आर्मी र मनाङ फेरि काँकरभिट्टा गोल्डकपमा आमनेसामने 


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,मंसिर , १३ 20:42:09

30391-20171129204209.jpg

काँकरभिट्टा । मनाङ मर्स्याङ्दी क्लब सडनडेथमा भाग्यमानी बन्दै मौफसल कै सर्वाधिक राशिको पुरस्कार रहेको मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

काँकरभिट्टा माविको खेल मैदानमा बुधबार भएको अन्तिम सेमीफाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई सडनडेथमा ८–७ गोल अन्तरले हराउँदै फाइनलमा त्रिभूवन आर्मीसँगको भेटलाई पक्का गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरी भएपछि निर्णयका लागि टाइब्रेकरमा लगिएको थियो । टाइब्रेकरमा मनाङका अनिल गुरुङ, बिमल बस्नेत, कमल श्रेष्ठ, हेमन थापा मगरले गोल गरे भने विक्रम लामाको बल गोल पोष्ट बाहिर गएको थियो । 

आयोजकका प्रकाश बुढाथोकी, निराजन खड्का, सरोज दाहाल र हेमन्त थापाले गोल गरेका थिए भने निशान लिम्बूको प्रहार गोलरक्षक दिनेश थापाले बचाए । 

टाइब्रेकरमा ४–४ को बराबरी भएपछि खेल सडनडेथका आधारमा निर्णय लिइएको थियो । 

सडनडेथमा मनाङका विमल घर्ती मगर, विराज महर्जन, विशाल राई, अनन्त तामाङले गोल गरेका थिए । आयोजकका भूषण लिम्बू, विक्रम लामा, सुरज विकले गोल गरे भने फ्ल्लोरेन्सको प्रहार गोल पोष्टमा लागेर बाहिरिएको थियो ।

खेलको म्यान अफ दि म्याच मनाङ मर्स्याङ्दीका हेमन गुरुङ घोषित भए । उनलाई दुर्गा चन्द्र मेमोरियल ट्रष्ट काँकरभिट्टाले प्रदान गरेको नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । 

फाइनल खेल त्रिभूवन आर्मी र मनाङ मर्स्याङ्दी बीच हुने भएको छ । भर्खरै सम्पन्न दोस्रो सताक्षी गोल्ड कपमा पनि मनाङ र नेपाल आर्मीबीच नै भएको थियो । उक्त प्रतियोगिताको फाइनल केही विवादास्पद पनि भएको थियो ।

गोल्डकपको विजेताले टिमले नगद ८ लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उप विजेताले नगद ४ लाख १ हजार नगद पुरस्कार पाउने आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मिन बस्नेतले बताए । 
 

प्रतिकृया दिनुहोस