झापाका ४६१ जना एचआइभी संक्रमित 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,मंसिर , १५ 12:49:49

30419-20171201124949.jpg

झापा । जिल्लमा एचआइभी संक्रमितहरुको संख्या वर्षेनी घट्दोक्रममा रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

गएको वर्ष १६ जना एचआइभी संक्रमित भेटिएका थिए भने साभन्दा अघिल्लो वर्ष ४३ जना एचआइभी संक्रमित फेला परेका थिए । जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलका अनुसार गतवर्ष तीन हजार ९९ पुरुष र एक हजार १०५ महिलाको रगत परीक्षण गर्दा आठजना पुरुष र आठजना महिलामा संक्रमण देखिएकोमा एकजना एचआइभी संक्रमितको मृत्यु भएको थियो ।

त्यस्तै, २०७० सालमा ५५ जना, २०७१ मा ६७ जना, २०७२ मा ५८ जना एचआइभी संक्रमित फेला परेको कार्यालयले जनाएको छ । जिल्लामा २०७० देखि २०७४ सम्म १८४ एचआइभी संक्रमित फेला परेका छन् । संक्रमितमध्ये पुरुष १०३ जना र महिला ८१ जना रहेका छन् । सोही अवधिमा चार जना महिला र छ जना पुरुष संक्रमितको मृत्यु भएको थियो ।

हाल जिल्लामा ४६१ जना एचआइभी संक्रमित रहेको कार्यक्रम अधिकृत पौडेलले जानकारी दिए। उनकाअनुसार पुरुष २५५ जना र महिला २०६ जना मध्ये ४५७ जनाले नियमित औषधि (एआरटी) सेवन गरिरहेका छन् । प्रसूति सेवाको सुविधा भएका सबै स्वास्थ्य संस्थाबाट निःशुल्क परीक्षण गरिँदै आएको छ ।

“स्वास्थ्य संस्थामा आउने रहेक गर्भवतीको एचआइभी परीक्षण गरिँदै आएको छ” पौडेलले भने, गत वर्ष तीन हजार २१९ जना गर्भवतीको एचआइभी परीक्षण गरिएको थियो । 

जिल्लामा ब्लु डाइमण्ड सोसाइटी, सहारा नेपाल, आम्दा नेपाल, लभकुस आसाम, नाइटचेस क्लब, जनस्वास्थ्य कार्यालयले एचआइभी सम्बन्धी चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस