झापाली सन्देशः समाजवादलाई भोट, दलाल पूँजीवादलाई चोट


विपि भट्टराई , प्रकाशित मिति : २०७४ ,मंसिर , १८ 14:42:05

30472-20171204144205.jpg

पैसाले जनमत तलमाथि जब पर्छ, त्यहाँ लोकतन्त्रको कुनै मर्म जीवित हुँदैन । आज निर्वाचनको मौन अवधिको संघारमा देश्व्यापी खबर एउटै छ । मौन अवधि होइन, अब मनी अवधी शुरु भयो भन्ने । 

पूँजीवादी व्यवस्थाले हरेक चिजलाई खरिद बिक्रीको माल देख्छ । हरेक कुरा खरिद बिक्री गर्न खोज्छ । हाम्रोजस्तो दलाल पूँजीवादी अर्थव्यवस्था भएको देशमा, अनुत्पादक पूँजी बजारमा अपारदर्शी र अकुत धन आर्जनको लागि सुरक्षित स्थान राजनीति बनेको छ । 

निर्वाचनमा त्यही धनको सदुपयोग र राजनीतिक आवरणमा फेरि त्यही धनको संकलन गर्नेहरुको बिगबिगी छ। जब राजनीतिकर्मीहरु पैसाको बलमा चुनाव जित्ने काममा लाग्छन् त्यहाँ राजनीतिको केन्द्रीय तत्व ‘जनताको सेवा’ विघटन हुन्छ र राजनीति सिर्फ व्यापार बन्छ । 

निर्वाचन त्यस्तो व्यापारको लाभ हानी छिनोफानो गर्ने हाटबजारमा परिणत हुन्छ । यसले राजनीतिमा लागेका केही मानिसलाई राम्रो रोजगार दिन्छ । यत्रतत्र देखिँदैछ, नमूना मतपत्र छपाइदेखि झण्डा निर्माणसम्म आम्दानीका श्रोत बन्छन् । यस्ता छोटे कमिसनको व्यापारले छोटे कार्यकर्ता पोसिन्छ्न । नीतिगत भ्रस्टाचार र ठूला आम्दानीका श्रोतमा भने निर्वाचन लड्ने उम्मेदवार स्वयम् लाग्छन् । यसरी दलालीतन्त्रको सानोदेखि ठूलो तस्करीसम्मको हिस्सा राजनीतिको प्राथमिक चासो बन्छ । 

अहिले हेरौं त्यही बनिरहेको छ । यसरी राजनीति व्यापार बन्न थालेपछी त्यसले जनताका समस्याबाट अलग हुन्छ । तसर्थ अब यो खाले खर्चिलो निर्वाचन प्रणालीकै विकल्प सोच्नुपर्ने भएको छ । यसका दुई वटा बाटा छन् । एक, यो निर्वाचन प्रणाली बदल्ने र दुई यही प्रणालीमा पनि जनतालाई भेडाबाख्रा ठानेर उनीहरुको मत किनिहालिन्छ नि भन्नेहरुलाई मतदाता सचेत भई निर्वाचनबाट हराइदिने । अर्थात् जनताले खर्चिला उम्मेदवार बहिस्कार गर्ने । 

जब राजनीतिक नेतृत्वले जनतामा भन्दा ज्यादा व्यापारीको अबैध हितलाई प्राथमिकतामा राख्छ र आम जनताको जो उपभोक्ता हो तिनको दैनिक जीवनमा सिदासिदी असर पर्छ । यसको असर जन्ताको आम्दानी घट्छ, रोजगारीको अवसर घट्छ । शिक्षा, स्वास्थ्य, यातायात महङ्गो हुन्छ र समग्र खर्चमा अत्याधिक वृद्धि हुन्छ ।

निर्वाचनमा केही सय, केही हजार र कसैलाई केही लाखमा किन्छ र त्यो सबै खर्च गर्ने उम्मेदवारले वा त्यो जुटाइदिने व्यापारी वा कुनै नियोगले करोडमा अरबमा असुल गर्छ । त्यो पनि तिनै जनताबाट । 

तसर्थ सचेत समाजवादी आन्दोलन आजको आवश्यकता हो । समाजवादी यात्रा यी र यस्तै समस्याको मुक्तिको बाटो हो । त्यसका लागि वामपन्थी सरकारको निर्माण पहिलो शर्त हो । तर यतिले मात्र पुग्दैन । स्वयम् वामपन्थी भनिएका दलमा पनि वामपन्थ हस्तक्षेप आवश्यक छ । दलाल पूँजीवादको रंगीन आकर्षणले वामपन्थी राजनीतिलाई पनि गिजोलेको छ । कति त्यसमै रुमल्लिएका छन् । तसर्थ वामपन्थी सरकार बनाउँदै गर्दा वामपन्थी दललाई दलालीतन्त्रको, सिन्डिकेट र कार्टेलिङको यो बिनासकारी पन्जाबाट मुक्त गराउने ल्याकत भएकाहरुलाई राजकीय जिम्मेवारीमा जिताउनुपर्नेछ ।

झापा १ लाई यसपाली वामपन्थको पक्षमा गतिलो उम्मेदवार, मार्क्सवादी अध्येता कमरेड राम कार्कीलाई निर्वाचित गर्ने अवसर प्राप्त छ । देशकै सचेत मानिसहरुको बसोबास रहेको मानिने यो भूमीबाट मादलदेखि लिएर रक्सी, मासु र चामल, नगद र झुटको पुलिन्दा बाँडिरहेका नव उदारवादका उत्कृष्ट नमूना छनौट हुने सम्भावना छैन । किनकी यो झापा नै यस्तो भूमी हो जहाँ समाजवादी सपना सन्निकट गर्न ज्यान फ्याल्न मानिसहरु ५० वर्षबाट तयार छन् । 

मृत्युको कठोर धम्कीले पनि झापालीलाई समाजवादी सपनाबाट भाग्ने बनाएन । झापा १ ले समाजवादी नेपालका लागि भोट दिँदैछ, भ्रष्ट बुर्जुवाकरण र दलाल पूँजीको असली प्रतिनिधि नेपाली काँग्रेसलाई चोट दिँदैछ ।

प्रतिकृया दिनुहोस