बेसहारालाई सडक विस्तारा र ढुंगा शिरानी


प्रकाशित मिति : २०७४ ,कार्तिक , २७ 11:35:50

30088-20171113113550.jpg

झापा । चार वर्षअघि उर्लाबारीमा हत्या गरी ट्यांकीमा फ्याँकिएको एक बालक फेला पर्‍यो। प्रहरीले अनुसन्धान गर्दा बालक हत्यामा सडक जीवन व्यतित गर्दै हिड्ने ‘काली’नाम गरेकी बालिका र अर्का एक जना व्यक्ति दोषि देखिए।

तीन महिनाअघि उर्लाबारीमा सडक जीवन व्यतित गरिरहेकी एक महिलालाई यहाँका सडक बालकहरुले सामूहिक रुपमा बलात्कार गरे। घटना त्यतिकै सेलायो। बलात्कृत ती महिलाको अत्तोपत्तो छैन। उर्लाबारीका सडक बालकहरुले सामूहिक रुपमा ती महिलालाई उर्लाबारीको मुख्य चोकमा बलात्कार गरेको स्वीकारे।

उर्लाबारीमा सडक बालबालिको अपराधकर्मको फेरिस्त योभन्दा लामो छ । यी घटना प्रतिनिधिमूलक मात्र हुन् । उर्लाबारीको पूर्व बसस्टेण्डमा १७ जना सडक बालबालिकाहरु छन् । जसले तातो सडकलाई आफ्नो न्यानो विस्तारा, ढुंगालाई कडा शिरानी अनि खुल्ला आकाशलाई आफ्नो घर र शिरक बनाएका छन् ।

परिवारको वेवास्ता र सामाजिक अपहेलनाका लगायतका कारणले गर्दा आज बालबालिकाहरु सडकमा कष्टपूर्ण जीवन व्यतित गरिरहेका छन्। कुकुरले महलमा बिलासी जीवन बिताइरहेका छन् तर मानिस भने सडकमा बेसहारा हुनु परेको पिडादायी अवस्था यी सडक बालकहरुको छ ।

सडकमा बस्दा स्वतन्त्र हुने उनीहरूको अनुभव छ । यति मात्र होईन डेन्ड्राइट, चुरोट गाँजा जस्ता लागूपदार्थ सेवन उनीहरूको दिनचर्या नै बन्ने गरेको छ । यौनजन्य क्रियाकलापमा समेत उनीहरु फसेका छन्। यस्ता कुलतमा रहेका बालबालिकाहरुको संख्या उर्लाबारीमा मात्र होईन झापाको काकडभिट्टादेखि धरानसम्मकै बजार र बस स्टेन्डमा उल्लेख्य छ।

शनिबार ह्यमनेटी नाम एउटा गैह्रसरकारी संस्थाले पूर्वीद्धार काकडभिट्टादेखि धरानसम्मका चोक बजारमा साहारा विहिन सडक वाललालिकाको अवस्था बुझ्यो। काकडभिट्टा विर्तामोडमा सडक बालबालिको संख्या शनिबार २४ मात्र भेटियो तर मोरङ र सुनसरीमा भने ५८ जना भेटिए। काकडभिट्टामा ११, विर्तामोडमा ७, र दमकमा ६ जना सडकवालवालिका भेटिए। यस्तै उर्लावारीमा ७, विराटचौकमा १३, गछियामा ३ जना भेटिए।  ईटहरीमा १४ र धरानमा २१ जना भेटिए।

सडकमा भेटिएका यस्ता वालबालिकाको ईच्छा राम्रो लुगा लगाउने अनि मिठो खाने र ठूलो भएपछि ठूलो मान्छे बन्ने रहर छ । उनीहरुको त्यो रहर रहरमै सिमित छ ।

उर्लाबारीका प्रविन दर्जी बिहान पारिलो घाममा पूर्व बसस्टेन्ड छेउको फोहोरको डँगुरमा सुतिरहेका थिए। ह्मनेटी नामक गैह्र सरकारी संस्थाका प्रेसीडेन्ट सन्तोष थोप्राले उनलाई बोलाउने प्रयास गरे । तर, उनले सुनेनन्। थोप्रालाई लाग्थ्यो उनलाई निद्राले सताएको छ। उर्लाबारीका सडक वालवालिकाको विटमा काम गर्ने पत्रकार गोविन्द पोख्रेल पनि त्यही थिए। उनले भने, ‘यो बालकले डेन्ड्राईड लिएको छ।’ थोप्राले पुनः बोलाए। जसोतसो दर्जी उठ्ने प्रयास गरे तर सकेनन्।

थोप्राले सडक बालबालिकाका लागि खाने कुरा, जाडोमा न्यानो लुगा लिएर गएका थिए। ईटहरीको गोर्खा डिर्पाटमेन्ट अघिको धरान रोडमा अर्को एउटा वालक सडक छेउमा सुतिरहेको देखे। वरीपरि झिँगाले उनलाई घेरेको थियो । शरीरमा लगाएका एक सरा लुगा पनि गन्हाउने थिए। थोप्राले उनलाई पनि बोलाए। ती बालक झापा सुरूङ्गाका रहेछन्। उनले आफ्नो घर सुरूङा रहेको बताए।

लक्ष्मण मगर नाम गरेका ती बालकको बुवा आमाले पुर्नविवाह गरेर आफू एक्लो भएको बताए। ‘आफन्त कोई छैन,’ उनले भने, ‘३ वर्ष जति भयो सडकमै वास र अहिलेसम्म सास छ।’ ३ दिनदेखि केहि खान नपाएका ती बालकलाई थोप्राले चाउचाउ किनीदिए र खान दिए।

धरानको भानुचोकमा सडकबालबालिकाको अर्को ठूलो समूह रहेछ। अधीकांश बाबुआमाले अर्को विवाह गरे पछि आफूहरू यहाँ आएको बताए। केहिले मरेको र केहिले पविारको अपहेलनाको कारण देखाउँदै सडकमा जिउन आएको बताए।

थोप्राले धरानका २१ वेसहारा सडक वालवालिकालाई जाडोको न्यानो लुगा दिए।

सडक वालबालिकाका कारण प्रशासनलाई पनि ठूलो चुनौति छ । कतिपय ठाउँका चोरिका घटनामा सडक बालबालिका संलग्न रहेको प्रहरीले पाएको छ। यति मात्र होईन उनीहरू भारतका सीमावर्ति बजारमा गएर लागूऔषध खरिद गरेर नेपाली बजारमा भित्र्याउने गरेका छन्।

लागूऔषधका प्रयोगकर्ताले तिनै सडक बालबालिकालाई प्रयोग गर्ने गरेको ईलाका प्रहरी कार्यालय ईटहरीका प्रहरी नायव उपरीक्षक संजय श्रेष्ठले बताए। ‘आश्रय सडकका पेटी र बस सिसौनी भएकैले कुनै कारबाही गर्न सकेका छैनौ।’

सडक बालबालिकाको अवस्था भयावह छ। उनीहरूलाई पुनर्स्थापना गर्ने ठाँउ छैन। सरकारले पनि उनीहरूको समस्या बुझ्ने र समाधान गर्ने तर्फ कुनै ठोस कार्यक्रम ल्याएको छैन। ह्मुनेटी जस्ता गैह्र सरकारी संस्थाले सडक वालबालिकाको पुर्नस्थापनाका लागि प्रयास त नगरेका होईनन्। तर, दिनहुँ सडकबालबालिकाको संख्या वढ्दै गएकाले उनीहरूमा पनि समस्या देखा पर्न थालेको छ। सेतोपाटीबाट

प्रतिकृया दिनुहोस