आज दोस्रो चरणको चुनाव प्रचारको अन्तिम दिन


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,मंसिर , १८ 07:56:15

30466-20171204075615.png

झापा । प्रतिनिधिसभार प्रदेशसभा सदस्य निर्वाचनका लागि मंसीर २१ हुने दोस्रो चरणकोको चुनाव प्रचार प्रसारका लागि आज अन्तिम दिन हो । 

राजनीतिक दल र विभिन्न उम्मेदवारले आज मध्यरात १२ बजेसम्म प्रचार गर्न पाउने छन् । मध्यरात १२ बजेपछि मौन अवधि शुरु हुनेछ । मौन अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, समाजिक सञ्जालसमेतमा पनि प्रचार गर्न नपाइने गरी आचारसंहिता बनाइएको छ । मौन अवधिमा आचारसंहिता उल्लंघन नगर्न निर्वाचन आयोगले सबैलाई सचेत पनि गराएको छ ।

उक्त दिनको निर्वाचनका लागि आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । ४५ जिल्लामा हुने निर्वाचनका लागि सम्पूर्ण मतदान केन्द्रमा निर्वाचन सामग्री पुगिसकेका छन् ।

निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६६३ तथा प्रदेश सभातर्फ सातै प्रदेशमा गरी २ हजार ८१९ उम्मेवार प्रतिस्पर्धामा छन् ।

यस चरणमा प्रतिनिधिसभाका लागि १२८ र प्रदेशसभाका लागि २५६ सांसद चुनिने छन् । निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले भाग लिदैंछन् ।

युरोपेली युनियन, कार्टर सेन्टरलगायतका अन्तर्राष्ट्रिय संस्थाका ४०० पर्यवेक्षक तथा राष्ट्रियरुपमा ५२ संस्थाका ४५ हजार पर्यवेक्षकले अनुमति लिएका छन् । १५ हजार ३४४ मतदान केन्द्रमा ७ देखि ९ जनाको दरले १ लाख ७५ हजार कर्मचारी आयोगले खटाएको जनाइएको छ ।

सरकारले निर्वाचनका समयमा गम्भीर सुरक्षा खतरा देखिएमा कडा कारवाही गर्न सुरक्षाकर्मीलाई अख्तियारी दिएको छ । एकपछि अर्को गर्दै लगातार बम विष्फोट र आक्रमणका घटना नरोकिएपछि सरकार कडा ढंगले पेश भएको हो ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न हुने विरुद्ध आवश्यक पर्दा गोली हान्नेसमेत अधिकार दिइएको गृहसचिव मोहनकृष्ण सापकोटाले प्रष्ट गरेका छन् ।

प्रतिकृया दिनुहोस