झापा क्षेत्र नं. ४ : कांग्रेसलाई वाम गठबन्धनको चुनौति


सरोज भट्टराई , प्रकाशित मिति : २०७४ ,मंसिर , ४ 13:26:19

30205-20171120134509.jpg

दूधे । झापा क्षेत्र नंं ४ मा वामगठबन्धनका अगाडि नेपाली कांग्रेसलाई मत आफ्नो पक्षमा पार्न निकै चुनौति छ । मुख्यतः दुई दलीय वाम गठबन्धन र कांग्रेस आ–आफ्नो एजेण्डा लिएर चुनाव प्रचार प्रसारमा व्यस्त बनेका छन् ।

वामगठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार एलपी साँवा र नेपाली कांग्रेसका देउमान थेवे दुवैजना आफ्नो जीत सुनिश्चत भएको दाबी गर्छन् ।

२०६४ सालको चुनावमा नेपाली कांग्रेसका केशबकुमार बुढाथोकीले सो क्षेत्रबाट जीत हासिल गरेका थिए । त्यस्तै २०७० मा भएको दोस्रो संविधानसभाको चुनावमा नेकपा एमालेका उम्मेदवार एलपी साँवालाई २४० मत अन्तरले हराउँदै पुनः नेपाली कांग्रेसका उम्मेदवार बुढाथोकी नै विजयी बनेका थिए । तर २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन नेपाली कांग्रेसलाई निकै भारी पर्ने देखिन्छ ।

२०७० सालको चुनावमा म झिनो मतले पछाडि परेको हुँ । जितेर गएका उम्मेदवार फर्केर मतदाता सम्म पुगेनन् । म हारेर पनि जनताको सुखदुखमा साथ दिँदै आएँ । त्यसैले आफ्नो जीत सुनिश्चित भएको नेकपा एमालेका उम्मेदवार एलपी साँवा दावी गर्छन् ।

नेपाली काग्रेसका उम्मेद्वार देउमान थेवे वाम गठबन्धनले आफ्ना मतदातालाई केही फरक नपार्ने भन्दै आफू जीतको नजिक पुगेको बताउँदै आएका छन् । 

दुवैको भनाई संविधान कार्यान्वयनदेखि नेपाललाई समृद्धिको बाटोमा लैजानु पर्नेमा केन्द्रित हुनेगर्छ । भौतिक विकास, नदी नियन्त्रण, खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता स्थानीय एजेण्डा अगाडि सारेका उम्मेदवारहरु मतदाता कहाँ छन्, त्यहीँ पुगर कतै धान काट्दै त कतै कोदालो चलाउने मोडलिङ पनि गरिरहेका छन् । 

सो क्षेत्रमा प्रदेशसभा तर्फ पनि रोचक भिडन्त देखिएको छ । प्रदेशसभा (क) मा वामगठबन्धन तर्फका उम्मेदवार माओवादी केन्द्रका झलकसिंह दर्लामी र नेपाली कांग्रेसका किरण भट्टराई मैदानमा उत्रेका छन् । 

त्यसैगरी प्रदेशसभा (ख) मा वामगठबन्धनका तर्फबाट नेकपा एमालेका हिरा थापा र नेपाली कांग्रेसका उत्तमकुमार सुवेदी रोचक प्रतिष्पर्धा गरिरहेका छन् ।

झापाको निर्वाचन क्षेत्र नं. ४ अन्तरगत शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका, गौरादह नगरपालिकाको वडा नं. ९, गौरीगञ्ज गाउँपालिका वडा नं. १ र २ तथा कनकाई नगरपालिकाको १ देखि ७ सम्मका वडाहरु पर्दछन् । निर्वाचन आयोगको तथ्याङ्क अनुसार सो निर्वाचन क्षेत्रमा १ लाख ९ हजार ४०१ मतदाता छन् । 

सोमध्ये प्रदेशसभा (क) मा शिवसताक्षी नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ८ र ११ रहेका छन् । यस्तै गौरादह नगरपालिकाको वडा नं. ९ र गौरीगञ्ज गाउँपालिका वडा नं. १ र २ क्षेत्र नं. ४ को प्रदेशसभा (क) मा समेटिएका छन् । सो प्रदेशसभा निर्वाचन क्षेत्रमा ४७ हजार ८५३ जना मतदाता छन् ।

त्यसैगरी प्रदेशसभा (ख) मा शिवसताक्षी नगरपालिका वडा नं. ७, ९ र १०, झापा गाउँपालिका, कनकाई नगरपालिकाकाको वडा नं. १, २, ३, ४, ५, ६, र ७ वडाहरु पर्दछन्  । क्षेत्र नं. ४ को प्रदेशसभा (ख) मा ६१ हजार ५४८ जना मतदाता छन् । 

गत असारमा सम्पन्न स्थानीय तह निर्वाचनमा सो क्षेत्र अन्तरगतका वडामा वडाध्यक्षहरुले प्राप्त गरेको मत परिणामलाई यो आलेखमा विश्लेषणको आधार बनाइएको छ । किनकि, वडाध्यक्षहरुले निर्वाचनमा सहभागी हुँदा व्यक्तित्वको आधारमा वा प्रभावका आधारमा मत बटुलेको हुन्छ ।  चुनावी अभियान सञ्चालन गर्न वडाध्यक्षले पहुँच पनि प्रयोग गर्ने भएकाले सोभन्दा तल वा माथिल्लो मतलाई भन्दा वडाध्यक्षको मत तुलनात्मक रुपमा गणनायोग्य ठानिएको हो । 

यस आधारमा हेर्दा क्षेत्र नं. ४ मा वाम गठबन्धनतर्फ ३७ हजार ५११ मत प्राप्त भएको छ भने नेपाली कांग्रेस एक्लैले २२ हजार ९७३ मत प्राप्त गरेको तथ्याङ्क छ । यस आधारमा हेर्दा वाम गठबन्धनले पाएको मत नेपाली कांग्रेसले पाएको मतभन्दा १४ हजार ५३८ मतले अगाडि देखिन्छ ।

प्रदेश (क) मा वाम गठबन्धनको पोल्टामा १६ हजार ८८१ मत छ भने नेपाली कांग्रेसको ११ हजार ३६४ मत देखिन्छ । यसरी हेर्दा प्रदेश (क) मा वाम गठबन्धनसँग नेपाली कांग्रेसका उम्मेदवारले पाउने मत ५ हजार ५१७ को अन्तर देखिन्छ । 

त्यस्तै प्रदेश (ख) मा वाम गठबन्धनसँग २० हजार ६३० मत छ । नेपाली कांग्रेसले प्राप्त गरेको ११ हजार ६०९ मत वाम गठबन्धनभन्दा ९ हजार २१ मतान्तर देखिएको छ । 

स्मरणीय छ कि, स्थानीय तहको निर्वाचन पछि मतदाताहरुमा आएको उत्साहका कारण फोटोसहितको मतदाता नामावलीमा नाम थप गरेपछि क्षेत्र नं. ४ मा मात्रै १० हजार हाराहारी मतदाता थपिएका छन् ।  

यदि राजनीतिकरुपमा मतदाताहरुले विगतको अभ्यासलाई निरन्तरता दिने हो भने आसन्न निर्वाचनमा वाम गठबन्धनसँग नेपाली कांग्रेसलाई आफ्नो क्षेत्र सुरक्षित गर्न ठूलै चुनौति रहनेछ ।  

प्रतिकृया दिनुहोस