सदस्य सेवामा केन्द्रित सहाराको अब्बल अभियान 


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,कार्तिक , २६ 04:22:02

30068-20171112042202.jpg

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २०८० सालसम्म आफ्ना सदस्यका लागि सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क गर्ने योजना सुनाएको छ ।

सदस्य सेवा प्रवाहका लागि पनि अग्रणी सो संस्थाले सदस्यको आर्थिक कारोबारको संलग्नताका आधारमा सुविधाहरु प्रवाह गर्ने जनाइएको छ ।

शेयर सदस्यका आधारमा नेपालकै सबैभन्दा ठूलो तथा आर्थिक कारोबारका आधारमा प्रदेश नं. १ को अग्रणी उक्त संस्थाले सो अवधिमा आफ्ना शेयर सदस्य संख्या पाँच लाख एवम् शेयर पूँजी एक अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ ।

शनिबार आयोजित संस्थाको २१औं वार्षिक साधारणसभामा कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले आफ्नै सहारा हुँदाहुँदै सदस्यहरुले बैंकमा खाता खोलेर कारोबार गर्नु नपर्ने भन्दै सदस्य सुविधा तथा लाभांशसहितको उच्च प्रतिफल लिन शेयर सदस्यहरुलाई उत्प्रेरित गरे ।

पूर्व सांसद केदारप्रसाद सञ्जेलको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलले ५ अर्ब २८ करोड ४२ लाख ५१ हजार रुपैयाँको वासलात रहेको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

३२ वटा विभिन्न प्रकृतिका बचत खाताहरु सञ्चालनमा रहेको संस्थाले २ अर्ब ६२ करोड ४५ लाख १७ हजार रुपैयाँको बचत कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै ऋण लगानी ४ अर्ब ५३ करोड ९० लाख ५९ हजार एवम् कोष २७ करोड १७ लाख २९ हजार भई करिब २९ करोड खुद मुनाफा गर्न सफल भएको जनाइएको छ ।

संस्थाले विगतदेखि नै सञ्चालनमा रहेका कार्यक्रमहरुलाई निरन्तरता दिँदै यो वर्षदेखि संजीवनी कार्यक्रम, सदस्य संरक्षण कार्यक्रम, आश्रय कार्यक्रम, एक सेवा केन्द्र एक उद्यम, समृद्धिको यात्रा, साइनो हाम्रो सहाराको, मेरो गाउँ मेरो लगानी र अवसर कार्यक्रम थप गर्ने निर्णय गरेको छ ।

साधारणसभाको अवसरमा संस्थाले स्थापना गरेको ५१ हजार रुपैयाँ पुरस्कार राशिको मोहम्मद युनुष सहारा पुरस्कार यो वर्ष मोरङ जिल्लाको पथरी शनिश्चरे वडा नं. ८ की ४३ वर्षीया बिमला भण्डारीलाई प्रदान गरिएको छ ।

प्रतिकृया दिनुहोस