चायत विरुद्ध लड्यौँ, नेकपा माओवादीले जनयुद्ध लड्यो । अहिले एमाले राष्ट्रियताको पक्षमा उभिएको छ । यो सबै जनताले बुझेका छन् । त्यसैले यस्तो आरोप केटाकेटीले नै पत्याउँदैनन् । त्यो कुराको खण्डन गर्नुपर्ने आवश्यकता छैन । यो कुरा सुनेर जनता हाँस्ने मात्र छन् ।

तपार्इंको प्रदेशमा चुनावी अंक गणितीय हिसाब कसरी गर्नु भएको छ ?

मेरो प्रदेशमा हामी साढे आठ हजार बढी मतले अगाडि छौं । हिजो जुन मत आएको छ , त्यसलाई आधार मान्ने हो भने पनि हाम्रो जीत सुनिश्चित नै छ ।

अन्त्यमा, आम मतादातालाई के भन्न चाहन्छु भने पूर्वबाट सूर्यको किरण झुल्किसकेको छ । यो किरण देशैभर फैलिने छ । सूर्यबिना कोही पनि बाँच्न सक्तैन । नेपाली जनताले पनि त्यही आश गरेका छन् । सिंहदरबारमा हँसिया हथौडाको झण्डा गाडिने भएकाले सूर्य चिन्हमा मतदान गर्न आम मतदातालाई आग्रह गर्दछु ।                                                                                       

प्रस्तुति : अर्जुन कार्की / झुलन रेग्मी

प्रतिकृया दिनुहोस