विकास निर्माणका कार्यमा बजेट अभाव हुन नदिने एमाले अध्यक्षको प्रतिवद्धता


साझामञ्च, प्रकाशित मिति : २०७४ ,कार्तिक , २७ 17:01:24

30095-20171113170124.jpg

गौरादह । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै एमाले अध्यक्ष केपी ओली  आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँग साक्षत्करमा जुटेका छन् । 

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सोमबार निर्वाचन क्षेत्र नम्बर ५को स्कूलचौन, चप्रामारीलगायतका स्थानमा भएका चुनावी सभालाई सम्बोधन गरेका छन् । 

ती कार्यक्रमहरुमा उनले आफ्नो निर्वाचन क्षेत्रमा विकास बजेटको अभाव हुन नदिने प्रतिवद्धता जनाएका छन् । गौरादह, महारानी झोडा, चप्रामारीलगायतका ठाउँको पूर्वाधार, धार्मिक तथा पर्यटकीय विकासका लागि आफू र आफ्नो पार्टीले बजेटको अभाव हुन नदिने मतदाता समक्ष ओलीले प्रतिवद्धता गरेका हुन् ।

यस्तै, गौरादह ५ स्थित महारानीझोडामा भएको चुनावी सभालाई सम्बोधनका क्रममा एमाले अध्यक्ष ओलीले आफ्नो दायित्व देश विकास गराउने भएकोले गौरादह नगरपालिकाको विकास गराउनु कुनै ठूलो काम नरहने जिकिर गरे । 

‘भर्खरै सम्पन्न भएको स्थानीय तहको चुनावमा कांग्रेस पार्टीका उम्मेदवारलाई नगरप्रमुख बनाउनु भयो, तर विकास हुँदैन कि भनेर न आत्तिनुस् । म यहाँका नगरप्रमुखलाई पनि सँगसँगै विकासका गतिविधिमा अग्रसर गराउँछु’ ओलीले  स्थानीयबासीलाई आश्वस्त पारे । 

समग्र झापाका गाउँसम्मै बाटो निर्माणका कामहरु करिब करिब सकिएको सुनाउँदै ओलीले केही बाँकी रहेका बाटाहरु पनि आसन्न निर्वाचन पछि बनाउने र तिनको स्तरोन्नति गरिने बताए । 

तटबन्धन निर्माणका लागि बजेट छुट्टिई सकेको र नपुगे फेरि थपेर भए पनि रतुवा खोला नियन्त्रणका लागि तटबन्धन निर्माण गरिने बालुबथानका बासिन्दासँग प्रतिवद्धता जनाए ।

प्रतिकृया दिनुहोस