झापाको क्षेत्र नं. १ का गाउँगाउँमा वाम गठबन्धन


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,कार्तिक , २६ 05:58:09

30073-20171112055809.jpg

धुलाबारी । मेचीनगर—९ मागुरमाडीका स्थानीयले झापा क्षेत्र नम्बर १ का वाम गठबन्धनतर्फबाट प्रतिनिधिसभाका उम्मेदवार राम कार्कीलाई भव्य स्वागत गरेका छन् ।

शनिबार किरातेश्वर माङ्हिम मेचीनगर—९ ले आयोजना गरेको महागुरु फाल्गुनन्दको १३३औं जन्मजयन्ती कार्यक्रममा उनलाई स्वागत गरिएको हो । 

लामो समय सोही ठाउँमा बसेर राजनीति गरेका वाम एकताका सूत्रधार कार्कीलाई स्थानीयले घर आँगनमा स्वागत गरेका हुन् । 

स्थानीय चिरञ्जीवि भट्टराईले राष्ट्रियस्तरका नेता भए पनि कार्की यही ठाउँका बासिन्दा भएको बताए । कार्की जनयुद्धताका साविक मागुरमाडी— ४ मा लामो समय बसेका थिए । उनले सोही ठाउँबाट दुलहीसमेत भित्र्याएका थिए । 

स्थानीय विष्णु राईको घरमा दुलही भित्र्याएर कार्कीले त्यहाँका बासिन्दासँग दुखसुख साटेको स्वयम् राई बताउँछन् । राई भन्छन्– उहाँ (राम कार्की) लामो समय हामीसँगै रहनुभयो, आज यही ठाउँमा उम्मेदवार बनेर  आउनुभएको छ, उहाँलाई स्वागत गर्न पाउँदा हामीले गौरव महसुस गरेका छौँ । 

कार्कीले मन्तव्यका क्रममा आफ्नो साइनो मागुरमाडीसँग रहेको बताएका थिए । उनले भने— ‘मेरो घर यही हो, म यहाँको स्थायी बासिन्दा हँ ।’ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेपछि कार्कीलाई विपक्षी दलले ‘टुरिस्ट नेता’को आरोप लगाउँदै आएको छ । त्यसलाई चिर्न उनी सोही ठाउँमा पुगेर त्यहाँका ज्येष्ठ नागरिकबाट आशीर्वाद लिएका छन् । त्यसक्रममा स्थानीयले विगतमा कार्कीले गरेको सहयोग र सर्वहारा वर्गको मुक्तिका लागि गरेको आन्दोलनको खुलेरै प्रशंसा गरेका थिए ।

उनले कार्यक्रममा किरात धर्मका बारेमा चर्चा समेत गरे । उनले भने —‘किरात समुदाय प्रकृति पुजक हो, त्यसैले किरात संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्नु हामी सबैको दायित्व हो ।’ 

उनी सो कार्यक्रमपछि आफू बसेको पुरानो घर, विष्णु राईलगायतको घर पुगेका थिए । विगत सम्झिँदै कार्कीले भने— ‘यो क्षेत्र विकासका दृष्टिकोणले पछि परेको छ, म चुनाव जितेपछि यो ठाउँसँगै क्षेत्र नम्बर १ लाई विकासको मूल नीतिमा पार्नेछु ।’ 

उनले क्षेत्र नम्बर १ मा देखिएका समस्यालाई पहिचान गरी सन्तुलित ढङ्गबाट विकास गर्न पछि नपर्ने स्थानीयलाई बचन दिएका छन् । 

चुनाव प्रचार अभियानमा जुटेको वाम गठबन्धनका उम्मेदवारहरुले शनिबार मेचीनगरका विभिन्न टोल तथा वडाहरुका मतदातासँग भेटघाट गरेका छन् । मेचीनगर—१० को दनुवारबस्ती, धुलाबारीको भिडियो हल छेउ, लालपानीको काठे पूललगायतका स्थानमा उम्मेदवार तथा तीन दलीय प्रचार अभियन्ताहरुले घरदैलो तथा कोणसभा आयोजना गरेका हुन् ।

कोणसभालाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम कार्की, प्रदेशसभा सदस्य क्षेत्र नं. १ (क) का उम्मेदवार श्रीप्रसाद मैनाली र १ (ख) का उम्मेदवार गोपाल बुढाथोकीले सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा उनीहरुले कांग्रेसले ठगठागको राजनीति गरिरहेकाले सचेत रहन मतदातालाई आग्रह गरे । मुलुकको समृद्धिका लागि वाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन उनीहरुले मतदातालाई आग्रह गरे । 
 

प्रतिकृया दिनुहोस