चालू सिजनमा आर्मीले गर्यो ह्याट्रिक ।। टाइब्रेकरमा मनाङ पराजित


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,मंसिर , १५ 20:49:36

30423-20171201204936.jpg

काँकरभिट्टा ।  आर्मीका गोलकिपर विकेश कुथुले मनाङका ३ खेलाडीको पेलान्टी प्रहार रोकेपछि चिरपरिचित प्रतिद्वन्द्वी टीम मनाङलाई टाईब्रेकरमा पराजित गर्दै आर्मीले तेस्रो मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको उपाधि रक्षा गरेको छ । 

यो जितसगै आर्मीले नगद ८ लाख रुपैयाँसमेत हात पारेको छ । शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीलाई भाग्यले समेत साथ दिएको थियो ।  खेल अवधिभर दुवै टीमको कुनै गोल हुन नसकेपछि खेलको निर्णय सोझै टाईब्रेकरबाट गरिएको थियो । 

टाईब्रेकरमा मनाङका ३ खेलाडीहरु कप्तान अनिल गुरुङ, कमल श्रेष्ठ र निराजन मल्लको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाएका थिए । मनाङका २ खेलाडीहरु बिमल बस्नेत र हेमन गुरुङको प्रहार मात्रै गोलमा परिणत भएको थियो । 

आर्मीका खेलाडीहरु सन्तोष तामाङ्ग, नवयुग श्रेष्ठ र बिवेक बस्नेतको प्रहार गोलमा परिणत भएको थियो । आर्मीका २ खेलाडीहरु जितेन्द्र कार्कीको प्रहार गोल पोष्ट बाहिर गयो भने पदम तामाङको प्रहार मनाङका गोलकिपर दिनेश थापामगरले रोकिदिए । 

टाईब्रेकरमा आर्मी ३—२ गोल अन्तरले विजयी भएको हो । उपविजयी भएको मनाङले नगद ४ लाख रुपैयाँसहित शिल्ड, ट्रर्फी र मेडल प्राप्त गरेको छ । 

यो जीतसँगै आर्मी लगातार ३ वटा गोल्डकपमा विजयी हुदै ह्रयाट्रिक गर्न सफल बनेको छ । आर्मीले वीरगंज तथा गत हप्तामात्रै झापाको सताक्षी गोल्डकपमा विजयी भएको थियो । सताक्षी गोल्डकपको फाइनलमा समेत मनाङ र आर्मी आमनेसामने भएका थिए । 

मनाङ काँकरभिट्टा गोल्डकपमा आर्मीलाई हराएर सताक्षी गोल्डकपको हारको बदला चखाउने तयारीका साथ मैदान उत्रिएको थियो ।

फाइनल खेलको म्यान अफ दि म्याच आर्मीका विकास खबास भए । उनलाई नगद १० हजार रुपैयाँले पुरस्कृत गरियो । 

यसैगरी प्रतियोगिता भरकै नवप्रतिभावान खेलाडी आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका मिलन राइलाई नगद १० हजार रुपैयाँ प्रदान गरियो । 

प्रतियोगितामा उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट प्रशिक्षक आर्मीका नविन न्यौपाने, उत्कृष्ट डिफेन्स काँकरभिट्टाका दिपेन राई, उत्कृष्ट मिड फिल्ड मनाङका विशाल राई वी, उत्कृष्ट स्ट्राइकर आर्मीका भरत खबासलाई नगद २० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरियो । 

त्यसैगरी सर्वाधिक गोलकर्तामा आर्मीका दिनेश हेम्जनलाई नगद २५ हजार प्रदान गरिएको छ ।

गोल्डकपकै सर्वोकृष्ट खेलाडीमा मनाङका गोलकिपर दिनेश थापामगरलाई नगद ५१ हजार रुपैयाँ प्रदान गरिएको छ । 

प्रतिकृया दिनुहोस