‘कम्युनिस्टको नेतृत्वमा बहुमतीय सरकार’


साझामञ्च, प्रकाशित मिति : २०७४ ,कार्तिक , २८ 12:54:12

30108-20171114125412.jpg

मेचीनगर । वाम गठबन्धनका तर्फबाट झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्रकुमार कार्कीले कम्युनिस्टको बहुमतीय सरकार नबनेसम्म मुलुकको विकास नहुने जिकिर गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न चुनावमा प्रचारप्रसार गर्नेक्रममा बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर ४ मा आयोजित सभामा उनले यस्तो धारणा राखेका हुन् ।

सो वडाका मङ्गलबारे बजार, जोरलाभार, आइतबारे चोक, पिपल चोक, ढकाल चोकलगायत विभिन्न स्थानमा सोमबार चुनावी कोणसभामा सम्पन्न भएका छन् । 

माओवादी केन्द्रका नेता तथा पूर्व सूचना तथा सञ्चार मन्त्री कार्कीले एमाले र माओवादीले पटकपटक चुनाव जीतेर सत्तामा पुगे पनि नीति निर्माणको तहमा कम्युनिस्टको बहुमत नपुग्दा जनताका आकाङ्क्षा ज्यूँका त्यूँ रहेकाले अब बहुमतीय सरकारको आवश्यकता औंल्याएका हुन् ।

निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत प्रदेशसभा सदस्य २ का उम्मेदवार गोपालचन्द्र बुढाथोकीले स्थिर सरकार र राजनीतिक स्थायित्वका लागि बहुमतीय सरकार बन्नैपर्ने दोहोर्याए । कम्युनिस्टको नेतृत्वमा बहुमतीय सरकारको जनताको चाहना पूरा हुनेमा अब दुई मत छैन ।

कोणसभामा निर्वाचन परिचालन कमिटीका संयोजक विष्णु प्रसाईंले आम शोषित, पीडित, निमुखा, सर्वहारा वर्गले आफ्नो राज्य सत्ता स्थापना गर्न वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कार्कीलाई ‘टुरिस्ट’को संज्ञा दिइएको प्रति आपत्ति जनाउँदै प्रसाईंले भने ‘नेपालको मान्छे, बुद्धशान्तिमा जग्गा भएको, प्रतिनिधिसभाका लागि यही क्षेत्रबाट उम्मेदवार भएको व्यक्ति कसरी टुरिस्ट हुन्छ ? विपक्षी राजनीतिक दललाई टुरिस्ट शब्दको अर्थ राम्रोसँग बुझ्न र अभिव्यक्ति दिन सुझाए ।

निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत प्रदेशसभा सदस्य १ का उम्मेदवार श्रीप्रसाद मैनालीले कम्युनिष्टको सरकार आउने बित्तिकै काँकरभिट्टा—सलकपुरसम्मको सडक पिच गरिने, कल्भर्ट निमार्ण र खानेपानीको समस्या समाधान गरिने प्रतिबद्धता जनाए ।

मेचीनगर—२ स्थित दिपज्योति, सरस्वती र थापाचोकमा सोमबार आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले त्यस्तो कुरा बताएका हुन् । वाम गठबन्धनबाट काँग्रेस तर्सिएको बताउँदै मैनालीले कांग्रेसले धेरै पटक बहुमतको सरकार सञ्चालन गरे पनि जनताको जीवनस्तर कहिले नसुध्रिएको बताए । 

वाम गठबन्धनबाट झापा १ का समानुपातिक उम्मेदवार भीम खवासले ७० प्रतिशत वामपन्थीलाई ३० प्रतिशत विपक्षी पार्टीले अब राज गर्न नसक्ने दावी गरे । उनले वाम गठबन्धन केटाकेटीले भाँडाकुडी खेलेर बनाएको होइन, यो राष्ट्रका लागि आवश्यक परेकाले बनाएको बताए । 

प्रतिकृया दिनुहोस