दलहरुका चुनावी घोषणापत्र देखाउने दाँतमात्रै ! (अडियो रपिोर्टसहित)


प्रतिक न्यौपाने , प्रकाशित मिति : २०७४ ,मंसिर , ८ 15:20:24

30269-20171124152024.jpg

 

झापा । हरेक निर्वाचनका लागि राजनीतिक दलहरुले घोषणापत्र सार्वजनिक गर्ने प्रचलनलाई यसपटक पनि निरन्तरता दिएका छन् । दलीय घोषणापत्रमा देशकै विषय उठान गरिने भएकाले स्थानीय तहको आवश्यकतालाई सम्बोधन हुने गरी सम्बन्धित क्षेत्रका उम्मेदवारहरुले पनि आ–आफ्नै प्रतिवद्धतापत्र बनाउँछन् र जारी गर्छन् । तर, विगतदेखिका घोषणापत्रहरु पढेका र बुझेका झापाका मतदाताहरु घोषणापत्र अनुसार काम हुनेमा आशाभन्दा बढी आशंका गर्न थालेका छन् । 

यस विषयमा पंङ्तिकारले मेचीनगरका केही मतदातासँग साक्षात्कार गरेको छ । उनीहरु पटक पटकका चुनावमा घोषणापत्रमा विकासका योजना पढेका तर व्यहारमा नदेखेको सुनाउँछन् । उनीहरु आसन्न चुनावका लागि दलहरुले बनाएको घोषणापत्र पनि मत तान्ने आधार मात्रै भएको बुझिरहेका छन् । तिनको विश्लेषणलाई आधार मान्दा दलहरुका चुनावी घोषणापत्र हात्तीका देखाउने दाँतजस्ता मात्र बन्दै गएका छन् ।  

२०७० सालको चुनावमा झापामा दलहरुले मेची राजमार्ग अन्तर्गत चारआली–केचना सडक खण्ड निर्माण गर्ने आश्वासन दिएर भोट मागे । तर ४ वर्ष पछि हुन लागेको चुनावमा फेरि दलीय घोषणपत्र र मतदातासँगको भेटमा त्यही विषयले प्रमुख ऐजण्डा बन्नु परेको छ । 

यस्ता थुप्रै विकासे नारासहितका चुनावी फण्डा ब्यहोरेका मतदाता यसपटकको निर्वाचनमा दल र उम्मेदवारहरुले सार्वजनिक गरेको घोषणापत्र कार्यान्वय हुने कुरा पत्याउन सकिरहेका छैनन् । 

मेचीनगर १० का मेदनी भेटवाल भन्छन्, ‘यस अघिका निर्वाचनमा नेता कार्यकर्ताले विभिन्न आश्वासन दिएका थिए, तर कार्यान्वयन पक्ष सन्तोषजनक रहेन । दलहरुका आश्वासन सबै भोट माग्ने मेलो मात्र रहेछन्, दलहरु सत्तामुखी र कुर्सीमुखी मात्र देखिए ।’  

घोषणापत्रमा विकासका धेरै सपना देखाइएको हुन्छ । अझ चुनावीसभा वा घरदैलो कार्यक्रममा उम्मेदवारहरु महत्वकांक्षी योजना घोषणा गर्ने प्रतिस्पर्धा नै गर्छन् । तर त्यस्ता आश्वासन र घोषणा मत तान्ने साधन मात्रै भएको झापाका मतदाताको बुझाई छ । 

मेचीनगर १५ का बासिन्दा सन्तोष पाहान आफूहरुलाई आशा देखाएर निराश पारेको बताउँदै भन्छन्, ‘नेताहरुको कुरामा रत्तिभर पनि विश्वास लाग्न छाडेको छ ।’ 

नयाँ संविधानको निर्माण, त्यसको कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी काम सम्पादन गर्नु परेकाले विगतका वर्षमा काम हुन नसकेको दलका नेताहरुको जिकिर हुनेगर्छ । हुन पनि स्थानीय विकास निर्माणका एजेण्डाहरु भन्दा राष्ट्र निर्माणको एजेण्डाले प्रमुखता पाउनु पथ्र्यो र पायो पनि । तर अघिल्ला चुनावमा पनि विकासका ठूला सपना बाँडियो, त्यस्ता सपना नदेखाइएको भए हामी आशै गर्ने थिएनौं । तिनै सपना पूरा हुन नसकेकोमा मतदाता दुःखी बनेका हुन् । 

‘अब राजनीतिक परिवर्तनको चरण सकिएको र आर्थिक समृद्धिका लागि कदम चाल्नु पर्ने स्वयम् दलका नेताहरु नै बताइरहेका छन् । यसले अब विकासले तीब्रता पाउनेमा मतदातामा विश्वास जगाउनु पर्ने’मा मेचीनगर १५ का उमाकान्त आचार्य सुझाब दिन्छन् ।  

आसन्न निर्वाचनका लागि दलहरुले १० वर्ष भित्रमा २० हजार मेगावाट विद्युत उत्पादन गरिसक्ने, गरिबीको रेखामुनि रहेका जनताको हिस्सा ३ प्रतिशतभन्दा कम गर्ने जस्ता महत्वाकांक्षी योजना घोषणापत्र मार्फत सार्वजनिक गरेका छन् । 

झापाका उम्मेदवारहरुले चारआली केचना सडक खण्ड निर्माण, झापामा शतप्रतिशत सिञ्चाई सुविधा पुर्याउने, गाउँगाउँमा कालोपत्रे सडक पुर्याउने लगायतका योजना जनताका माझमा पुर्याएका छन् । यस्ता योजनाहरु कार्यान्वयनमा नै ल्याएर जनताको भावना जित्नु पर्नेमा अब जनप्रतिनिधिको कार्यभार हुनेछ ।

प्रतिकृया दिनुहोस