‘विचारले भन्दा मनले जिते सबैको भोट पाइन्छ’  


एकराज कार्की, प्रकाशित मिति : २०७४ ,मंसिर , ९ 07:36:15

(भिडियो सम्वादसहित) 

30279-20171125073615.jpg

झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ साविक गरामनी गाविस वडा नं. २ मा स्थायी ठेगाना भएका एकराज कार्की पूर्वी नेपालको राजनीतिक वृत्तमा अपरिचित नाम होइन । गरामनीको दुर्गा माविमा अध्ययनरत रहँदैताका २०२८–०२९ सालको झापा विद्रोहदेखि कम्युनिष्ट पार्टीमा लगाव र झुकाव राखेका कार्की विशेषतः आफ्नै विद्यालयका शिक्षक नेत्र घिमिरे, सोही विद्यालयमा अध्ययन गर्ने विद्यार्थी नारायण राजवंशी र कृष्ण कुइँकेलबाट कम्युनिष्ट विचारप्रति प्रभावित भएको बताउँछन् । 

पञ्चायती सरकारले कार्कीका राजनीतिक प्रेरणाका स्रोत तीनै जनालाई २०२९ साल फागुन २१ गते सुखानीमा लगेर हत्या गरिदियो । तब उनले कम्युनिष्ट विचार भनेको वर्गसंघर्षको उपज रहेछ, गरिब निमुखा जनताको उत्थानका लागि आवश्यक रहेछ भन्ने बुझे पछि कम्युनिष्ट विचारलाई आफ्नो आदर्श बनाए र आजसम्म उनी अनवरत यही विचारलाई अंगालीरहेका छन् । 

२०४४ मा राजविराजमा कानूनमा बी एल पढ्दै गरेको अवस्थामा कार्कीलाई नेकपा मालेले चुनावको उपयोग गरी जनपक्षीय उम्मेदवारलाई विजय गराउने अभियानमा लाग्न गाउँ बोलायो । पार्टीले पञ्चायतलाई कमजोर बनाउनु पर्छ भन्ने रणनीति बनाएर आफ्नै उम्मेदवारलाई जिताउन पढाई छाडेर गाउँ फर्किन गरेको निर्देश पालना गर्दा उनी आफैं उम्मेदवार बन्नु पर्यो । र, गरामनी गाउँ पञ्चायतको उपप्रधानपञ्चमा उम्मेदवारी दिएर निर्वाचित भए । पार्टीसँग मेरो अनुरोध थियो, उपप्रधानपञ्च निर्वाचित भएर पनि मैले बी एल को अध्ययन पूरा गर्न पाउनु पर्छ  । पार्टीले स्वीकार पनि गरेको थियो ।

गरामनी गाउँ पञ्चायतको प्रधानपञ्च डिल्लीकुमार मैनाली निर्वाचित भएका थिए । जिल्लामा जनपक्षीय मञ्च गठन गर्दा डिल्लीकुमार मैनाली अध्यक्ष बने । उनलाई राज्यसत्ताले गिरफ्तार गरेर जेल हालेपछि पूरै कार्यकाल कार्कीले कार्यवाहक प्रधानपञ्च भएर काम गर्नु पर्यो । यसोगर्दा उनका कामहरु झन् जनपक्षीय  बने । त्यसैले २०४६ सालको जनआन्दोलन शुरु हुनै लाग्दा उनी गिरफ्तारीमा परेर प्रहरी हिरासत हुँदै जेलमा बस्नु परेको र आन्दोलनको सफलता पछि जेलमुक्त भएको इतिहास छ ।

जनप्रतिनिधि रहेर काम गर्न पार्टीले पुनः २०४९ सालमा आदेश गर्यो । सोहीअनुरुप स्थानीय निकायको निर्वाचनमा गरामनी गाविसको अध्यक्षमा उनी निर्वाचित भएर ५ वर्ष काम गरे । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा जिल्ला विकास समितिको नेतृत्वमा लैजाने योजनाअनुरुप पार्टीले उनलाई वडासदस्यमा उम्मेदवार बनायो र निर्वाचित पनि भए तर धेरै आकांक्षी बनेकाले अवसर नपाएको उनी सुनाउँछन् । 

संसदीय मोर्चामा रहेर गरेका कामहरु बाहेक पार्टीको आन्तरिक काम चाहिँ उनले विद्यार्थीकालदेखि नै शुरु गरेका हुन् । त्यसैगरी पार्टीको गाउँ कमिटी, इलाका कमिटी, क्षेत्रीय कमिटी हुँदै जिल्ला कमिटीमा रहेर विभिन्न जिम्मेवारीहरु सम्हाल्दै आएका कार्की २०५४ सालदेखि निरन्तर जिल्ला कमिटीमा रहेका छन् । हाल उनी नेकपा एमाले झापा जिल्ला सचिवालय सदस्य रहेर जिम्मेवारी सम्हाल्दै आएका छन् भने २ नं. निर्वाचन क्षेत्रको तत्कालीन इन्चार्ज र हाल प्रादेशिक कमिटीको इन्चार्ज रहेका छन् ।

प्रजातान्त्रिक राष्ट्रिय युवा संघको झापा जिल्ला अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको भूमिका निर्वाह गरेका कार्की आफ्नो क्षेत्रका दर्जनौं समाजिक संघ–संस्थाको जिम्मेवारी र नेतृत्वमा रहेर सेवारत रहेका छन् । यही मंसीर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं. २ अन्तरगत प्रदेशसभा सदस्य १ का उम्मेदवार एकराज कार्कीसँग  साझामञ्चका सम्पादक गोपाल काफ्लेले निर्वाचनको सेरोफेरोमा रहेर गरेको कुराकानी ।

तपाईंको उम्मेदवारी किन ?

पहिलो कुरा संविधान कार्यान्वयन गर्न गराउनु हो । दोस्रो कुरा समृद्ध नेपाल बनाउनु छ । अहिलेका लागि राजनीतिक आन्दोलन समाप्त भएका छन् अब समृद्धिको आन्दोलन गर्नुपर्नेछ । नेपाली जनताको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, विकासलगायत सबै क्षेत्रमा समृद्धिका लागि अबको अभियान चलाउनु पर्नेछ । तेस्रो कुरा मुलुकको आमूल परिवर्तनका लागि मेरो उम्मेदवारी हो ।

तीन दलीय गठबन्धनमा सबैले साझा उम्मेदवारलाई मतदान गर्छन् भन्ने राजनीतिक इमान्दारिता कत्तिको देख्नु हुन्छ ?

झापामा तीनवटै दलबाट जिल्ला स्तरीय निर्वाचन समन्वय समिति बनेको छ । सबै ठाउँमा तीनवटै पार्टीको प्रतिनिधित्वमा चुनाव परिचालन समिति बनेका छन् । जिल्लादेखि क्षेत्र, गाउँपालिका नगरपालिका, वडा र टोलटोलमा संयुक्त निर्वाचन परिचालन कमिटीहरु बनेका छन् । निर्वाचन प्रचारप्रसार अभियानमा सबैजना सँगसँगै हिंडिरहेको अवस्था छ । त्यस्ता आशंकाहरु हटाउन यिनै अभियानहरु काफी छन् ।

यतिमात्र होइन, जिल्लाका पाँचवटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा सदस्यका लागि एक पार्टीले अर्को पार्टीको उम्मेदवारलाई साझा उम्मेदवार बनाएर प्रचारप्रसार गरिरहेको अवस्था भएकाले राजनीतिक इमान्दारिता देखिइरहेको छ र हाम्रा सबै साझा उम्मेदवारहरु विजयी बन्नेमा विश्वास गर्न सकिन्छ । 

राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र कोही हुँदैनन्, आजको राजनीतिक आवश्यकता भनेको मुलुकको राजनीतिक कोर्सलाई स्थायित्व दिने र मुलुकलाई समृद्धिको मार्गमा लैजान स्थिर सरकार दिन पनि गठबन्धन गरिएको हो । त्यसैले यही स्थिरताका लागि राजनीतिक गठबन्धन बनाइएको छ र सबैबाट इमान्दार प्रयास हुनेछ ।

मतदाताले तपाईंलाई किन भोट दिने ? चुनावी एजेण्डाहरु के कस्ता छन् ?

नेपाली जनतालाई चाहिएको मूल कुरा विकास र निकास हो । निकास भन्नाले स्थिर राजनीतिक व्यवस्थाले विगतदेखि नै कार्यान्वयन हुन नसकेका सयौं समस्याहरुको किनारा लगाउनु पर्नेछ । विकास स्वाभाविक चाहाना हो । नेपालको राजनीतिक संरचना तीन तहको बन्यो । संघीय संसद, प्रदेशसभा र स्थानीय तह । यी तीनै तहबीचको समन्वय र सहकार्यमा जनताका आवश्यकताहरुको सम्बोधन गर्नुपर्ने हुन्छ । म त्यही समन्वयको जिम्मेवारी लिन प्रदेशसभा सदस्यको उम्मेदवार भएको हुँ ।

मेरो निर्वाचन क्षेत्रको महत्वपूर्ण क्षेत्र बिर्तामोड सहरको व्यवस्थापन गर्नुछ । बन्द हड्ताल मुक्त नगर, सरसफाईयुक्त सहर, कृषिउपज बजारस्थलको व्यापक उपयोग गरी विदेशीभन्दा स्वदेशी कृषि उपजको खरिद बिक्री केन्द्रको विकास गर्नेदेखि लिएर स्थानीयको जीवनस्तर माथि उकास्न काम गर्नेछु । सुकुम्बासीहरुको समस्या छ, त्यस्को समाधान गर्नु देशैभरका जनप्रतिनिधिको दायित्व पनि हो ।

विजयी बन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

म एमालेको मान्छे हुँ, कार्यकर्ता हुँ । मेरो पार्टीको संगठन र यसमा आवद्ध कार्यकर्ताको सक्रियताबाटै म विजयी बन्ने कुरामा निश्चिन्त छु । अर्को कुरा हामीले तीन दलीय गठबन्धन बनाएर साझा उम्मेदवारी दिएका छौं । नेकपा माओवादी केन्द्र र राप्रपाका साथीहरुको उत्तिकै सक्रियता छ । फेरि भएन, म सबै राजनीतिक विचार बोक्ने जनताको काम गर्दै आएको मान्छे । विचारमा भिन्नता होला तर साथीहरुले सहयोग गर्ने बचन दिनु भएको छ । मैले काम गरेर साथीहरुको मन जितेको छु, थप साथीहरुको मन जित्ने प्रयास गरिरहेको छु ।

विजयका लागि चाहिने आधारहरु मैले र मेरो पार्टी एवम् अहिलेको साझा गठबन्धनले निर्माण गरिसकेको छ । अब विजयी बन्नेमा कुनै दुविधा छैन । मैले मतदाताको ‘साइकोलोजी’ पढेको छु, जहाँ जीतको सम्भावना हुन्छ त्यहाँ मतदान गर्ने गरिन्छ । तीन पटक त म जनताबाट प्रतक्ष्य चुनिएको मान्छे । मतदाताहरु जित्ने ठाउँमा मतदान गर्नुहुनेछ भन्ने मेरो विश्वास हो । 

त्यो त तपाईंका कुरा भए, तर आम मतदातालाई चाहिँ कसरी आश्वस्त पार्नु हुन्छ ?

मेरो कामको ‘स्पिरिट’ धेरैजनालाई थाहा छ, प्रायः सबैलाई थाहा छ । बिर्तामोड नगरपालिकाको वडा नं. १ देखि ९ सम्म तथा कनकाई नगरपालिकाको वडा नं. ८ र ९ प्रदेशसभाको यो निर्वाचन क्षेत्रमा पर्दछन् । मैले यहाँको तिनै स्थानीय तहसँग मिलेर काम गर्ने हो । मैले काम गर्दा नगरपालिका र सम्बन्धित वडाका योजनाहरुसँग सामेल भएर काम गर्नुपर्ने हुन्छ । वडा र नगरले आफ्नो तहबाट गर्न नसक्ने, बजेटले नभ्याउने कुराहरु प्रदेशबाट गर्ने गराउने हो । 

सुकुम्बासीहरुको समस्या समाधानका लागि प्रदेशले अधिकारसहितको योजना स्थानीय तहलाई दिनेछ । अहिले पनि ५२ वटा अधिकार बोकेर बसेको स्थानीय तहमा सुकुम्बासी समस्याको समाधानका लागि कार्यक्रमहरु ल्याइने छ । सुकुम्बासीहरु अब सुकुम्बासी रहन्नन्, छिट्टै नगरबासी बन्नेछन् । 

मसँग संसदीय क्षेत्रमा जनताको दुख सुखमा एकाकार भएर काम गरेको लामो अनुभव छ । विकास कसरी गर्नुपर्छ भन्ने जानकारी छ । यहाँका समस्यालाई कसरी उठाउनु पर्छ  र समाधान गर्नुपर्छ भन्ने बारेमा स्थानीय तह, प्रदेशसभा र संघीय संसदमा विषय उठान गरेर, बहस, छलफल गरेर–गराएर कार्यान्वयन गराउने प्रतिवद्धता गर्दछु । 

अन्त्यमा केही भन्नु हुन्छ कि ?

मैले ३० वर्षदेखि जनताको काम गरेको छु । जनप्रतिनिधि रहेर पनि नरहेर पनि जनताको सेवा गरिरहेको छु । विद्यार्थी कालमा पार्टीको काम गरेँ, त्यसपछि पार्टी र जनताको कामलाई निरन्तरता दिइरहेको छु । जनताबाट उनीहरुकै काम लिएर जिल्ला जाँदा होस् या अन्य कुनै कामको लागि होस्, मैले एकै रुपैयाँ कसैबाट लिएको छैन, एक लिटर पेट्रोल हालेको छैन । मलाई यहाँहरुले नजिकबाट बुझ्नु भएको छ ।

यसैले एकपटक उपल्लो तहमा जिम्मेवारी दिएर हेर्नुस् । मैले समृद्धि, उन्नतिको लागि अनि परिवर्तनका लडेको लडाईंबाट पाउने उपलब्धी सबै जनताको लागि नै हुनेछ । मुलुकमा स्थिर सरकार दिनका लागि वाम गठबन्धन बनाइएको छ । एमाले र माओवादी केन्द्रको एकीकरण पछि स्थानीय तहमा बहुमत पुग्छ र स्थिरता आउँछ । अब केन्द्रमा र प्रदेशमा पनि स्थिर सरकार बनाउनु पर्नेछ । त्यसैले वाम गठबन्धनको उम्मेदवार मलाई सूर्य चिन्हमा मतदान गरी प्रदेशसभा सदस्यमा विजयी गराउनु हुन हार्दिक अपील गर्दछु । 

जुँगाको रेखी बस्दादेखि राजनीतिमा आएको मान्छे केश पाक्न थालिसकेको छ । यो निर्वाचनमा विजयी भएपछि पनि म यहाँका हरेक विकास निर्माणका कामहरुदेखि लिएर व्यक्तिगत समस्याहरुको समाधानमा एकाकार भएर रहिरहनेछु । राजनीतिक यात्रामा निरन्तर छु र मलाई मतदान गरी विजयी गराएर अझै उत्साह थपिदिनु हुनेछ भन्नेमा विश्वास राख्दछु । 

प्रतिकृया दिनुहोस