बिर्ख प्रधानका राजनीतिक तथा सामाजिक जीवनका आयाम


सागर गौतम, प्रकाशित मिति : २०७४ ,मंसिर , १७ 17:26:23

30458-20171203172623.jpg

आफ्ना विषयमा खह्रो उत्रने, भौतिक परिवेशलाई आधार मान्ने, यथार्थ कुरा गर्ने, चाकडी चाप्लुसी नरुचाउने, अन्याय–अत्याचार विरुद्ध निर्मम हुने विश्लेषणात्मक प्रखर क्षमता राख्ने व्यक्तिको परिचय कमाएका बिर्ख प्रधान झापा निर्वाचन क्षेत्र नं. २ (२) बाट प्रदेशसभा सदस्यको उम्मेदवार छन् । 

उनको राजनीतिक जीवनमा छल्कने न कनै धारको असर छ, न कुनै खहरेको प्रभाव छ, न उनको मुहारमा कुनै आक्रोस भेटिन्छ, न त कुनै उत्तेजना नै । उनीसँग न कहिल्यै पार्टी अदलबदलको परिचय छ, न कुनै निरपेक्षीय समूहबन्दी छ । अवसर पाइएन भनेर न कुनै सुस्ती छ, ओहदाको आडमा न कुनै फूर्ति छ, न कुनै दम्भ नै छ, न त कुनै आडम्बर । सधैं एकनाशे जीवनशैली रहेका बिर्ख प्रधान सधैं निरन्तर–निरन्तर एक वेगले अघि बढिरहेको व्यक्तित्वको नाम हो । प्रधानमा अन्य नेताभन्दा अनेक कोणमा फरक विशेषता छन् ।

अध्ययन, अनुसन्धान, चिन्तन, सङ्गठन, व्यवहार, नैतिकताका क्षेत्रमा उनका जुन फरक विशेषता छन्, तिनले नेपालको लोकतान्त्रिक गणतन्त्र र वाम आन्दोलनमा एउटा ईंटा थप्ने काम गरेको छ । २०१२ साल कात्तिक ११ गते ताप्लेजुङ्ग जिल्लाको सुरुङखिममा जन्मिएका उनी हालको अर्जुनधारा नगरपालिका वडा नं ११ सालबारीमा विगत पाँच दशकदेखि बसोबास गर्दै आएका छन् ।

संयुक्त वाम गठबन्धन राष्ट्रवादी शक्तिका साझा उम्मेदवार बिर्ख प्रधानका बारेमा आमजनताले पनि यस्तै विशेषता रहेको पाएका छन् । बिर्ख प्रधानको जीवनशैली प्रेरणादायी रोचक छ । उनको राजनीतिक जीवनयात्राका केही विशेष झलकहरु वुँदागतरुपमा यसरी प्रस्तुत गर्न सकिन्छ ।
 
१. झापा आन्दोलनले जन्माएको झिल्को

झापा आन्दोलनले २०२८ सालमा एउटा तरङ्ग ल्यायो । त्यही परिवेशमा जानेर नजानेर बिर्ख कम्युनिष्ट आन्दोलनमा होमिए । गरीबले खेत जोत्ने, धान लहलह फलाउने, साहुले तिनै किसानको श्रमका भरमा भकारीमा धान थन्क्याउने तर काम गर्ने ती श्रमिकहरु भोकभोकै मर्नु पथ्र्याे । जमिनदारहरु गरीबलाई दमन गर्थे । जसले बिर्ख प्रधानको मनमा उकुस, मुकुसको भावना पैदा उत्पन्न हुन थाल्यो । बदलाको भावना जाग्यो । त्यसपछि कम्युनिष्ट पार्टीको नजिक रहेर आफूलाई समर्पित गर्दै गए । 

भ्रष्टाचारले जनतालाई आक्रान्त बनाएको थियो । उनी विभिन्न आन्दोलनमा सक्रिय भएर अघि बढे । जमिनदारको शोषण विरुद्ध धुलाबारी, भद्रपुरलगायत स्थानमा नारा जुलुसमा समेत उपस्थिति जनाए । भूमिगतकालिन जीवन अत्यन्तै कष्टकर हुन्छ, तर उनले त्यसको भरपूर सदुपयोग गरे । 

बजारमा उपलब्ध हुने पुस्तक, पत्रपत्रिका खोजीखोजी पढ्ने उनको बानी थियो । चीनमा कम्युनिष्टले गरेको क्रान्ति नामक सचित्र चीन भन्ने पत्रिका पढ्न थालेपछि कम्युनिष्ट आन्दोलनमा लाग्ने अठोटमा पुगे । सचित्र चीन पत्रिकाको किसान आन्दोलन शोषण उत्पीडन, मुक्तिको विषय सम्बन्धी लेखिएको रहेछ, मेरो मन असाध्यै छोयो । 

कम्युनिष्ट साथीहरुको सल्लाह र चीनमा कम्युनिष्ट पार्टी विजयोन्मुख रहेको अवस्था बुझेर कम्युनिष्ट पार्टीको सदस्य भएर हिंड्न मन लाग्यो । धरानबाट एउटा कम्युनिष्टहरुको मुखपत्र ‘उषा पत्रिका’ निस्कन्थ्यो । त्यो पनि उत्तिकै मात्रामा पढ्ने गर्थे । क्रान्तिकारी स्वाभाव भएका व्यक्तिलाई त्यो बेला चुम्बक झैं तान्छ । 

उनले तिनै विदेशी क्रान्तिकारीका विषयमा पुस्तकमा पढेको जस्तो क्रान्तिकारी भावना अनेरास्ववियुका साथीहरुसँग मिल्थ्यो, त्यसपछि पार्टीको सम्पर्कमा पुगेको उनको विगत छ ।
                     
२. सेल्टर नै विश्वविद्यालय

२०३७ सालदेखि भूमिगत भई कम्युनिष्ट आन्दोलनमा समाहित भएका बिर्खले विद्यार्थी, किसान, जनसांस्कृतिक मञ्चमा आवद्धता जनाएर सङ्गठनात्मक काम शुरु गरेका थिए । पार्टीमा नेतृत्वदायी हैसियत बनाएका नेताहरु अमृत बोहोरा, इन्द्र बुढाथोकी, मेनुका काफ्ले, कालीदास श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, नारायणसिंह राजवंशी, वेदराज रेग्मी, धर्मकला चुँडाल, देवकुमार आचार्यलगायतले उनको घरलाई सेल्टर ठान्दथे, यो २०४२ सालको कुरा हो ।

घरमै पार्टीका नेताहरुको आवतजावत भएपछि उनको राजनीतिक जीवनको विश्वविद्यालय समेत हुन पुग्यो  । नेताहरुका बीचमा नेपालमा सामन्तवादी र सम्राज्यवादी प्रभुत्वलाई सदाका निम्ति अन्त्य गर्ने, आम नागरिकलाई पूर्ण स्वतन्त्रता दिलाउने, लोकतन्त्रिक गणतन्त्र, मौलिक अधिकार, आर्थिक अधिकारको प्रत्याभूति दिनेजस्ता विषयमा छलफल हुने गथ्र्यो ।
                           
३. संङ्गठनमा भूमिका

२०३७ सालदेखि भूमिगत रहेरै उनले पार्टीका विभिन्न फाँटहरुमा काम गरे । त्यसताका कम्युनिष्ट पार्टीको सक्रिय कमिटी बनाइएको हुन्थ्योे त्यसमा रहेर काम गर्न थाले । पञ्चायती व्यवस्थाको अन्त्यतिर भएको रापैस निर्वाचनमा जनपक्षीय उम्मेदवार द्रोणाचार्य क्षेत्रीलाई विजय गराउन उनको विशेष भूमिका रहेको सम्झन्छन् ।

२०४७ मा अर्जुनधारा, शनिश्चरे गाउँ कमिटी सदस्य हुँदै अखिल नेपाल किसान संघ क्षेत्रीय सचिव, इलाका कमिटी सदस्य हुँदै सचिव, क्षेत्रीय सम्वन्य कमिटीको सदस्य, इलाका कमिटी सचिव, २०५४ जिल्ला विकास समिति झापाको सदस्यमा निर्विरोध निर्वाचित भएर काम गरेको उनीसँग अनुभव छ । 

पार्टीको छैटौं झापा जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका उनी सातौं जिल्ला अधिवेशनमा उपसचिव पदमा उम्मेदवारी दिएर केही मतले पराजित भए । त्यसपछि पार्टीको नयाँ संरचना अनुसार राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यको जिम्मेवारी सहित मेची अञ्चल समन्वय कमिटीको सदस्य भएर काम गरिसकेका छन् । बिर्ख प्रधान वर्तमानमा पार्टीको प्रदेश नम्बर १ कमिटीको सदस्यको जिम्मेवारीमा रहेका छन् ।
                    
४. सामाजिक क्षेत्रमा नेतृत्व

जीवनभर राजनीतिमा पूर्णकालिन कार्यकर्ता भएर अहोरात्र खट्ने प्रधान पार्टीगत काममा मात्र होइन, सामाजिक क्षेत्रमा समेत उत्तिकै समर्पित छन् । उनीसँग सफलतापूर्वक विभिन्न जिम्मेवारीे निर्वाह गरिसकेको अनुभव छ । 

महारानीगञ्ज माध्यमिक विद्यालयको दुई कार्यकाल व्यवस्थापन समितिको अध्यक्ष, दुई कार्यकाल आदिवासी जनजाति महासंघ शनिश्चरे गाउँ समितिको अध्यक्ष, अर्जुनधारा नगर आदिवासी जनजाति महासंघ समन्वय परिषद्को अध्यक्ष, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको कृषि समितिको संयोजक, सालबारी खानेपानी सरसफाई समितिको संस्थापक रहँदै चार कार्यकाल अध्यक्ष रहेर काम गरिरहेका छन् । 

हाल उनी सुखानी सहिद स्मृति प्रतिष्ठानको केन्द्रीय कार्यकारी सदस्य तथा सहिद उद्यानको अध्यक्षको पनि जिम्मेवारीमा छन् । 
                    
५. विश्लेषण गर्ने क्षमता

विश्वविद्यालय शिक्षाका अतिरिक्त माक्र्सवादी दर्शन, चिन्तन, समुदायबाट लिएको शिक्षा–दिक्षाले उनी विश्लेषणात्मक अध्ययन गर्नेहरुमा अग्रपङ्तिमा छन् । बजारमा उपलब्ध पुस्तक खोजीखोजी पूरै समय लगाई अध्ययन गर्ने बानी छ उनको । 

इतिहास, दर्शन, समाज शास्त्रजस्ता विषयमा उनको गहिरो अध्ययन हुने गर्छ । आफ्नो मौलिक प्रतिभा, जीवन संङ्घर्षको अनुभव र अध्ययनको गम्भीरताले उनी विश्व समुदायको सारांश हेरेरै निश्कर्ष निकाल्ने र सुदुर भविष्यको योजनाबारे स्पष्ट रुपमा सोच्ने र बोल्न सक्ने क्षमता राख्छन् । 

 ६. राजनीतिक परिवर्तनको आन्दोलनमा ‘मनु’

झापा आन्दोलनबाट उत्प्रेरित भएका बिर्ख प्रधान पार्टी भूमिगत अवस्थामा हुँदा ‘मनु’ नामले चिनिन्थे । यही नामबाट उनी २०४६ सालको संयुक्त जनआन्दोलनमा अग्रसर भए । 

२०६२/६३ को आन्दोलनमा सक्रिय भूमिका खेलेका बिर्ख प्रधान जनअधिकारसँग जोडिएका जस्तोसुकै आन्दोलनमा अग्रमोर्चामा उभिन डराउँदैनन् । बिर्खले राजनीतिक परिवर्तनको आन्दोलमा देश र जनताको निम्ति आफूलाई सधैं सरिक गराइरहेको पाइन्छ ।
मुलुकको परिवर्तन तथा स्थिर राजनीतिका लागि कम्युनिष्टको नेतृत्वमा राष्ट्रवादी शक्ति मिलेर अघि बढ्नु पर्छ, तबमात्र जनताका चाहना पूरा गर्ने सकिन्छ भन्ने उनको दृष्टिकोण छ । 
                         
७. आर्थिक पारदर्शिता

घाँटीमा मालाझैं हरदम चश्मा झुन्ड्याएर हिंड्ने बिर्ख प्रधानले नेतृत्व गरेका एक दर्जनभन्दा बढी संघ–संस्थाहरुको आर्थिक प्रबन्धमा अत्यन्तै पारदर्शिताको भएको पाइन्छ । धन कमाउन, सुखसयल गर्न तथा व्यक्तिगत लाभ लिन कहिल्यै अघि नसर्ने उनलाई धनभन्दा समुदाय र त्यसको परिवर्तन गर्ने  कुरा नै प्यारो लाग्ने बताउँछन् । उनले समुदाय र त्यसको परिवर्तनको निम्ति आफ्नो पैसासमेत खर्चिन पछि नपरेको इतिहास पाइन्छ ।
             
८. सादा जीवन, दुःखको घडीमा धैर्य र सन्तुलन

बिर्खको पहिरनसँगै सिङ्गो जीवन ज्यादै सादा र सरल छ । उनी अत्यन्तै साधारण जीवनशैली रुचाउनेमा पर्दछन् । २०१२ सालमा जन्मिएका बिर्खकी आमा नरमाया प्रधानको २०१८ सालमा निधन भएपछि आमाको ममता धेरै समय पाएनन् । मध्यम वर्गीय परिवारमा हुर्किएका बिर्खको जीवनमा ११ वर्षदेखि १६ वर्षसम्मको कालखण्ड अत्यन्त कष्टकर भएको सुनाउँछन् । 

बिहान बेलुका हातमुख जोर्ने समस्या भयो । एकछाक खाना खाएर गुजारा गर्नुपर्यो । घर बनाउन नसकेर केही वर्ष ग्वालीमा बस्नुपर्ने बाध्यता रह्यो । उनका बुबा हस्तबिर प्रधानको सोझोपनको फाइदा जाली फटाहाहरु उठाए । 

बुबा हस्तविरको ८ बिगाहा जमिन थियो । तर जाली फटाहाले अनेकन प्रपञ्च गरेर, मुद्धा हालेर, चलाउन लगेको रकम फिर्ता नदिएर समस्या झेल्नुपरेको थियो । चन्द्रगढी गएर मुद्धा लड्दा लड्दै उनीहरुको जग्गा डेढ बिगाहामा सिमित हुन पुग्यो । 

साहु महाजन, जाली फटाहाहरुले दुःख दिएर धानको उत्पादन राम्रोसँग हुन सक्दैन थियो । त्यसैले जमिनमा मुसाले लगेको धानबाट चामल बनाएर खानु पथ्र्यो । बुबाको पालामा डेढ विगाहा रहेको उनको परिवारको जमिन अहिले १५ कठ्ठामात्र बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस