झापाका निर्वाचन क्षेत्र नं. २ र ३ मा के गर्दैछ वाम गठबन्धन 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,कार्तिक , २७ 17:25:43

30096-20171113172543.jpg

बिर्तामोड । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार गरिरहेका संयक्त वाम उम्मेदवारहरुले निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी अभियानलाई तीब्रता दिएका छन् । 

आज बिर्तामोड नगरपालिका वडा नम्बर १ र २ का विभिन्न टोलमा ६ वटा कोणसभा गरिएका छन् । कोणसभामा गठबन्धनका तीनवटै पार्टीका केन्द्रीय तहदेखि स्थानीय तहसम्मका जिम्मेवारीमा रहेका  नेताले सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा माओवादी केन्द्रका नेता ज्योतिसिंह दर्लामी, सिपी कडरिया, अरुण श्रेष्ठलगायतले गठबन्धनले दिगो राजनीतिक स्थिरता र मुलुकको समृद्विका लागि भूमिका खेल्ने बताए । कोणसभामा राप्रपाका नेताहरुले समेत प्रतिवद्वता मन्तव्य राखेका थिए । 

झापा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार पवित्रा निरौला खरेलले आफू कहिल्यै पनि जनतालाई ढाँटेर राजनीति नगरेको बताउँदै झुटो बोल्ने नेताहरुदेखि सतर्क रहन आग्रह गरिन् ।

उनले मुलुकको समृद्विको एजेण्डा कम्युनिष्टसँग मात्र रहेकाले आफू निर्वाचित भए ५ वर्ष भित्रमा आफ्नो क्षेत्रमा परिवर्तन देखाएरै छाड्ने प्रतिवद्वता जाहेर गरिन् ।

चुनावी कोणसभाहरुमा प्रदेशसभा सदस्यका उम्मेदवार एकराज कार्कीले आफूसँग आफ्नो ठाउँको बिकासका एजेण्डा रहेकाले निर्वाचित भएपछि स्थानीय तहसँग सहकार्य गरी जनताले महशुस गर्ने गरी विकासका योजना अघि बढाउने विश्वास दिलाए । 

झापा क्षेत्र नम्बर ३ को कचनकवल ६ बनियानीमा सोमबार आयोजित चुनावी कोणसभामा प्रतिनिधिसभा सदस्यका संयुक्त उम्मेदवार राजेन्द्र लिङ्देन, प्रदेशसभा सदस्यका उम्मेदवार बसन्त वानियाँ, एमाले नेता एवम् चुनाव प्रचारप्रसार समितिका संयोजक पुष्प पोख्रेल, माओवादी नेतृ धर्मशिला चापागाईंलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस