झापा क्षेत्र नं. ४ का उम्मेदवार–पत्रकार अन्तरक्रिया


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,कार्तिक , २५ 20:37:15

30064-20171111203715.jpg

सुरुङ्गा । कनकाई सुरुङ्गा प्रेस क्लबले आज सुरुङ्गामा झापा क्षेत्र नं. ४ का उम्मेदवारहरु र पत्रकारकाबीच अन्तरक्रिया गराएको छ ।

अन्तरक्रिया उम्मेदवारहरुको राजनीतिक पृष्ठभूमि, उम्मेदवारीको औचित्य र चुनावी एजेण्डाका सम्बन्धमा केन्द्रित भएको थियो । 

कार्यक्रममा सहभागी उम्मेदवारहरुले एक हदसम्म राजनीतिक अधिकारको लडाईं सकिएको र अब समृद्धिको बाटोमा मुलुकलाई लैजानुपर्नेमा जोड दिए । 

केन्द्रीकृत, सामन्तवादी राज्यव्यवस्थाका ठाउँमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था निर्माण भएकाले मुलुकमा भएको रुपान्तरणलाई संस्थागत गर्नुपर्नेमा उनीहरुको जोड थियो ।

क्लबका अध्यक्ष रामप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्र नं. ४ का वामपन्थी–राप्रपा गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार एलपी साँवा, प्रदेशसभा उम्मेदवारहरु झलकसिंह दर्लामी र हिरा थापा,   नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार देउमान थेबे, प्रदेशसभा उम्मेदवारहरु उत्तम सुबेदी र किरण भट्टराईले आफ्ना एजेण्डा सुनाएका थिए ।

कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका अर्जुनदेव शेर्मा, विवेकशील–साझा पार्टीका तुलसीराज उप्रेती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ज्ञानबहादुर लिम्बू, मंगोल नेशनल अर्गनाइजेशनका रूद्र थुलुङ राई, देशभक्त गणतान्त्रिक मोर्चाका हरिभक्त संग्रौला,  एकीकृत राप्रपा राष्ट्रवादीका तेजबहादुर थापा, संघीय लिम्बूवान राष्ट्रिय मञ्चका भक्तबहादुर मेन्याङ्बोलगायतले आफ्ना चुनावी एजेण्डा प्रस्तुत गरे । 

अन्तरक्रियामा नेपाल पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराई, संचारकर्मीहरु राजेन्द्र गौतम, प्रदीप परियारलगायतले जिज्ञासा राखेका थिए । 

कार्यक्रमको सञ्चालन क्लबका उपाध्यक्ष मनोज बस्नेतले गरेका थिए भने आमन्त्रित पाहुनाहरुलाई लीलाराज झापालीको स्वागत गरेका थिए । 

प्रतिकृया दिनुहोस