‘राजनीतिलाई व्यापार र जुवा बनाउने विरुद्ध म दुई तिहाई मतले चुनाव जित्छु’ : भानुभक्त ढकाल


प्रकाशित मिति : २०७४ ,मंसिर , १७ 10:15:39

वाम गठवन्धनका प्रतिनिधिसभा उमेदवार, मोरङ क्षेत्र नं. ३ 

30452-20171203101539.jpg

प्रतिनिधिसभा निर्वाचनका लागि एमाले र माओवादी केन्दबवीच कसिएको वाम गठबन्धनबाट मोरङ जिल्ला क्षेत्र नं. ३ का साझा उम्मेदवार भानुभक्त ढकाल व्यापक चुनावी अभियानमा छन् । नेकपा एमालेका प्रभावशाली पोलिटब्यूरो सदस्य तथा विघठित संसदका प्रमुख सचेतक ढकालको उम्मेदवारीसँगै मोरङ ३ लाई अर्थपूर्ण ढंगले हेरिएको छ र यो क्षेत्र देशमै चर्चाको क्षेत्रमध्येमा एक पर्दछ । शान्त, शालिन, जुझारु र आम कार्यकर्तासँग छिटै घुलमिल हुने नरम स्वभावका ढकाल पार्टीभित्रका हँसमुख व्यक्तित्वका कारण सर्र्वाधिक चर्चामा छन् । पार्टीको संगठन विभाग उपप्रमुखसमेत रहेका ढकाल कुशल संगठक, नेतृत्वकर्ता र कुशल वक्ता पनि हुन् । आफ्नो उमेदवारी व्यक्तिगत नभएर पार्टीको भएको बताउने ढकाल आफूले कहिल्यै पनि व्यक्तिगत राजनीति नगरेको दावी गर्छन् । जनताको घरदैलोमा व्यस्त ढकालले वाम गठवन्धनको जनलहरमा जनताको आशीर्वाद आफूलाई भएकाले निर्वाचन जित्ने कुरामा शतप्रतिशत ढुक्क रहेको बताउँछन् । प्रस्तुत छ, ढकालसँग निर्वाचन केन्द्रित अन्तरवार्ताको महत्वपूर्ण अंशः 

· तपाईं अन्यत्र कै राजनीतिक कार्य क्षेत्र भएको नेताले मोरङबाट उम्मेदवार बन्नुपर्ने अवस्था किन आयो ?

म पार्टीको एउटा बफादार सिपाही हुँ । म आफ्ना लागि उम्मेदवार भएको होइन र भोलि पनि आफ्नो लागि काम गर्दिन । जनताको हितमा पार्टीले दिएको काम गर्छु । कसको कहाँ आवश्यकता छ भन्ने निर्णय पार्टीले गर्छ । पार्टीले आवश्यक देखेको अवस्थामा भोलि अरु साथीहरुलाई पनि जिम्मेवारी दिन्छ । हामीले इमान्दारितापूर्वक समय पर्खिदै, संयमता र सजकता अपनाउनु पर्छ । म मोरङ जिल्ला बाहिरबाट आएर यहाँका साथीहरुलाई पाखा लगाएको भन्ने कुरा विपक्षीले मुद्धा बनाउने दुस्प्रयास गरिरहेका छन् । तर पार्टीको निर्णयमा सबैतिरका साथीहरु सबैतिर सेवा गर्ने अवसर मिल्छ । योग्यता पुगेका साथीहरुले ढिलोचाँडो अवसर पाउनुहुन्छ । हामीमा सामुहिक सोच विकास गर्नुपर्छ । यो कुरा हाम्रा साथीहरुले बुझिसक्नु भएको छ ।

· तपाईंलाई चुनावमा मात्र झुल्किएको पर्यटक उम्मेदवार भनेर प्रचार गरिरहेकाहरुका लागि ठोस जवाफ के छ ?

मेरो मूल घर तेह्रथुम हो । अस्थायी बसोबास मोरङ ३ कै सुन्दर हरैंचाको हरैंचामोड र काठमाडौंमा छ । हरैंचा मोडमा मेरा सहोदर जेठो दाजु बस्नुहुन्छ । यस क्षेत्रमा विगत ३० वर्षदेखि मेरो आफ्नै नाममा जमिन छ । सानै उमेरदेखि राजनीतिमा लागियो, तेह्रथुममा पनि खासै बसिएन । पढाई र राजनीतिको शिलशिलामा धेरै समय काठमाडांै बसेको छु । राष्ट्रिय राजनीतिमा पुगेपछि मैले तेह्रथुम र मोरङलाई मात्र होइन, देशभरका संगठनलाई समान हिसाबले हेरेको छु । काठमाडांैमा बस्नु मेरो अपराध होइन । यो पार्टी कामको आवश्यकताको कुरा पनि हो । मुख्य कुरा म कहाँ बस्छु भन्दा पनि मैले उठाउने एजेण्डा सही छन् कि छैनन् भन्ने हो । मेरो पार्टीले बोक्ने विचार सही छ कि छैन, अनि म सही बाटोमा हिडेको छु कि छैन भन्ने कुरा महत्वपूर्ण हो । त्यसैगरी म मोरङ ३ का जनताको हरेक समस्याको समाधानका लागि अगुवाई गर्न योग्य छु कि छैन यस्ता विषयमा पो परीक्षा लिनुपर्छ । म आफ्नो निर्वाचन क्षेत्रका समस्या र समाधानका उपायका बारेमा प्रष्ट जानकार छु र इमान्दारितापूर्वक काम गर्न प्रतिवद्ध छु । म यहाँका साथीहरुको सुझाव, सल्लाह र साथ लिएर दिगो काम गर्न सक्छु भन्ने ठूलो उत्साह छ । त्यसकारण, हरेक मानिसलाई देशभित्रका जुनसुकै स्थानमा आवतजावत गर्न, व्यापार व्यवसाय गर्न र राजनीति गर्न छुट छ । कसैलाई पनि जातीय, क्षेत्रीय, लैङ्गिक र वर्गीय हिसाबले अपहेलना गर्न मिल्दैन, यो संविधान प्रदत्त अधिकार हो । यस्तो हल्ला चलाउनेहरु जनताको नजरमा आफैं गिरिसकेका छन् ।  

अर्कोतिर म बाहिरको मान्छै होइन । निरन्तर नेपाली राजनीतिको शीर्ष स्थानमा बसेर काम गरिरहेको छु । अन्य पेशाबाट गलत ढंगले कमाएर ल्याएर गैरराजनीतिक तवरले आएको पनि होइन । जनताको पैसामा जनतालाई नै पासो लगाउने गेम कसैले पनि खेल्नु हुदैन । राजनीतिलाई पैसाले किन्न मैले खोजेको छैन । मतदातालाई भेडाबाख्रा ठानेको छैन ।

· तपाईले चुनाव जितेपछि काठमाडांै गएर बस्नुहुन्छ, क्षेत्रलाई हेर्नुहुन्न र जनतालाई चिन्नु पनि हुन्न भनेर विरोधीहरुले प्रचार गरिरहेका छन् नि ?

त्यो आरोपका लागि आरोप र आशंका हो । कसले कति काम गर्छ, गर्न सक्छ र समय दिन्छ भन्ने कुरा नजिकबाट पहिचान नगरी र थाहा नपाई नबोलांै । मलाई पार्टीले यसअघि तेह्रथुमबाट समानुपातिक सांसद बनायो । मैले तेह्रथुमे जनताको अधिकतम समस्यालाई केन्द्रविन्दुमा राखेर देशभरका जनता र पार्टीले अह्राएको काम गरेँ । अब पनि मेरो निर्वाचन क्षेत्र प्राथमिकताको विषय बनाएर देशभर पार्टी र जिम्मेवारीको काम गर्छु । यही क्षेत्रमा मात्र घुम्छु । यही घरजम गर्छु भनेर झुटको खेती गर्ने मेरो स्वभाव पनि छैन र त्यो होइन पनि । तर, यहाँ बसेर मात्र यो क्षेत्रलाई परिचालन गर्न सकिने कुरा होइन । यस क्षेत्रका समस्याका लागि राष्ट्रिय राजनीतिमा पनि सामेल गराएर विकासको योजना जोड्न उत्तिकै पहुँच चाहिन्छ । पहुँच हुनेले विकासको बजेट तानेर आफ्नो क्षेत्रमा लैजाने गलत परम्परा मैले धान्न पनि मिल्दैन । तर केन्द्रीय राजनीतिमा यो क्षेत्रको पहुँच बढाएर आवश्यकतामा आधारित बढीभन्दा बढी विकास गर्ने कुरामा मेरो योगदान धेरैभन्दा धेरै रहन्छ । अनि पक्षपाती विकासलाई चिर्ने काम हुन्छ । त्यसैगरी यस क्षेत्रका जनताको आवश्यकता अनुसारका योजना बनाउने, कार्यान्वयन गर्ने र समय समयमा डेलिगेसन जानुपर्ने आवश्यकतामा मेरो अगुवाई रहनेछ । नेपाल सानो छ, यस क्षेत्रका हरेक समस्याको समाधानमा मेरो उतिकै क्रियाशिलता र अगुवाई रहनेछ । म भौतिक र मानसिक दुवै रुपले यहाँका जनताको आवश्यकता अनुसार सक्रिय र साथमा रहनेछु ।

· तपाईको प्रतिष्पर्धी कांग्रेस उमेदवार सुनील शर्माले यस क्षेत्रमा स्वास्थ्य शिविर चलाएर र आम मतदातालाई विभिन्न आश्वासन दिएर भोट तान्ने काम गरिरहेका छन् । यसमा तपाईको प्रतिक्रिया के छ ?

मलाई झुठा र गलत कुरा गरेर चुनाव जित्नु छैन । म त्यस्तो प्रवृत्तिको व्यक्ति पनि होइन र वाम गठवन्धनको लक्ष्य पनि त्यो होइन । जनताको मतलाई प्रलोभनमा पारेर, रकम  दिएर, भोज खुवाएर, गलत आश्वासन देखाएर तथा धम्क्याएर तान्न सकिँदैन । म कसैलाई नकारात्मक ढंगले टिप्पणी गर्न पनि चाहन्न । यो काम मेरो पनि होइन । तपाईले सोधिहाल्नु भयो । प्रजातन्त्रमा स्वस्थ्य प्रतिष्पर्धा हुनुपर्छ । विचारको लडाईं गर्न पाउनुपर्छ । पैसाले भोट किन्ने हो भने त पैसा कम खर्च गर्नेहरुको जनमत सधैं पछि परी लोकतन्त्रको धज्जी उड्ने र विपन्न सर्वहाराहरुमाथि सामन्ती शासनसत्ताले थिचेर उठ्नै दिदैन । यो त निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन र मानव अधिकारको उस्तै धज्जी उडाउनु हो । यस्तै हर्कतका लागि जे भइरहेको छ सही उद्देश्य भएका व्यक्तिहरुले गरिरहेका छैनन् । जसले निर्वाचनको मुखमा त्यो हर्कत गरिरहेका छन्, उनीहरुले ठूलो स्वार्थ बोकेका होलान् । यसलाई भोलि नराम्रो काममा भजाउलान् वा त्यसको कुनै हिसाबले क्षतिपूर्ती लेलान् । अथवा गलत ढंगले आर्जन भएको सम्पत्ति पो हो कि ? यो संसार पारदर्शी छ । जनताले थाहा पाइहाल्छन् । कुनै कुरा लुकाएर लुक्दैन । जनताले सोधिरहेका छन्, अहिले जनताको सेवा गरेको छु भन्नेले हिजो अस्ति चाहिँ किन नगरेको ? यस्तो प्रवृत्तिलाई जनताले चिनिसकेका छन् । राजनीति भनेको समाजसेवा हो । समाजसेवा निस्वार्थ हुन्छ । राजनीतिलाई व्यापार वा जुवा बनाउन पाइँदैन । यसमा मिडियाहरुले पनि खबरदारी गर्नुपर्छ । जालझेल, षड्यन्त्र र दाउपेच होइन, जनतालाई आफ्ना प्रतिनिधि रोज्न स्वतन्त्र छोडिदिनुपर्छ । जनताले बुझिसकेका छन् को कति पानीमाथि छ भनेर ।   

चुनाव जित्नेले शालिनताका साथ जित्नुपर्छ । आफ्ना विचारलाई सही ढंगले राख्नुपर्दछ । म त चुनावलाई उत्ताउलो, भड्किलो र अतिरंजित नबनाऔं भनिरहेको छु । शान्ति, सद्भाव र मित्रतापूर्ण ढंगले अगाडि बढांऔं भन्ने पक्षको मान्छे हुँ । तर, ढुगा हान्नेलाई फूलको झटारो हान्न चाहिँ सकिदो रहेनछ ।

धेरै गाडी कुदाउँदैमा, खर्च गर्र्दैमा चुनाव जित्ने भए हामीजस्ता गरिव र पैसा नभएका कसैले पनि चुनाव जित्दैनन् । सबै राज्य व्यापारी कै कब्जामा भइहाल्छ नि ।

आवश्यक मात्रामा जनताले बुझ्ने गरी मात्र चुनाव प्रचार गर्ने हो । आज चुनावमा भड्किलो गरेर गरेको खर्च भोलि कुन स्रोतबाट ल्याउने ? मैले चुनाव लडौंला भनेर हिजोको दिनमा पनि गलत काम गरिन । भोलि पनि गर्दिन । मैले आदर्शवादी जीवन नै रोजेको हो । मैले जागिर खाएर वा व्यापार गरेर कमाउने बाटो रोजेको भए यतिबेला धेरै कमाईसक्थे । त्यस्ता अवसरहरु धेरै थिए । तर, मैले त्यागकै बाटो रोजे । मान्छेले बाटो रोज्ने बेलैमा स्पष्ट हुनुपर्छ कि यो कमाउने पेसा हैन । यो आफू र आफ्ना लागि मात्र गर्ने काम होइन । त्यसरी तयार भएर आए पछि के समस्या भो र ? भड्किलो जीवन त्यति टिकाउ हुँदैन, यो सबैलाई ख्याल हुन जरुरी छ । म मेरो यिनै कुरा र पार्टीको जनमुखी सिद्धान्तका आधारमा अत्याधिक मतले चुनाव जित्ने कुरामा कुनै शंका छैन ।

तपाईले चुनाव जित्ने मुद्दा चाहिँ के के छन् त ?

चरम अभाव र गरिबी भएको हाम्रो देशमा मुद्दाको कुनै खाँचो छैन । देशभरका साझा समस्या उस्तै छन् । यो वा त्यो पूरा गरिदिन्छु भनेर झुटको राजनीति म कहिल्यै पनि गर्दिन । आवश्यकता अनुसारका गतिविधि इमान्दारितापूर्वक सक्रियताका साथ गर्ने हो । हाम्रो पार्टी नेकपा एमाले र संयुक्त बाम गठवन्धनले अघि सारेका चुनावी घोषणापत्र अनुसारका कामहरु नै हाम्रा प्रमुख मुद्दाहरु हुन् । पार्टीले लिएको राष्ट्रियता बलियो बनाउने तथा सबै जाति भाषा सम्प्रदाय र समुदायलाई सम्मान गर्ने, पिछडा, आदिवासी र हेपिएको वर्गको उत्थान गर्ने नीति अनुसार नै हामीले काम गर्नुुपर्छ ।

· मोरङ ३ का स्थानीय समस्याहरु के छन् र तिनको समाधान कसरी गर्नुहुन्छ ?

हाम्रो सबैभन्दा ठूलो समस्या भनेकै गरिबी हो । भौतिक विकासका कुराहरु त्यसपछिका कुरा हुन् । मुख्यगरी समस्यालाई सतही ढंगले अघि बढाउनेभन्दा पनि दीर्घकालिन सोच बनाएर काम गर्न सक्नुपर्दछ । बेरोजगारी, कृषिप्रतिको वितृष्णा, सुकुम्बासी, अव्यवस्थित बसोबाससहित  दोहोरो स्वामित्वको समस्या, नदी कटान, वन विनास, भूक्षय प्रमुख समस्या रहेका छन् । चटकको भरमा ती समस्यालाई समाधान गर्न सकिँदैन । त्यसका लागि सबैभन्दा पहिले प्राकृृतिक स्रोत र साधनलाई कसरी उपयोग गर्ने, मानवीय स्रोतलाई कसरी प्रभावकारी ढंगले परिचालन गर्ने, विदेशिने.दक्ष जनशक्तिलाई कसरी स्वदेशमै रोकेर काम लगाउने भन्ने विषयमा गहन गृहकार्य गर्नुपर्छ । जबसम्म उत्पादनमा जोड दिएर देशलाई आत्मनिर्भर बनाउन सकिँदैन, तबसम्म देशको विकास सम्भव छैन ।

यो क्षेत्र प्राकृति स्रोत र साधनले निकै धनी क्षेत्र हो । पर्यटन प्रवद्र्धनको सम्भावना प्रचुर छ । बाहुनीमा पेट्रोल खानीको कुरा छ । त्यसको अन्वेषण गरी तेल भएर उत्खनन्को प्रक्रिया थाल्ने हो । सुन्दर हरैंचामा लथालिङ्ग अवस्थामा रहेको पूर्वाञ्चल विश्वविद्यालयलाई व्यवस्थित गर्ने मेरो अर्काे प्रमुख काम हुनेछ । आदिवासी जनजातिको सघन बसोबास भएको यो क्षेत्रमा आदिवासी जनजाति प्रतिष्ठान अनि संग्रहालय बनाएर विविधतामा एकताको सन्देश दिने योजना छ । हाम्रा प्राकृतिक स्रोत साधन चिन्ने, तिनलाई उत्पादन र उपभोग गरी आत्मनिर्भर बन्ने अनि विदेश निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने । पर्यटकीय क्षेत्रको विकास गर्ने । जडिबुटी र अन्य स्रोतको परिचालन गर्न सके बेरोजगारीलगायतका सबै समस्या एकैपटक समाधान हुँदै जान्छन् । अनि मुलुकमा भौतिक विकास पनि सँगै अघि बढ्छ । तर, त्यसका लागि राजनीतिक स्थिरता अर्थात सोचसहितको दीर्घकालिन अर्थात स्थिर सरकार चाहिन्छ ।

 निर्वाचनको बेला चाहिँ बिरामीको निःशुल्क उपचार गरेझैं गर्ने होइन, सबै जनताका लागि जीवनभर प्रभावकारी हुने गरी निःशुल्क उपचार गराउने व्यवस्था गर्ने हाम्रो योजना छ । अनि निर्वाचनको बेला आफ्नो मात्र क्षेत्रमा पोल बाँड्ने, ढुंगा गिटी झार्नेभन्दा पनि प्रभावकारी विकासको योजना बनाउँदै समग्र देशकै समृद्धि गर्ने प्रतिवद्धता छ मेरो ।

· तपाईहरु स्थिर सरकारको कुरा गर्नुहुन्छ, तर नेपाली कांग्रेसले अधिनायकवाद आउन लाग्यो भन्दैछ नि ?

देशमा राजनीतिक स्थिरता नहुँदा विकासको धेरै सम्भावना भएर पनि मुलुक पछि परिरहेको हो । मुलुक वर्वाद हुनबाट जोगाउन जाली, फटाहा र स्वार्थप्रेरक व्यक्तिहरुको पञ्जाबाट छुटाउनु पर्यो । कति दिन मुलुकलाई बन्धक बनाउने भन्ने कुरालाई आत्मासाथ गरेर चुनावी गठबन्धन र पार्टी एकताको पहल अगाडि बढेको हो । अब व्यक्तिगत र एउटा पार्टीको हितलाई मात्र सोचेर केही हुँदैन । देश बनेन भने पार्टीको अर्थ छैन भन्ने निश्कर्षसहित हामी एकठाउँ उभिएका छौं । फेरि पनि एकदलीय कुरा र अधिनायकवादी कुरा हुँदै होइन । लोकतन्त्रको स्वच्छ प्रतिष्पर्धा गर्नबाट अरु किन डराउँछन् ? कोही कोहीसँग मिलेर एकताको सन्देश दिनुभनेको नराम्रो कुरा हो र ? सरकारको मुख्य जिम्मेवारी भनेको आधारभूत तह अर्थात विपन्न एवम् पछि परेका र पछि पारिएका जनताको जीवनस्तर उकास्ने अनि देशमा समृद्धि ल्याउने हो । देशमा विपन्न तहका मानिसहरुलाई माथि उकासेर देश र जनता समुन्नत बनाउन वर्षाैंदेखिको वामपन्थीको एकताको अपेक्षा यसबेला पूरा हुँदैछ । यसलाई गलत ढंगले नबुझांै । कसैले गलत बुझ्छ भने पनि केही समय पछि नै त्यो भ्रम पूरै हट्नेछ ।

· त्यसो भए हिजो माओवादीले गरेका राम्रा तथा नराम्रा सबै कामको जस तथा अपजस लिन तपाईहरु तयार भइसक्नु भएको हो ?

हो, हामी तयार भइसक्यौं । हिजोको माओवादीको विचार र सिद्धान्त एउटा थियो । अब हामी साझा विचारमा समाहित भइसक्यौं । जनतालाई केन्द्र मानेर हामी अगाडि बढ्ने निश्कर्षमा पुगिसक्यांै । म माओवादीको उम्मेदवार पनि हो र माओवादीका साथीहरु पनि हाम्रा अर्थात साझा उमेदवार हुनुहुन्छ । 

(पोलिटव्यूरो सदस्य, नेकपा एमाले)

                                                                                                                                       प्रस्तुतिः भूपेन्द्र तिम्सिना

प्रतिकृया दिनुहोस