कनकाई १ खुल्ला दिसामुक्त क्षेत्र घोषणा 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,मंसिर , ८ 16:25:48

30271-20171124162548.jpg

सुरुङ्गा ।  झापाको कनकाई नगरपालिका वडा नं. १ शुक्रबारदेखि खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको छ । 

कूल ८७४ घरधुरी रहेको सो वडामा खुल्ला दिसामुक्त अभियान थालनी हुनुअघि ८०१ घरमा सुरक्षित चर्पी रहेकोमा ७३ घरधुरीमा सुरक्षित शौचालयको निर्माण भई अब खुल्ला दिसामुक्त घोषणा भएको हो ।
 
कनकाई नगरपालिकाकाको वडा नं. ८ यसअघि नै खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसकेको छ भने वडा नं. ६ र ९ अन्तिम गुणस्तर अनुगमन भई खुल्ला दिसामुक्त घोषणाको तयारीमा रहेका छन् । 

शुक्रबार आयोजित वडा नं. १ को खुल्ला दिसामुक्त घोषणा समारोहका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले नगरपालिकालाई २०७४ पौष २ गतेभित्रै खुल्ला दिसामुक्त घोषणा गर्ने प्रतिवद्धता दोहोर्याएका छन् । 

खुल्ला दिसामुक्त घोषणा पूर्ण सरसफाईको पहिलो पाइलामात्र भएको बताउँदै नगरप्रमुख पोखरेलले “सरसफाई हाम्रै लागि हो, देखाउनका लागि होइन, आनीबानी परिवर्तन गर्नका प्रतिवद्ध बनौं” भन्ने सन्देश दिए ।

खुल्ला दिसामुक्त अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नासबहादुर तिम्सिना र थिरकुमार पोखरेललाई कार्यक्रमका प्रमुख अतिथिले दोसल्ला ओढाएर सम्मान गरे । 

वडा नं. १ का अध्यक्ष एवम् वडास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष रोशनराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका सरसफाई फोकल पर्सन रुद्रबहादुर न्यौपानेले अभियानको बारेमा जानकारी गराएका थिए । 

वातावरण तथा सरसफाई समितिका अध्यक्ष एवम् वडा नं. २ का वडाध्यक्ष परशुराम गिरी, वडा सचिव लक्ष्मी अधिकारी, सीता पोखरेललगायतले सामाजिक समुन्नति र प्रतिष्ठाका लागि कनकाईलाई पूर्ण सरसफाइयुक्त बनाउनु पर्नेमा जोड दिए । 

कनकाई नगरपालिकामा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम÷युएन ह्याबिट्याटसँगको सहकार्यमा विराट सामुदायिक अध्ययन केन्द्रले खुल्ला दिसामुक्त अभियानमा सहजीकरण गरिरहेको छ । 

प्रतिकृया दिनुहोस