झापा २ को ताजा जनमतमाथि गणितीय विश्लेषण


गणेश पोखरेल , प्रकाशित मिति : २०७४ ,मंसिर , १ 13:55:02

वाम गठबन्धनका उम्मेदवार भारी मतले अगाडि

30166-20171117135502.jpg

यही मंसीर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जनमत कस्तो छ । निर्वाचनमा प्रचार तीब्र भइरहँदा हिजोको अवस्था के थियो र भोलि के होला भन्ने आम चासो छ । यो चासोलाई सम्बोधन गर्नु एउटा सञ्चारकर्मीको दायित्व पनि हो । 

झापाको निर्वाचन क्षेत्र नम्वर १, ३ र ५ चर्चाको शिखरमा हुँदा पनि क्षेत्र नम्बर २ र ४ भने गुमनाम जस्तै भएका छन् । यहाँ स्थानीय तहको निर्वाचनमा के भएको थियो भनेर एकपटक तथ्याङ्क हेर्ने जमर्को गरिएको छ ।

जनमत परिवर्तनका लागि कम्तिमा ३ वर्ष लाग्ने विभिन्न अनुसन्धानले देखाएका छन् । त्यसैले पनि झापाको २ नम्बरमा रहेका स्थानीय तहका वडामा कुुन पार्टीका वडाध्यक्षका उम्मेदवारले कति मत प्राप्त गरेका थिए भनेर यहाँ राख्ने र विश्लेषण गर्ने काम भएको छ । यो जनमतमा कति के होला भनेर अनुमान लगाउन सहज हुनेछ ।

झापाको क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा बिर्तामोड नगरपालिकाका १ देखि ९ नम्बर वडासम्म र कनकाई नगरपालिकाको ८ र ९ नम्बर गरी ११ वटा वडा रहेका छन् । यो क्षेत्रमा रहेका ११ वटा वडामा ५१ हजार ४९८ मतदाता रहेका छन् । 

ती मतदाताले ५८ वटा मतदान केन्द्रमा मतदान गर्नेछन् । यो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा एमाले वडाध्यक्षले, त्यसपछि क्रमशः कांग्रेसका, राप्रपा र माओवादीका वडाध्यक्षले मत प्राप्त गर्नु भएको थियो । बिर्तामोडको १ नम्बर वडामा एमालेका अग्निप्रसाद पाण्डेले १ हजार २७२ मत प्राप्त गरी विजयी हुनुभयो । सो वडामा कांग्रेसका देवी निरौला बस्नेतले ७३९ मत, माओवादीका हाइकुमार राईले १६९ र राप्रपाका शारदा रिजालले ६९ मत प्राप्त गर्नुभयो । 

वडा नम्बर २ मा एमालेका नगेन्द्रप्रसाद संग्रौलाले १ हजार ५७९ मत प्राप्त गरी विजयी हुँदा माओवादीका नेठुलाल राजवंशीले २७९ र राप्रपाका शंकरप्रसाद रिजालले ७५६ मत प्राप्त गर्नु भएको थियो । कांग्रेसका प्रतिमान खड्काले १ हजार १४७ मत प्राप्त गर्नु भएको थियो । 

३ नम्बर वडामा कांग्रेसका भोजराज सिटौलाले १ हजार २९९ मत प्राप्त गरी विजयी बन्नुभयो । त्यहाँ एमालेका अमृतबहादुर बुढाथोकीले ७५२, राप्रपाका दिपकलाल मास्केले ४४९ र माओवादीका चक्रप्रसाद विमलीले २७६ मत प्राप्त गर्नु भएको थियो । 

वडा नम्वर ४ मा कांग्रेसका कुलप्रसाद संग्रौलाले १ हजार १३२ मत प्राप्त गरी विजयी हुनुभयो । त्यहाँ एमालेका नन्दलाल खरेलले १ हजार ११९, माओवादीका जनबहादुर जवेगुले ४४९ र राप्रपाका खगेन्द्रकुमार थापाले ३७७ मत प्राप्त गर्नु भएको थियो । 

यसैगरी, वडा नम्बर ५ मा एमालेका राजेन्द्रप्रसाद लिङ्देनले २ हजार १०४ मत प्राप्त गरी विजयी हुनुभयो  । सो वडामा माओवादीका वीरबहादुर दर्नालले ४३६ र राप्रपाका चन्द्रप्रसाद गिरीले ३०० मत प्राप्त गर्दा कांग्रेसका लक्ष्मीप्रसाद आचार्यले १ हजार ३१५ मत प्राप्त गर्नु भएको थियो । 

वडा नम्बर ६ मा कांग्रेसका सूर्यप्रसाद कन्दङ्वाले ७५८ मत प्राप्त गरी विजयी हुनुभयो । सो वडामा एमालेका गणेशकुमार कन्दङ्वाले ५६६, माओवादीका रामकृष्ण अधिकारीले १९९ र राप्रपाका विष्णु गिरीले १०७ मत प्राप्त गर्नु भएको थियो । 

वडा नम्बर ७ मा एमालेका गंगाबहादुर भट्टराईले ९८१ मत प्राप्त गरी विजयी हुनुभयो । सो वडामा माओवादीका नन्दकुमार उप्रेतीले ५९७, राप्रपाका जीवन कार्कीले ३२३ र कांग्रेसका रत्नकुमार श्रेष्ठले ४१० मत प्राप्त गर्नु भएको छ । 

वडा नम्बर ८ मा राप्रपाका अजय कार्की १ हजार २७ मत प्राप्त गरी विजयी हुनु भएको थियो । सो वडामा एमालेका शेखर कँडेलले ४६५, माओवादीका नवराज खतिवडाले १९३ मत र कांग्रेसका यदुप्रसाद दाहालले ३८४ मत प्राप्त गर्नु भएको छ । 

यसैगरी, वडा नम्बर ९ मा एमालेका पवित्रा पाठकले ५७६ मत प्राप्त गरी विजयी हुनुभयो । सो वडामा राप्रपाका प्रकाश बुढाथोकीले ५१३, माओवादीका मनप्रसाद लिम्बूले ४५५ मत प्राप्त गर्दा कांग्रेसका भोलानाथ पौडेलले ३३० मत प्राप्त गर्नु भएको थियो ।

झापा निर्वाचन क्षेत्र नं. २ अन्तरगत प्रदेशसभा (१) मा राखिएकोे कनकाई नगरपालिका वडा नं. ८ मा एमालेका प्रेमबहादुर कटुवाल ७७५ मत प्राप्त गरी विजयी हुनुभयो । सो वडामा माओवादीका तुलसीराम कालिकोटेले ५१ र राप्रपाका चेतनप्रसाद सिटौलाले १९ मत प्राप्त गर्नु हुँदा कांग्रेसका दुर्गाप्रसाद पराजुलीले ६९९ मत प्राप्त गर्नु भएको थियो । 

यस्तै, वडा नम्बर ९ मा कांग्रेसका प्रेमप्रसाद राजवंशी ८४५ मत प्राप्त गरी विजयी बन्नु भएको छ । सो वडामा एमालेका चुवालाल राजवंशीले ५२१, माओवादीका अजितकुमार कायस्थले ८५ मत प्राप्त गर्दा राप्रपाका गंगाबहादुर खड्काले १५८ मत प्राप्त गर्नुभएको थियो । 

झापा २ को प्रदेशसभा १ मा एमालेका वडाध्यक्षहरुले १० हजार ७१३ मत, माओवादीका वडाध्यक्षहरुले ३ हजार १०९ मत र राप्रपाका वडाध्यक्षहरुले ४ हजार ९८ मत प्राप्त गर्नु भएको छ । 

तीन दलीय गठबन्धनमा ती दलका वडाध्यक्षले प्राप्त गरेको मत जोड्दा १७ हजार ९२० मत हुन आउँछ । यहाँ कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ९हजार ६६ मत प्राप्त गर्नु भएको छ । गठबन्धन दलको मतमा कांग्रेसको घटाउँदा ८ हजार ८५४ मत हुन आउँछ । 
यसर्थ प्रदेशसभामा सो क्षेत्रका गठबन्धनबाट एमाले उम्मेद्वार एकराज कार्की झण्डै डबल मतअन्तरले अगाडि हुनुहुन्छ ।

झापा क्षेत्र नं. २ को प्रदेशसभा (२) मा अर्जुनधारा नगरपालिकाका ११ वटा वडा र बुद्धशान्ति गाउँपालिकाका १, २ र ३ नम्बर वडा समेटिएका छन् । सो क्षेत्रका १४ वटा वडाको मतदाता संख्या ६६ हजार ७०७ रहेको छ । यहाँ ७८ वटा मतदान केन्द्र रहेका छन् । 

अर्जुनधाराको १ नम्बर वडामा एमालेका गजाधर खतिवडा १ हजार १७५ मत प्राप्त गरी विजयी हुनु भएको थियो । सो वडामा माओवादीका सुरेन्द्र आचार्यले १२२ मत प्राप्त गर्दा कांग्रेसका उपेन्द्र बस्नेतले ८६३ मत प्राप्त गर्नु भएको थियो । 

यसैगरी, २ नम्बर वडामा एमालेका रघुनाथ खनाल ९५७ मत प्राप्त गरी विजयी हुनुभयो । सो वडामा माओवादीका राजेन्द्रप्रसाद मैनालीले २८१ मत र राप्रपाका कुमार सापकोटाले ३९ मत प्राप्त गर्दा कांग्रेसका नरेन्द्रकुमार श्रेष्ठले ९५४ मत प्राप्त गर्नुभयो । 

३ नम्बर वडामा कांग्रेसका जीवकुमार भण्डारीले १ हजार २२७ मत प्राप्त गरी विजयी हुनुभयो । एमालेका नरबहादुर कन्दङ्वाले १ हजार १५३, माओवादीका नारायण पौडेलले १९२ र राप्रपाका गणेशबहादुर दाहालले ५२ मत प्राप्त गर्नु भएको थियो । 

वडा नम्बर ४ मा एमालेका दुर्गाप्रसाद दाहालले १ हजार ११८ मत प्राप्त गरी विजयी हुनुभयो । माओवादीका विदुर भट्टराईले २९५ र राप्रपाका प्रेमबहादुर कार्कीले ४७ मत प्राप्त गर्दा कांग्रेसका मदनकुमार थापाले ७७० मत प्राप्त गर्नु भएको थियो । 

यसैगरी अर्जुनधारा नगरपालिकाको ५ नम्बर वडामा एमालेका ध्यानबहादुर भारतीले १ हजार १६४ मत प्राप्त गरी विजयी हुनुभयो । माओवादीका देवराज बुढाथोकीले ३२० र राप्रपाका गीताराज खड्काले ५५४ मत प्राप्त गर्दा कांग्रेसका अमरदिप भेटवालले १ हजार ३२ मत प्राप्त गर्नुभयो । 

६ नम्बर वडामा एमालेका लोकनाथ गौतम ७८८ मत प्राप्त गरी विजयी हुनु भएको थियो । माओवादीका मेघराज आचार्यले २२६, राप्रपाका दिवाकर पराजुलीले १६३ मत प्राप्त गर्दा कांग्रेसका रमेशकुमार काफ्लेले ५१८ मत प्राप्त गर्नु भएको थियो । 

वडा नम्बर ७ मा कांग्रेसका नवराम ....... ९४२ मत प्राप्त गरी विजयी बन्नु भएको थियो । सो वडामा एमालेका रमेशकुमार दर्जीले ९३१, माओवादीका रमादेवी भट्टराईले ९१ र राप्रपाका रामबहादुर श्रेष्ठले ३३ मत प्रापत गर्नु भएको थियो । 

८ नम्बर वडामा कांग्रेसका गोपीचन्द्र गौतमले ९७४ मत प्राप्त गरी विजयी हुनुभएको थियो । एमालेका दिलिप गुरुङले ९५८ मत, माओवादीका कृष्णप्रसाद गौतमले २७९ मत प्राप्त गर्नु भएको थियो । 

९ नम्बर वडामा एमालेका पुष्पकुमार प्रसाईंले १ हजार २२९ मत प्राप्त गरी विजयी बन्नुभयो भने माओवादीका पुष्पबहादुर तामाङले ४३०, राप्रपाका ओमप्रकाश मिश्रले ३२० मत प्राप्त गर्दा कांग्रेसका ज्योति विष्टले ८५८ मत प्राप्त गर्नुभयो । 

यसैगरी, १० नम्बर वडामा एमालेका बलदेव गोम्देनले १ हजार १७८ मत प्राप्त गरी विजयी हुँदा माओवादीका नरसिंह लिम्बूले ३६४, राप्रपाका तेजबहादुर सुवेदीले ८६ मत प्राप्त गर्दा कांग्रेसका शेखरनाथ अधिकारीले ६७४ मत प्राप्त गर्नु भएको छ । 

अर्जुनधारा ११ मा एमालेका भैरवबहादुर खड्काले १ हजार ४८९ मत प्राप्त गरी विजयी हुनुभयो । सो वडामा माओवादीका बुद्धिलाल चौधरीले ३०३, राप्रपाका मणि विकले ५२ मत प्राप्त गर्दा कांग्रेसका जगतबहादुर मगरले १ हजार १२५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै बुद्धशान्ति गाउँपालिकाको १ नम्बर वडामा कांग्रेसका भिमकुमार नेवारले १ हजार ३३० मत प्राप्त गरी विजयी हुनु भएको थियो । सो वडामा एमालेका केशव सापकोटाले १ हजार २६५, माओवादीका पूर्णप्रसाद सञ्जेलले ५४३ र राप्रपाका नन्दकुमार तिम्सिनाले ८८ मत प्राप्त गर्नु भएको छ । 

वडा नम्बर २ मा एमालेका दिलिप श्रेष्ठले १ हजार ४२१ मत प्राप्त गरी विजयी बन्नुभयो भने माओवादीका दिवामाया अधिकारीले ५६२ मत प्राप्त गर्दा कांग्रेसका शान्तिराम भण्डारीले १ हजार ७९ मत प्रापत गर्नु भएको छ । 

३ नम्बर वडामा कांग्रेसका कमलप्रसाद उप्रेतीले १ हजार ४७८ मत प्रापत गरी विजयी बन्नुभयो । सो वडामा एमालेका धनकुमार थुलुङले १ हजार ४४९ मत प्राप्त गर्दा माओवादीका डिल्लीराम श्रेष्ठले ७८३ मत प्राप्त गर्नु भएको थियो ।

यसरी झापा क्षेत्र नम्बर २ को प्रदेशसभा २ नम्बरमा एमालेका वडाध्यक्षहरुले १६ हजार २७५ मत, माओवादीका वडाध्यक्षहरुले ४ हजार ७९१ मत र राप्रपाका वडाध्यक्षहरुले १ हजार ४३४ मत प्राप्त गर्नु भएको छ । एमाले, माओवादी र राप्रपा गठबन्धनको मत २२ हजार ५०० हुन आउँछ भने कांग्रेसका वडाध्यक्षहरुले प्राप्त गरेको मत १३ हजार ८२४ थियो । 

गठबन्धनको मतबाट कांग्रेस वडाध्यक्षले प्राप्त गरेको मत घटाउँदा ८ हजार ६७६ मत हुन आउँछ । यसले के देखाउँछ भने यहाँ कांग्रेसका उम्मेदवारलाई प्रतिष्पर्धा कठिन छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ को कुरा गर्दा प्रदेशका २५ वटा वडाका गठबन्धनका वडाध्यक्षले प्राप्त गरेको मत ४० हजार ४२० हुन आउँछ । कांग्रेसका वडाध्यक्षले २२ हजार ८९० मत प्राप्त गर्नु भएको छ । कांग्रेसले प्राप्त गरेको मत गठबन्धनबाट घटाउँदा एमाले उम्मेदवार पवित्रा निरौला खरेल १७ हजार ५३० मतले अगाडि हुनुहुन्छ । 

एमाले र कांग्रेसको मात्र कुरा गर्दा पनि एमालेका वडाध्यक्षहरुले २६ हजार  ९८८ मत प्राप्त गर्नु भएको छ भने कांग्रेसका वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको २२ हजार ८९० मत घटाउँदा एमाले उम्मेदवार ४ हजार ९८ मतले अगाडि हुनुहुन्छ ।

राप्रपाबाट नगर प्रमुख पदका उम्मेदवार भक्ति सिटौलाले प्राप्त गरेको कांग्रेस कार्यकर्ताको मत उतै फर्कने भ्रम पनि सिर्जना गरिएको छ । तर, यहाँ हामीले झापाको बिर्तामोड नगरपालिकाको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतलाई मात्र आधार मानेका छौं । अर्थात्, संगठनका हिसाबले वडाध्यक्षले प्राप्त गरेको मत र नगर प्रमुखमा सिटौलाले प्राप्त गरेको मतमा फरक छ । 

सिटौलाले ६ हजार १७० मत प्राप्त गर्नु भएको थियो । त्यसैले वडाध्यक्षले प्राप्त गरेको मत भनेको राप्रपाको पार्टी संगठनको मत हो । उल्लेखित मतमा बिर्तामोडका अलावा बुद्धशान्तिको ३ वटा वडा, अर्जुनधाराका ११ वटा र कनकाईका २ वटा वडाको समेत जोडेर राप्रपाको मत ५ हजार ५३२ मत रहेको उल्लेख गरिएको छ । अर्थात् हिजो कांग्रेसका कार्यकर्ताले सिटौलालाई दिएको मत यो विवरणमा उल्लेख छैन भने पनि हुन्छ ।
  
झापाको बिर्तामोडमा केही मान्छे स्थानीय तहको निर्वाचनपछि कांग्रेस प्रवेश गरेको चर्चा चलेको छ, हिजो उनीहरु कांग्रेस निकट नै थिए । उनीहरुको मत प्रभावका हिसाबले प्रतिव्यक्ति अध्ययन गर्दा ‘तीन डिजिज’को संख्या पनि पुग्ने अवस्था छैन भने सबैको हिसाब गर्दा ‘चार डिजिज’को संख्या पुग्न कठिन छ । 

स्थानीय तहको मतदानपछि थपिएका मतदातामा एमाले समर्थक मतदाताको संख्या धेरै देखिएको छ । यो क्षेत्रका स्थानीय तहका अधिक वडामा जितेका प्रतिनिधि र एमालेका कार्यकर्ताले स्थानीय तहमा मत माग्न जाँदा मतदाता नामावलीमा नाम नभएका मतदाताको पहिचान गरी पछि फोटो खिचाएको कांग्रेस कार्यकर्ताले नै स्वीकार गरेका छन् । 

झापा २ मा अर्को पनि एउटा सवाल छ, पार्टीले निर्णय गर्दैमा जनताको सबै मत एक ठाउँमा खस्ला र ? यसमा अध्ययन गर्दा पार्टीले निर्णय गरेको पक्षमा ९० प्रतिशत कार्यकर्ता र ८५ प्रतिशत मतदातको समर्थन देखिन्छ । 

राप्रपालाई राष्ट्रिय पार्टी बनाउन वाम गठबन्धनले झापा ३ मा सहयोग गरेकाले राप्रपाका समर्थक शुभचिन्तकको मतसमेत गठबन्धनको पक्षमा छ । त्यस्तै माओवादी केन्द्रको कुरा गर्ने हो भने एमाले अध्यक्ष केपी शर्मा ओलीपछि झापाको नेतृत्व गर्ने नेताका रुपमा राम कार्की झापा १ मा उम्मेदवार रहनु भएकोले कसैले तलमाथि गर्ने अवस्था छैन । 

अझ भन्ने हो भने जित्नेलाई मत दिनुपर्छ, आफ्नो भोट नजित्नेलाई दिएर किन खेर फाल्ने भन्ने आम मतदाताको मत पनि यसपालि गठबन्धनलाई पर्ने अवस्था छ । यसले झापाको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभामा पवित्रा निरौला खरेल, प्रदेशसभामा एकराज कार्की र बृख प्रधानको मत अन्तर अझ बढ्ने आंकलन गर्न सकिन्छ ।
 

प्रतिकृया दिनुहोस