संयुक्त गठबन्धनको प्रचार अभियान तीब्र बन्दै


साझामञ्च, प्रकाशित मिति : २०७४ ,कार्तिक , २७ 15:12:08

30093-20171113151208.jpg

बिर्तामोड । प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनका लागि झापा क्षेत्र नं. २ मा वाम देशभक्त तथा राष्ट्रवादी गठबन्धनका उम्मेदवारलाई जिताउन घरदैलो तथा प्रचार अभियानले तीब्रता पाएको छ । 

गाउँपालिका तथा नगरपालिकाका वडास्तरमा ने निर्वाचन परिचालन तथा प्रचार प्रसार समिति गठन गरेर टोलटोलमा मतदाता भेट्ने कार्यले निरन्तरता पाएको छ । 

सोक्रममा अर्जुनधारा– ४ मा एकदेव खनालको संयोजकत्वमा ३०१ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ । गठित समितिको सहसंयोजक विदुर भट्टराई रहेका छन् ।

वडा नं. ४ लाई ६ वटा ब्लकमा विभाजन गरेर प्रचारप्रसारको कार्यलाई तीब्रता दिइएको संयोजक खनालले बताए । 

अर्जुनधारा– ७ मा पनि संयुक्त प्रचार प्रसार वडा कार्यालयको प्रदेशसभा सदस्य क्षेत्र नं. २ (ख) का उम्मेदवार बिर्ख प्रधानले उद्घाटन गरेका छन् । नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष रमा भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय वैकल्पिक सदस्य भाष्कर काफ्ले, माओवादी केन्द्रका प्रदेश समानुपातिक उम्मेदवार खड्क कन्दङ्गवा, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य तारा सुवेदी, राप्रपाका स्थानीय नेता तारानिधि भट्टराईलगायतले कार्यालय उद्घाटनमा मन्तव्य राखेका थिए ।

त्यसैगरी, वामपन्थी, देशभक्त र रास्ट्रवादीहरुको जन संगठनहरुको संयुक्त भेला झापा क्षेत्र नं. ३ भद्रपुरमा सम्पन्न भएको छ । 

प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र लिङ्देन, प्रदेशसभा सदस्य ३ (१) का उम्मेदवार बसन्त बानियाँ, प्रदेशसभा ३ (२) का उम्मेदवार पूर्णसिंह राजवंशीले आफ्ना चुनावी प्रतिवद्धता व्यक्त गरेका थिए । 

कार्यक्रममा स्वागत रञ्जु प्याकुरेल तथा औचित्य माथि प्रकाश राम दवाडीले गरेका थिए । कार्यक्रमले निर्वाचन प्रचार प्रसारको लागि विभिन्न समिति गठन गरेको छ ।

प्रतिकृया दिनुहोस