सताक्षी गोल्डकपमा भारतको एक सहित १० टिमको रोचक प्रतिश्पर्धा हुने


साझामञ्च, प्रकाशित मिति : २०७४ ,कार्तिक , २४ 10:31:54

गोल्डकपको सम्पूर्ण तयारी पुरा

30033-20171110114819.jpg

दूधे । शिवसताक्षीको झिलझिलेमा हुन गइरहेको दोस्रो सताक्षी गोल्डकपमा भारतको एक सहित १० वटा ए डिभिजका टिमहरु सहभागी हुने भएको छ ।

कार्तिक २८ गतेदेखि मंसिर ७ गतेसम्म हुने खेलमा १० टिम बीच रोचक प्रतिश्पर्धा हुने आयोजक सतासीधाम स्पोर्टिङ क्लवले जनाएको छ ।

झिलझिलेको गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने खेलको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष रमेश लावतीले बताए । खेलकालागि आकर्षक स्टेज, प्रवेशद्वार र करिव सात हजार दर्शक अट्न सक्ने प्याराफिट बनाइएको छ । गतवर्ष भएको पहिलो संस्करणको खेलमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो । क्लवका उपाध्यक्ष फूर्वा तामाङ्गले अघिल्लो वर्षको सहभागितालाई हेरेर प्याराफिट बनाइएको बताए ।

गत वर्ष २५ हजार दर्शकले सो प्रतियोगितामा सहभागिता जनाएका थिए भने यसवर्ष ४० हजार देखि ५० हजारको हारहारीमा दर्शकको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगितामा झापा ११, सशस्त्र प्रहरी, मनाङ मस्र्याङदी, नेपाल आर्मी, मोरङ ११, चर्च व्वाइज, रुपन्देही ११, मध्य प्रदेश भारतको डायमण्ड अफ फूटवल एकाडेमी, पोखरा ११ र आयोजक सतासीधाम स्पोर्टिङ क्लव गरी १० वटा टिमले सहभागिता रहने छ ।

प्रतियोगितामा यस पटक नेपाल पुलिस क्लव र थ्री स्टारको सहभागिता नजनाउने भएको छ । एन्फाले कात्तिक २८ देखि प्रतियोगिता सञ्चालन गर्न सतासीधाम स्पोर्टिङ क्लवलाई अनुमति दिएको थियो । सोही मितिमा चन्द्रागिरी गोल्डकपको कार्यतालिका जुधेकाले पुलिस र थ्रीस्टार सहभागी नहुने भएका हुन् । प्रतियोगिताको बिजेता टीमले ५ लाख, उप विजेता टीमले २ लाख पचास हजार र खेलको म्यान अफ दी सिरिजले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

हाइ स्कोरले २५ हजार, उत्कृष्ट मिड फिल्डरले २० हजार, उत्कृष्ट फरवार्डले २० हजार र म्यान अफ द म्याचले १० हजार पुरस्कार पाउनेछन् । प्रतियोगिता सञ्चालनका लागि शिव सताक्षी नगरपालिकाले पाँच लाख र विर्तामोडको बीएण्डसी टिचिङ हस्पिटलले पनि ५० हजार रुपैयाँ दिने भएको बताइएको छ । आयोजकले प्रतियोगिता सञ्चालनबाट ३१ लाख ५० हजार रुपैयाँ बचत गर्ने लक्ष्य राखेको छ । बचत रकमबाट कोषमा १० लाख रुपैयाँ राखेर बाँकी रकम खेलकुद एकाडेमी सञ्चालनका लागि खर्च गरिने क्लवका आर्थिक समिति संयोजक गणेश प्रधानले बताए ।

यस वर्ष ८१ लाख रुपैयाँको लागतमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । ४९ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । गतवर्ष भएको पहिलो संस्करणको खेलमा २१ लाख ४२ हजार रुपैयाँ बचत भएको थियो ।

प्रतिकृया दिनुहोस